४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

डिसेम्बर २१ मा प्रथम ध्यान दिवस मनाइँदै

आगामी शनिबार अर्थात् २१ डिसेम्बरमा प्रथम ध्यान दिवस मनाइँदै छ। उक्त दिवस विश्वभर मनाउन लागिएको हो। गत डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।

सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा ध्यान दिवसको नेतृत्व गर्दैछन्। उक्त ध्यान दिवसमा रवि शंकरले तनाव व्यवस्थापन र द्वन्द्व समाधानका लागि ध्यान मुख्य खम्बाका रूपमा प्रस्तुत गर्नेछन्। कार्यक्रममा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू, संयुक्त राष्ट्रसंघका नेतृत्वहरू, कूतनीतिक, अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन्।

२१ डिसेम्बरमा विश्व ध्यान दिवस गुरुदेव रवि शंकरसँगै मनाउने कार्यक्रम रहेको काठमाडौंस्थित आर्ट अफ लिभिङ शाखाले जनाएको छ। सो दिन विश्वभर छरिएर रहेका यसका अनुयायी तथा सर्वसाधारणलाई ध्यान शिविरमा सहभागी हुन आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वरकुमार सिंहले अपिल गरे। ध्यान दिवसमा गुरु शंकर लाइभ कार्यक्रममार्फत विश्वभर जोडिने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघले पूर्वीय सभ्यतामा शान्ति र आरोग्यका रूपमा अभ्यास हुँदै आएको ध्यान विधिको पहिचान गर्नु आफैंमा गौरवको विषय रहेको र यसले विश्व ध्यान दिवसकै रूप लिनुले खुसीयाली छाएको आर्ट अफ लिभिङका सहसचिव प्रभुराज वैद्यले बताए। ‘पूर्वीय सभ्यतामा युगौंदेखि ध्यान अभ्यास थियो, त्यो अब विश्वभर फैलिने कुराले हर्षित छौं,’ उनले भने। यो ऐतिहासिक दिनलाई नेपालभर मनाउन उनले सबैसँग आग्रह गरेका छन्। विश्व स्वास्थ्य संगठनले केही वर्षमै मानसिक समस्याले प्रकोपको रूप लिने प्रक्षेपण गरिसकेको सन्दर्भमा ध्यानबाट मानसिक लाभ मिल्ने ठहरसहित संयुक्त राष्ट्रसंघले विश्व ध्यान दिवस घोषणा गरेको जनाइएको छ।

गुरुहरूका अनुसार मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ। प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले सर्वसाधारणमै शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यान पुर्‍याउँदै आएका छन्।

प्रकाशित: ४ पुस २०८१ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App