वैदेशिक रोजगार विभागको काममा अब यी तीन पक्ष हुने छैनन्– अनुहार, कागज र नगद। अर्थात्, विभागले आफूलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ बनाउँदैछ। वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई सुविधा दिन विभागले आफूलाई सुधार गर्न थालेको हो। ‘अब वैदेशिक रोजगारीको समस्या लिएर विभाग धाइरहनुपर्दैन,’ सूचना अधिकारी गुरुदत्त सुवेदीले नागरिकसँग भने, ‘केही महिनामै जाहेरी दरखास्तबाहेक अन्य सबै काम अनलाइनमार्फत हुनेछ।’
सुवेदीका अनुसार अबका ६ महिनामा सेवाग्राहीलाई सबै सेवा अनलाइनमार्फत दिइनेछ। ‘केही समयपछि विभागमा सेवाग्राहीलाई देख्न मुस्किल हुनेछ,’ उनले भने, ‘अब विभाग क्यासलेस, पेपरलेस र फेसलेस हुन लागेको छ। जाहेरी दरखास्तबाहेक कोही पनि नागरिक समस्या लिएर विभाग धाउनुपर्दैन।’ जसका लागि विभागमा सबै योजना तयारी भएसँगै अनलाइन प्रणालीमा मात्रै लान बाँकी रहेको सुवेदीले बताए। उनका अनुसार विभागमा धाउने नागरिकलाई सरल र सहज बनाउन विभागले यो नीति अघि सारेको हो। बिदेसिएका नेपाली कामदार वा बिदेसिँदै गरेका श्रमिकको हितका लागि विभागको सबै कार्य अनलाइनमार्फत गराउने दीर्घकालीन योजना छ। साथै अनलाइनमार्फत सेवाग्राहीलाई सेवा दिन सके धेरै सजिलो हुने उनले बताए।
सुवेदीका अनुसार श्रमिकले टाढाबाट समस्या लिएर विभाग धाउनुपर्नेछैन। घरमै बसेर तिनले आफ्ना समस्या अनलाइनमार्फत समाधान गर्न सक्छन्। ‘प्रायः सबै काम अब कागजविहीन बनाउने विभागको उद्देश्य हो,’ सुवेदीले भने, ‘वैदेशिक रोजगार विभागमा भएका अनावश्यक कागजी कामको प्रक्रियाहरूलाई हटाउने र सबै प्रविधिको प्रयोग पूर्ण रूपमा अनलाइन सेवामार्फत गर्ने हाम्रो तत्कालको तयारी हो।’
पीडितका उजुरी, निवेदन, ठाउँसारी, नामसारी, नयाँ इजाजतपत्र दर्ता, खारेजी, शाखा खोल्ने, संशोधन र भाषा परीक्षणलगायत काम अनलाइनबाट हुनेछ। हरेक दिन पीडितहरूको विभागमा लाग्ने लाम पनि अहिले केही मात्रामा कम भएको विभागले जनाएको छ। ‘विभागमा बिहानदेखि बेलुकासम्म धेरै चाप हुन्थ्यो,’ उनले भने, ‘त्यो अहिले अलि कम भएको छ। अब केही समयपछि विभागमा सेवाग्राही भेट्न पनि मुस्किलै हुन्छ। जबदेखि अनलाइनबाटै सबै समस्याको समाधान गराइन्छ।’
अहिलेको व्यवस्थाअनुसार नेपाली कामदारले काममा जानुअघि श्रम स्वीकृति लिनुपर्ने हुन्छ। जसका लागि वैदेशिक रोजगार कार्यालयमार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देश जान लागेका नेपाली कामदारले श्रम स्वीकृति लिने गरेका छन्। नेपालले श्रम स्वीकृति नदिएसम्म कामदारहरू वैधानिक रूपमा कामका लागि विदेश जान पाउँदैनन्।
विभागमा अहिले पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति लिने प्रक्रिया अनलाइन प्रणालीमार्फत नै भइरहेको छ। त्यति मात्रै नभएर अनलाइनमार्फत श्रम स्वीकृतिसँगै मेडिकल हाजिरी, बायोमेट्रिक, माग प्रमाणीकरण, पूर्व र अन्तिम स्वीकृत पनि अनलाइनबाटै भइरहेको सुवेदीले बताए। वैदेशिक रोजगारीलाई सरलीकरणसँगै व्यवस्थित गर्ने उद्देश्यले सेवाग्राहीका निम्ति विभिन्न योजना अघि सारेको विभागले जनाएको छ। ‘हामीले नेपाली कामदारको हरेक काम अनलाइन माध्यमबाट गराएर एकदम छिटोछरितो विदेश पठाउन र विदेश जानुपूर्व गर्नुपर्ने पूर्वतयारी अनलाइनमार्फत गराउन सकियो भने धेरै राम्रो हुन्थ्यो। अहिले हामी त्यसैमा लागिपरिरहेका छौं,’ उनले भने।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा तीन हजार दुई सय ६० वटा उजुरी परेका छन्। जसमा एक हजार आठ सय ९९ वटा मुद्दा फछ्र्योट भएका छन् भने एक हजार तीन सय ६१ वटा बाँकी छन्। साथै विभागमा उजुरी दिएका पीडितलाई १५ करोडभन्दा बढीको क्षतिपूर्ति दिलाएको विभागको तथ्यांक छ।
प्रकाशित: ३ पुस २०८१ ०८:१६ बुधबार