१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

पाथीभरालाई विश्व सम्पदा सूचीमा समेट्न प्रक्रिया अघि बढाइने

पूर्वी नेपालको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल सुरु भएको छ। पाथीभरा क्षेत्र विकास समितिको बैठकले यो ऐतिहासिक तथा सांस्कृतिक महत्वको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

समितिका अध्यक्ष रक्की थेबेले पाथीभरा क्षेत्रको विशिष्ट सांस्कृतिक, ऐतिहासिक, धार्मिक र प्राकृतिक विशेषता विश्व सम्पदा सूचीमा सूचीकृत हुन पर्याप्त रहेको जनाउँदै प्रक्रिया अघि बढाइने जानकारी दिए। समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले युनेस्कोको मापदण्ड अनुसार प्रक्रिया थाल्ने सहमति भएको बताए।

जानकारका अनुसार विश्व सम्पदा सूचीमा अटाउन कुनै क्षेत्र अनुपम, अद्वितीय तथा मानव र प्रकृतिले सिर्जेका संरचनाहरूले भरिपूर्ण हुनुपर्छ। सांस्कृतिक सम्पदाको हकमा निर्माणको कालखण्ड, भाषा, संस्कृति र सभ्यताको झल्को मुख्य आधार मानिन्छ। मानव सभ्यताको इतिहास उजागर गर्ने मौलिक संरचना सूचीकरणको आधार बन्ने गरेको छ।

युनेस्कोले क्षेत्रलाई सांस्कृतिक र प्राकृतिक आधारको मूल्यांकन गरी चार वर्षसम्मको प्रक्रिया पश्चात मात्रै सूचीकृत गर्ने निर्णय गर्छ।

समितिले पाथीभरा क्षेत्रका लागि नयाँ गुरुयोजना तयार गर्ने घोषणा गरेको छ। यसअघि बनेका गुरुयोजनाहरूको समीक्षा गरी पुरातत्वविद् र प्राविधिकहरूको सुझावमा नयाँ प्रारूप बनाइनेछ। साथै, मन्दिर व्यवस्थापन, नित्य पूजा सञ्चालन, सरसफाई कर्मचारी व्यवस्थापन र पूजा सामग्री व्यवस्थापनका लागि बृहत्त अक्षयकोष स्थापना गर्ने कार्ययोजना पनि अघि सारिएको छ।

फुङलिङ नगरपालिकाका प्रमुख तथा क्षेत्र विकास समितिका सदस्य अमिर मादेनले पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल सकारात्मक रहेको बताए। धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्त्वको क्षेत्र भएकाले पाथीभरा सूचीकरणका लागि योग्य रहेकोमा उनी आशावादी छन्।

पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गराउन लामो र जटिल प्रक्रिया आवश्यक पर्ने भए पनि समितिले यसलाई सफल बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: १ पुस २०८१ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App