१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

‘विकसित होइन, अविकसित ठाउँमा जन्मनेको आयु लामो’

कस्ता ठाउँका मानिसहरू बढी लामो उमेर बाँच्छन् ? पक्कै पनि जुन ठाउँमा स्वास्थ्य, शिक्षा र अन्य सुविधा हुन्छन्। शिक्षाले मानिसलाई कसरी बाँच्ने भनी सिकाउँछ र बिरामी परेका बेला स्वास्थ्यको पहुँच राम्रो भएको अवस्थामा मानिस लामो जीवन जिउन सक्छ। लामो जीवनको रहस्य सम्भवतः यही हुनुपर्छ। तर अध्येताहरू भन्छन्– लामो जीवनको रहस्य अरू केही होइन, ज्यादै अविकसित क्षेत्रमा जानोस्, तपाईं लामो समयसम्म बाँच्नुहुन्छ।

युनिभर्सिटी कलेज लन्डनका शोधकर्ता सल जस्टिनका अनुसार लामो आयुबारे जति समाचार आइरहेका छन्, ती सबै भ्रम हुन्। खासमा तथ्यांकको गडबडीका कारण मानिसहरू बढी बाँचिरहेको देखिएको हो। लामो उमेर हरकोही बाँच्न चाहन्छन्। यही सपनालाई केही कम्पनीले भजाइरहेका छन्। यसले नयाँ उद्योगको रूप लिन थालेको छ।

यस्ता उद्योगबाट लामो उमेरका लागि चाहिने भिटामिन, सप्लिमेन्ट, किताबहरू, प्रविधि र विभिन्न जानकारी बेच्न थालिएको छ। ती सबैको एउटै उद्देश्य छ, अहिले ११० वर्षभन्दा बढी उमेर बाँचिरहेका मानिसहरूको रहनसहन र जीवनशैली कस्तो छ, तिनले के खान्छन् र तिनको लामो आयुको रहस्य के हो भनी सिकाउनु। यो उद्योग अबका केही वर्षमा धराशयी हुने न्युम्यानको भनाइ छ। उनका अनुसार लामो समयसम्म मानिस बाँचिरहेको कथाको पछाडि यसमा प्रयोग भइरहेको तथ्यांक नै हो। यो तथ्यांक गलत तरिकाले प्रयोग भइरहेको छ।

उनी भन्छन्, ‘हामीले जुन कुरालाई सत्य मानिरहेका छौं, त्यो वास्तवमा गलत सूचनाको थुप्रो मात्र हो।’

न्युम्यानले गरेको शोध अहिले पनि समीक्षाकै क्रममा छ। तर यसको प्रारम्भिक परिणामले भने सबैलाई चकित पारिदिएको छ। उनले गरेको शोधअनुसार अमेरिका, इटाली, बेलायत, फ्रान्स र जापानजस्ता देशमा एक सयदेखि एक सय १० वर्षसम्म बाँचिरहेका ‘शताब्दी मानव’ धेरै छन्, जहाँ स्वास्थ्य सुविधा खराब छ, गरिबीको स्तर निकै उच्च छ। साथै त्यहाँ रेकर्ड किपिङ (दस्ताबेजीकरण) निकै कमजोर छ।

एएफपीसँग न्युम्यान ठट्टा गर्दै भन्छन्, ‘लामो आयुको रहस्य एउटै मात्र छ, त्यो हो– तपाईं यति गरिब ठाउँमा जन्मनुहोस्, जहाँ जन्म प्रमाणपत्र फेला पार्नै नसकियोस् अनि आफ्ना सन्तानलाई जवान छँदै वृद्धभत्ता कसरी पाउन सकिन्छ भनी सिकाउनोस् र त्यसपछि झुटको चक्र चलाइरहनोस्।’

यसलाई राम्रोसँग प्रस्ट्याउन न्युम्यानले जापानको उदाहरण दिएका छन्। सोगेन काटोलाई कुनै समय जापानमा सबैभन्दा बढी आयुका व्यक्ति मानिन्थ्यो। सन् २०१० मा उनको घरमा सोगेनको शरीरलाई ममी बनाएर राखिएको थियो। पछि स्थानीय प्रशासनले अनुसन्धान थालेपछि उनको मृत्यु १९७८ मै मृत्यु भएको पाएका थिए। उनको परिवारले सोगेनको नाउँमा ३० वर्षदेखि पेन्सन पचाइरहेको पत्ता लगाइएको थियो।

यसपछिको अनुसन्धानमा के पाइयो भने सय वर्ष पूरा भएका ८२ प्रतिशत वृद्धवृद्धा अर्थात् करिब २ लाख ३० हजार शताब्दी मानव कि त गायब थिए कि त मृत पाइएका थिए। पछि स्थानीय सरकारले के स्वीकार गर्‍यो भने ती शताब्दी स्त्री पुरुषको कागजात असली थिए तर तिनको मृत्यु भने भइसकेको थियो। तिनका परिवारले उनीहरूको मृत्युको जानकारी नदिई लामो समयसम्म वृद्धभत्ता खाइरहेका थिए। त्यसैले धेरै मानिस ले शतायु पार गरेको कुरा शंका गर्नुपर्ने ठाउँ रहेको न्युम्यान बताउँछन्।

त्यसो त लामो आयु नबाँच्ने भन्ने पनि हुँदैन। केही मानिसले अविश्वसनीय तरिकाले लामो आयु लिएर आएका हुन्छन्। कुनै खास ठाउँमा लामो आयुका मानिसहरू नभेटिने होइनन्। वैज्ञानिकहरूले त्यस्तो ठाउँलाई ‘ब्लु जोन’ नामकरण गरेका छन्। ब्ल्यु जोनका मानिसहरूले लामो आयु कसरी पाउँछन् त ? यसमा पनि वैज्ञानिकहरूले चासोपूर्वक अध्ययन गरिरहेका छन्।

सन् २००४ मा ‘ब्लु जोन’ पत्ता लगाइएको थियो। इटालीको सार्डिनिया द्विपमा बसिरहेका सर्वसाधारणको तुलनात्मक रूपमा लामो आयु पाइएको थियो। सन् २००५ मा नेसनल जियोग्राफिकका रिपोर्टर डान बुएटनरले जापानको ओकिनावा र अमेरिकाको क्यालिफोर्नियास्थित लोमा लिन्डालाई ‘ब्ल्यु जोन’ घोषित गरे। चीनमा पनि त्यस्तै एउटा गाउँ छनोट गरिएको थियो।

डानलाई उनका सम्पादकले अमेरिका पनि ब्लु जोन खोज भनेर आदेश दिएकाले उनले लोमा लिन्डालाई सूचीमा समावेश गरेका थिए। यसपछि कोस्टारिकाको निकोया प्रायद्वीप र ग्रिसको इकारियालाई पनि सूचीमा जोडियो। तर पछि ती सबै ठाउँका तथ्यांकहरू जाँच हुन थालेपछि लामो आयुको फन्डा फुट्यो।

कोस्टारिकामा सन् २००८ मा भएको शोधबाट ४२ प्रतिशत शताब्दी मानवले आफ्नो उमेर लुकाएको वा झुटो बोलेको बताएका थिए। ग्रिसमा सन् २०१२ मा गएको एउटा अध्ययनमा त्यहाँका ७२ प्रतिशत ग्रिसेली शताब्दी पुरुष वा महिलाहरूको या त निधन भइसकेको थियो या ती सबै काल्पनिक व्यक्ति थिए। न्युम्यानले ठट्टा गर्दै भने, ‘तिनीहरू त पेन्सन लिने दिन मात्र ब्युँतनेहरू हुन्।’

ब्लु जोनबारे शोध गर्ने केही वैज्ञानिक भने न्युम्यानको भनाइलाई अतिशयोक्ति मान्छन्। न्युम्यानको काम ‘एकेडेमिक र नैतिक रूपले गैरजिम्मेवार’ रहेको केहीको टिप्पणी छ। न्युम्यानविरोधी वैज्ञानिकहरूले भनेका छन्, ‘शताब्दी पुरुषहरूको उमेर पत्ता लगाउन निकै मिहिनेत गरिएको थियो। तिनको ऐतिहासिक रेकर्ड र रजिस्टरहरूलाई निकै ध्यान दिएर सावधानीपूर्वक जाँचिएको थियो। यसलाई न्युम्यानले भनेजस्तो हाँसोमा उडाउने काम नठानौं न !’

यसमा पनि न्युम्यानले आफ्नो प्रस्टीकरण दिएका छन्। उनी भन्छन्, ‘तपाईंको सुरुआती जन्म प्रमाणपत्र नै गलत भयो भने त्यसपछिका सारा तथ्यांकहरू गलत हुनु अस्वाभाविक होइन। तिनै डाटाहरू हरेक ठाउँमा कपी गरिने हुनाले तथ्यांकगत रूपमा सही तर वास्तविकतामा गलत रेकर्ड दर्ता भएको हो।’ न्युम्यानले शतायुको समस्या समाधान गर्न मानिसहरूको उमेरलाई वैज्ञानिक रूपले मापन गर्नुपर्ने सुझाव दिएका छन्।

स्टिभ हार्वथ त्यस्तो उमेर मापन गर्ने शोधकर्ता हुन्। उनले ‘मेथिलेसन क्लाक’ बनाएका छन्। यसबाट डिएनए जाँची व्यक्तिको ठिक उमेर पत्ता लगाउन सकिन्छ। यसले गम्भीर किसिमको धोका भइरहेको आर्थिक घोटाला रोक्न सकिन्छ। त्यसो त यस्तो विधिले एक सय १५ र एक सय २० वर्षको उमेरबीचको अन्तर ठ्याक्कै पत्ता लगाउन सकिँदैन। यो कमजोरीका कारण स्टिभको आविष्कारले पनि सटीक काम गर्न सकिरहेको छैन।

स्टिभ हार्वथले आफ्नो विधिअनुसार एक सय २२ वर्षमा देहान्त भएकी जिन कोलमाको डिएनए नमुना जाँच्न पाऊँ भनी निवेदन दिएका छन्। जिन अहिलेसम्मकै सबैभन्दा बढी उमेर बाँच्ने महिला मानिन्छिन्।

मेथिलेसन क्लकलाई अझ बढी नमुना जाँच्न आवश्यक छ तर त्यतिन्जेल लामो आयु बाँच्न न्युम्यानको एउटा सरल सूत्र छः ‘तपाईं लामो जीवन बाँच्न चाहनुहुन्छ भने नयाँनयाँ कुरा केही पनि नकिन्नुहोस्। लामो आयु बढाउने औषधितिर ध्यान नदिनुहोस्। बरु यसको साटो चिकित्सकले सुझाउने शारीरिक कसरत गर्नुहोस्, रक्सी र चुरोटबाट टाढा रहनुहोस्। यति गरेपछि तपाईंको वृद्धावस्था गज्जबको हुन्छ।’

प्रकाशित: १ पुस २०८१ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App