किराँती समुदायको दोस्रो ठूलो चाड साकेला उँधौली ५०८४ (छिरीनाम) धूमधामसँग मनाइँदै छ। किरात राई यायोक्खा त्रियुगा नगर प्रारम्भिक समितिको आयोजनामा सदरमुकाम गाईघाटमा उँधौली मनाउन सुरु भएको हो।
शनिबार बिहान साकेलाथानस्थित किरात सांस्कृतिक परिसरमा भूमि पूजा तथा पितृ पूजा गरेर उधौलीको सुरुवात भएको हो। त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको उपस्थितिमा किराँती विजुवा (नछुङ) भरतशेर राईले शिकारीस्थानमा वाडिमा (अण्डा), वापा (रातो भाले) र वासिम आराखा (जाँड रक्सी) चढाउनका साथै सामूहिक मछामा खिम (पितृ घर)को तीन चुल्हामा रातो भालेको बली चढाएर उधौलीको विधिवत् सुरु गरेका छन्। नछुङले सुरु गरेपछि गाउँ गाउँमा उँधौली मनाउने बाटो सबैलाई खुलेको छ।
यो वर्षको उँधौली पनि पहिचानको आन्दोलनलाई नै मुखरित गर्दै मनाउने निर्णय भएको यायोक्खाले जनाएको छ। यायोक्खाले किरात पहिचानको आधारमा कोशी प्रदेशको नामकरण गर्नुपर्ने मुख्य माग अघि सारेको छ। माग पुरा नभएसम्म शान्तिपूर्ण आन्दोलन गरिरहने योजना अनुरुपम प्रदेश नामकरणलाई मूल मुद्दा बनाएर चाडपर्वहरू पनि मनाउँदै आन्दोलनलाई सहयोग गर्ने निर्णय यायोक्खाले गरेको जनाएको छ। किराँती समुदायका अगुवाहरूले महान् चाड पर्वहरू ‘साकेला उभौली (धिरीनाम) र उँधौली (छिरीनाम) ५०८१’ लाई पनि पहिचानको आन्दोलनकै रुपमा मनाएर आन्दोलनलाई सहयोग गर्ने निधो गरेको यायोक्खा उदयपुरका अध्यक्ष गङ्गा राईले बताइन्।
‘छिरीनाम ५०८१’ प्रदेशको नामकरणका लागि जारी पहिचानको आन्दोलनलाई यायोक्खाको मागसँग जोडेर लाने अध्यक्ष राईले बताईन। यायोक्खाले अघि सारेको पहिचान र सभ्यताको आधारमा किरात प्रदेश नामकरण हुनुपर्ने मागलाई अहिले पनि उत्तिकै महत्त्व दिएर आन्दोलन गर्दै आएको राईको भनाई छ। पहिचानसहितको नाम राख्न सके मात्र संघीयता र गणतन्त्रको उद्देश्य पुरा हुने उनको जिकिर छ।
यायोक्खा प्राक अध्यक्ष सर्बधन राईले हरेक चाड पर्वहरू मनाउँदा पहिचानको मुद्दालाई जोडेर मनाउने निर्णय भएको बताए। त्यही अनुरूप उँधौली र उभौलीलाई पनि पहिचानको मुद्दासँग जोडेर मनाउन लागेको उनको भनाई छ। यायोक्खाले जिल्ला, नगर, गाउँ, वडादेखि टोल टोलसम्म उँधौली मनाउँदा पहिचानको मुद्दालाई जोडेर मनाउन निर्देशन दिइएको अध्यक्ष राईले बताएका छन्।
त्रियुगा जनता क्याम्पस गाईघाटका प्रमुख भाषाशास्त्री डा. कैलाश राईले ‘किरात’ शब्द जातीय नभई सभ्यता भएको इतिहास सुनाएँ। उनका अनुसार भन्दै परापूर्व कालमा किरात शब्द र भूगोल नेपालमा मात्र नभएर भारत, पाकिस्तान, बङ्गलादेश र बर्मासम्म फैलिएको विराट क्षेत्र भएको उनको दाबी छ। पछिल्लो समयदेखि मात्र यसलाई समुदायगतको आरोप लगाउँदै सीमित बनाउन थालेको भन्दै डा. राईले पहिचानसँग जोडेर लादा प्रदेश र देशमा शान्ति स्थापना गर्न सहयोग पुग्ने बताए। प्रदेशमा चर्किरहेको आन्दोलनको विधिसम्मत अवतरण र शान्तिपूर्ण समाज निर्माणसँगै संघीयता गणतन्त्रको मर्म र भावनालाई पनि यसले समेट्ने भएकाले राज्यले पहिचानको आन्दोलनलाई सहज रुपमा लिन उनको सुझाव छ।
किरात शब्दलाई सभ्यताको संज्ञा दिनुपर्नेमा डा. राईको जोड छ। प्रदेशको नाम किरात राख्दा सभ्यता, पहिचान र बहुसङ्ख्यक प्रदेशवासीको माग सम्बोधन हुने हुनाले यसले सदाका लागि विद्रोहको अन्त्य गर्दै समाजमा शान्ति र विकासको ढोका खोल्ने भएकाले राज्यले त्यसप्रति ध्यान दिन सक्नुपर्ने उनको भनाई छ। देशका ६ वटा प्रदेशको नाम नदीनालाको नामसँग जोडेर राखेको भन्दै अगुवाहरूले पहिचान नदीनाला र पहाड पर्वतले माग्ने नभई मान्छेले माग्ने भएकाले उनीहरूको माग सम्बोधन गर्नु उचित हुने सुझाएका छन्।
अहिले (येले दुङ) ५०८४ चलिरहेको छ । हरेक माघ १ गतेदेखि नयाँ संवत् सुरु हुने यायोक्खाले जनाएको छ। यो संवत् विश्वभरको सबभन्दा पुरानो सभ्यता भएकाले राज्यले राष्ट्रिय संवतको मान्यता दिनुपर्ने यायोक्खाको दाबी छ। येल संवत् नेपाली संवत् २०८१ भन्दा ३ हजार ४ वर्षले जेठो सभ्यता भएकाले पनि यसलाई विश्वकै पुरानो मानव सभ्यता मान्न सकिने भाषाशास्त्री डा. राईको दाबी छ।
यायोक्खाका अनुसार उँधौली जाडो याम सुरु भएको सङ्केतको रुपमा र नयाँ अन्नबाली थन्क्याएपछि पितृलाई चढाउनका लागि मनाइने प्राकृतिक चाड हो। जाडो याम सुरु भएपछि माछा, चरा चुरुङ्गी न्यानो ठाउँतर्फ तल झर्ने भएकाले उधौलीको रुपमा मनाउने गरिएको छ। त्यस्तै गर्मी याम सुरु भएपछि लेकतिर चढ्ने भएकाले वैशाख जेठमा उभौली मनाउने गरिन्छ।
प्रकाशित: ३० मंसिर २०८१ १४:५१ आइतबार