२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, शिक्षक भन्छन्: ‘माया गर्थे, गल्ती भयो’

सुर्खेतस्थित एसओएस हर्मन माइनियर स्कुलका कम्प्युटर शिक्षक उपेन्द्र मल्लले कक्षा ९ मा अध्ययनरत विद्यार्थी स्पर्श सापकोटामाथि कुटपिट गरेका छन्। कुटपिटबाट विद्यार्थी सापकोटा घाइते भएका छन्।

शिक्षक मल्लले ‘प्रोग्राम डिजाइन’ विषय पढाइरहेको समयमा आफूमाथि मुठीले १२-१५ पटक प्रहार गरेको र त्यसपछि टाउको बेन्चमा ठोकाएको पीडित विद्यार्थीले गुनासो गरे।

कुटपिटबाट सापकोटाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको उपचार स्थानीय मेडिकलमा भइरहेको छ। ‘सरले पढाउँदा पढाउँदै एक्कासि मुड्की कसेर टाउकोमा र शरीरमा १२/१५ पटक हान्नु भो।’ घाइते विद्यार्थी सापकोटाले भन्छन्, ‘त्यसपछि मेरो टाउको बेन्चमा ठोक्नु भो। नाक र टाउकोमा चोट लागेको छ।’

घटनाबारे शिक्षक मल्लले आफूले विद्यार्थीमाथि कुटपिट गरेको स्वीकार गरे। ‘मैले यहाँ पढाउन थालेको छ वर्ष भयो। सबैलाई माया गर्दै पढाउने गरेको छु। हालसम्म यस्तो गल्ती भएको थिएन। तर, आज गल्ती भयो। मैले पनि हात छोड्नुहुन्थेन।’ कुटपिटको स्वीकारोक्ति गर्दै उनले भने ‘मैले डर देखाउने मात्र प्रयास गरेको थिएँ। ढाडमा हानेकै हो। उ झुक्दा टाउको बेन्चमा ठोकियो।’

घटनापछि पीडित विद्यार्थीकी आमा सुनिता ढकाल सापकोटाले विद्यालयभित्र विद्यार्थी सुरक्षित नरहेको भन्दै दोषी शिक्षकमाथि कारबाहीको माग गरेकी छन्। यता विद्यालयका प्रिन्सिपल हरिहर बस्नेतले भने शिक्षक मल्लमाथि कारबाही गरिने बताए।

विद्यार्थीमाथि कुटपिटको घटना सार्वजनिक भएपछि अभिभावकहरूले विद्यालयमा छोराछोरीको सुरक्षाका लागि गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २५ मंसिर २०८१ १८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App