ब्रिटिश गोर्खा कल्याणकारी संघ (ब्रिटिश गोर्खा वेलफेयर) नेपालले खोटाङको साकेलास्थित सरस्वती माध्यमिक विद्यालयलाई करिब ३ करोड रुपैयाँ अनुदानमा आधुनिक विद्यालय भवन निर्माण गरिदिने भएको छ।
वेलफेयरको सहयोगमा बन्न लागेको १२ कोठे सुविधासम्पन्न भवनको शुक्रबार साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रूपमा शिलान्यास गरेका छन्। अध्यक्ष राईका अनुसार ४ सय विद्यार्थी अध्ययनरत यो विद्यालयलाई उत्कृष्ट र नमूना विद्यालयका रूपमा विकास गर्न भवन निर्माण महत्त्वपूर्ण हुनेछ।
करिब २ करोड ८५ लाख रुपैयाँ लागतमा निर्माण गरिने भवन १८ महिनाभित्र तयार हुनेछ। यसमा ब्रिटिश गोर्खा वेलफेयरले २ करोड ५७ लाख ३२ हजार रुपैयाँ अनुदान प्रदान गर्नेछ भने स्थानीय समुदायले जनश्रमदानबाट २८ लाख १५ हजार रुपैयाँ योगदान दिनेछन्।
ब्रिटिश सेनामा लामो समय सेवा गरेका र हाल साकेला गाउँपालिकाका अध्यक्ष रहेका रविप्रकाश राईले गोर्खा वेलफेयरसँग विकास योजनाका लागि लगातार पहल गर्दै आएका छन्। उनको सक्रियताले विद्यालय भवन निर्माण योजना अनुमोदन भएको हो। यो भवन ब्रिटिश गोर्खा वेलफेयरद्वारा देशभर छनोट गरिएका पाँच ठूला परियोजनामध्ये एक हो।
विद्यालयका प्राचार्य शीतल राईका अनुसार, भवन निर्माणका साथै ६ कोठे अपांगमैत्री र महिलामैत्री शौचालय, फोहोरमैला व्यवस्थापन स्थान, शुद्ध खानेपानीको धारा र ट्याङ्कीसमेत निर्माण गरिनेछ। ६० जोर नयाँ डेक्सबेञ्चलगायत थप सामग्रीहरू उपलब्ध गराइने छन्।
यो भवनले विद्यालयको पूर्वतर्फको पुराना संरचनालाई प्रतिस्थापन गर्नेछ। प्राचार्य राईका अनुसार, निर्माण कार्य २०८२ असार १४ भित्र सम्पन्न गरिने सम्झौता भएको छ।
अध्यक्ष राईले भवन निर्माणलाई गाउँपालिकाको ऐतिहासिक उपलब्धि भनेका छन्। उनका अनुसार, ब्रिटिश गोर्खा वेलफेयरसँग निरन्तर सहकार्य गर्दै अन्य योजनाहरू समेत गाउँमा ल्याउने प्रयास भइरहेको छ।
प्रकाशित: २२ मंसिर २०८१ १८:२२ शनिबार