१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

पोखरा एभेन्जर्सको टोली भक्तपुर भ्रमणमा

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली आज (शनिबार) भक्तपुर घुम्न आउने भएको छ।

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीहरू सहितको टोली भक्तपुर भ्रमणमा आउन लागेको हो।

टोलीमा ३५ जना खेलाडी तथा प्रतिनिधि रहने जनाइएको छ। नेपाल इको प्यानलको निमन्त्रणामा उनीहरू आज साँझ ४ बजे भक्तपुर आइपुग्ने कार्यक्रम छ। टोलीलाई नेपाल इको प्यानलको टोलीले स्वागत गर्नेछ।

टोलीको स्वागतपछि परम्परागत धिमे बाजागाजासहित भक्तपुर परिक्रमा गराइने जनाइएको छ। भ्रमण कार्यक्रमअन्तर्गत टोलीलाई भक्तपुर दरबार क्षेत्र, पाँचतले मन्दिर क्षेत्र (ङातापोल), र दत्तात्रय मन्दिरलगायतका ऐतिहासिक तथा सांस्कृतिक स्थानमा लगिनेछ। टोलीलाई भक्तपुर नगरपालिकाको कार्यालय अगाडि स्वागत गर्ने योजना रहेको छ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर कृष्णभक्त दुवालले यस भ्रमणको मुख्य उद्देश्य आगामी भक्तपुर महोत्सव २०८१ को प्रचारप्रसार गर्नु रहेको बताए। महोत्सव मंसिर २८ देखि पुस २ सम्म सञ्चालन हुनेछ।

“टोलीलाई भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गराएर सांस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो,” दुवालले बताए।

भक्तपुर महोत्सवको प्रचारप्रसारका साथै नेपाल प्रिमियर लिगमा सहभागी खेलाडीहरूले नेपाल र यसको सांस्कृतिक धरोहरबारे अनुभव सँगाल्ने अवसर प्राप्त गर्नेछन्।

प्रकाशित: २२ मंसिर २०८१ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App