गहुँ छर्ने मुख्य समयमै रासायनिक मलको अभावले किसानहरुलाई समस्यामा पारेको छ। मल नपाउँदा छटपटिएका किसानलाई व्यापारीहरुले मनपरी मूल्य लिएर ठगी गरिरहेका छन्।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर बजारका मलखाद व्यवसायी श्यामप्रसाद साहले डिएपी मल प्रति बोरा ३ हजार ६ सय का दरले बिक्री भइरहेको बताए। खुद्रा दरमा प्रति किलो ७५ रुपैयँमा बेच्दा प्रति बोरा मूल्य ३ हजार ७ सय ५० पुग्छ।
किसानहरुका लागि गहुँ, तोरी, तरकारी लगायत हिउँदे बालीमा छर्न अत्यावश्यक मलको चरम अभाव देखिएको छ। सामान्य अवस्थामा प्रति बोरा हजार पर्ने युरिया मल अहिले १६ सयमा बेचिँदैछ। रौतहटको कटहरिया, गरुडा, शिवनगर र माधोपुरका बजारहरुमा युरिया र डिएपी दुवैको अभाव छ।
व्यापारीहरुले बोरा नभएको भन्दै खुद्रा मात्रामा अत्यधिक नाफा लिने गरेका छन्। माधोपुरका किसान किसुन राय यादवले डिएपी मल प्रति बोर ३ हजार ४ सय देखि ३ हजार ५० सय सम्ममा व्यापारीले बिक्री गरिरहेको गुनासो गरेका छन्।
किसानहरुले कालोबजारीमा संलग्न व्यापारीलाई कडा कारबाही गर्न माग गरेका छन्। ‘मुख्य खेतीको समयमा मलको कृत्रिम अभाव सिर्जना गरी व्यापारीहरुले लुट मच्चाइरहेका छन्,’ किसान यादवले भने। किसानहरुले सरकारले मल सहज रुपमा उपलब्ध गराउन ध्यान दिनुपर्ने माग समेत गरेका छन्।
स्थानीय तहले आफन्त र चिनजानका मानिसलाई मल उपलब्ध गराउन सिफारिश गर्ने गरेको र व्यापारीहरुले किसानलाई चरम शोषण गरेको आरोप किसानहरुले लगाएका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रासायनिक मल तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी गरिएको पाइएको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिए। ‘तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्नुस्,’ प्रजिअ रेग्मीले भने।
किसानहरुविरुद्ध भएको ठगी र शोषणका विरुद्ध कुनै पनि कारबाही नभएको देख्दा आश्चर्य लागेको किसानहरुको भनाइ छ। मुख्य खेतीको मौसममा यस्तो समस्या समाधान गर्न स्थानीय सरकारदेखि संघीय सरकारसम्म गम्भीर बन्नुपर्ने आवाज उठिरहेको छ।
प्रकाशित: २२ मंसिर २०८१ १५:०८ शनिबार





