११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भोजपुरी ‘स्टार’ खेसारीलालले रौतहटमा नचाए लाखौं दर्शक

प्रस्तुति दिदैं भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादव। तस्बिर: नागरिक

चर्चित भारतीय भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादवले रौतहटको गढीमाई मेलामा आफ्नो प्रस्तुतिबाट लाखौं दर्शकलाई नचाउँदै माहोल तताएका छन्।

खेसारीलालको आगमनको चर्चा मेलाको प्रमुख आकर्षण थियो। गढीमाई नगरप्रमुख श्यामप्रसाद यादवले खेसारीलालको घरमै पुगेर निमन्त्रणा दिएको खुलासा कलाकारले मञ्चमै गरे। यादवको प्रस्तुति हेर्न रौतहट, सर्लाही, बारा जिल्लासहित भारतका विभिन्न स्थानबाट लाखौँ दर्शक मेलास्थलमा आएका थिए।

खेसारीलालले एक दर्जनभन्दा बढी चर्चित भोजपुरी गीत गाए र केही गीतमा दर्शकसँगै नृत्य पनि गरे। उनका प्रस्तुतिले मेलास्थलमा रोमाञ्चक माहोल सिर्जना गर्‍यो। उनलाई नेपाली कलाकार रचना शिवाकोटीले नृत्यमा साथ दिएकी थिइन्। शिवाकोटीको कलाको प्रशंसा गर्दै खेसारीलालले नेपाली कलाकारहरूप्रति पनि आभार व्यक्त गरे।

गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवका अनुसार खेसारीलालजस्ता लोकप्रिय कलाकारको सहभागिताले गढीमाई नगरपालिकाको धार्मिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको छ। मेलामा नेपालका विभिन्न जिल्लाबाट मात्रै नभई भारतका विभिन्न भागबाट पनि श्रद्धालु दर्शकको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ।

खेसारीलाल यसअघि रौतहटको मौलापुरमा मधानी महोत्सवका लागि आएका थिए। गढीमाई मेलामा यो उनको दोस्रो आगमन हो।

गढीमाई नगरपालिका–४ सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला मंसिर १७ बाट सुरु भएको हो। मंसिर १८ मा उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको यो मेला मंसिर २६ सम्म चल्नेछ।

रौतहटका दर्जनभन्दा बढी स्थानमा जारी गढीमाई मेलामा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। मनोरञ्जनका विविध कार्यक्रमले दर्शकलाई थप आकर्षित गर्दै मेलालाई भव्य बनाएको छ।

तस्बिरमा हेर्नुहोस् मेलाको राैनक। तस्बिहरु: नागरिक

प्रकाशित: २० मंसिर २०८१ १८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App