२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

जलवायु परिवर्तनले बिदेसिए किसान: प्रतिवेदन

नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू कृषि छोडेर वैदेशिक रोजगारीमा धकेलिएको एक अध्ययनले देखाएको छ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीमा रोग–किराको संक्रमण बढेको, बेमौसमी वर्षा एवं हावाहुरी तथा असिनाले बालीमा पुर्‍याउने क्षतिका कारण किसानले आफ्नो पेसा छाड्ने क्रम बढेको अध्ययनले औंल्याएको छ।

नेपाल, भारत, चीन र बाङ्लादेशमा पहिलो पटक एकसाथ गरिएको उक्त अध्ययनअनुसार किसान श्रमिकका रूपमा बिदेसिँदा जमिन बाँझिँदै गएको र खाद्य सुरक्षामा असन्तुलन सिर्जना भएको छ। ‘दक्षिण एसियाको विविध सामाजिक, सांस्कृतिक तथा भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्यांकन’ शीर्षकमा गरिएको तीन वर्षे (सन् २०२२ देखि २०२४) अध्ययन प्रतिवेदनले यो क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा परिवर्तन भएको, बाढीपहिरो तथा खडेरीजस्ता मौसमी घटनाको आवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको औंल्याएको छ।

‘बढ्दो खडेरी र मनसुन ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बिउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको छ र उत्पादकत्व घटेको छ,’ बुधबार सार्वजनिक उक्त प्रतिवेदनमा लेखिएको छ।

यसैगरी भारत र बाङ्लादेशमा बाढी र डुबानका घटना बढेको, नदी कटानका कारण ठुलो संख्यामा घरपरिवार विस्थापित भएको र खेतीयोग्य जमिनको नाश भएको पाइएको छ।

बाङ्लादेशमा हिउँदमा नदीको गहिराइ कम हुन थालेको र नदीबीचमा बालुवाका टापुहरूको उत्पत्ति हुँदा माछाको वासस्थानमा नकारात्मक असर परेको पाइएको छ। माछाको प्रजाति र उत्पादन दुवै घट्दै गएकाले मत्स्य व्यवसायमा आबद्ध किसानको जीविकोपार्जनमा चुनौती थपिएको अध्ययनले देखाएको छ।

प्रतिवेदनमा जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको संकटापन्नताको तुलनात्मक अध्ययन तथा किसानको जलवायु अनुकूलन क्षमतालाई प्रभाव पार्ने तत्त्वबारे पनि विस्तृत समीक्षा गरिएको छ।

जलवायु परिवर्तनले केही सकारात्मक प्रभाव पारेकोसमेत अध्ययनले देखाएको छ। नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको अध्ययनको निष्कर्ष छ। यी क्षेत्रमा खेतीयोग्य भूमि र सिँचाइ सुविधा सीमित हुँदा उत्पादन न्यून रहेको देखिएको छ।

अध्ययनमा चार देशका कुल ६ सय ३३ घरपरिवार समेटिएको छ। नेपालबारे छुट्टै खण्ड तयार पारिएको अध्ययनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्राध्यापक प्रेमसागर चापागाईं बताउँछन्।

‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती, समाधान उपाय तथा नीतिगत सबाल’ शीर्षकको उक्त खण्डमा नेपालमा जलवायु परिवर्तनले निम्त्याएको चुनौती भविष्यमा झन् बढ्ने प्रक्षेपण गरिएको छ।

नेपालको अध्ययनमा रसुवा, नुवाकोट, चितवन र कास्कीका २११ घरधुरी समेटिएका थिए। अध्ययनले गत ३० वर्षमा नेपालमा तापक्रम बढेको, वर्षा केही मात्रामा घटेको, खाद्यचक्रमा प्रभाव पर्दा आन्तरिक तथा बाह्य बसाइँसराइ बढेको देखाएको छ। कृषि तथा पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दै गएको पनि अध्ययनले देखाएको छ।

अध्ययनमा समेटिएका किसानले मौसम तथा कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ। तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनालाई विश्वास गर्ने पाइएको छ।

भौगोलिक क्षेत्रअनुसार नेपालमा तापक्रम बढ्ने दर फरक फरक रहेको अध्ययनले देखाएको छ। तराईमा औसत वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा ०.९२१ डिग्री सेन्टिग्रेड र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको अध्ययनले जनाएको छ।

यसैगरी वार्षिक वर्षा हिमाली क्षेत्रमा १३.१२ मिलिलिटर , पहाडी क्षेत्रमा ९.३९ मिलिलिटर र तराईमा ५.०२ मिलिलिटरले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययनले जलवायु परिवर्तनको प्रभाव गहिरिँदै गएको देखाएको बताउँदै चापागाईंले यो विषयलाई सम्बोधन गर्न आपसी सहकार्य र हातेमालो आवश्यक रहेको बताए। अध्ययन टोलीमा नेपालका तीन, चीनका तीन, भारतका एक र बाङ्लादेशका एक अनुसन्धानकर्ता सहभागी थिए।

प्रकाशित: २० मंसिर २०८१ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App