सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा चौथो दिन तिलकोत्सव मनाइएको छ। बुधबार राम मन्दिरको प्राङ्गणमा परम्परागत तिलकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको हो।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट विभिन्न प्रकारका भार (कोसेली) बाजागाजासहित राम मन्दिरमा पुर्याइएको थियो। राम मन्दिरमा महन्त राम गिरी दाससहितका साधुसन्तहरूले भार टोलीलाई स्वागत गरेका थिए।
मिथिलामा विवाहअघि केटी पक्षबाट केटाको घरमा भार (कोसेली) पठाउने परम्परा छ, जसलाई तिलक सगुन भनिन्छ। सोही परम्परा अनुसार जानकी मन्दिरबाट राम मन्दिरमा भार पुर्याइयो। राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त रोशन दास र राजा दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी दासबीच सम्धी मिलन पनि सम्पन्न भयो।
तिलकोत्सवमा भारतको अयोध्याबाट करिब पाँच सय जन्ती र विभिन्न स्थानबाट आएका हजारौँ सहभागी थिए। महिलाहरूले परम्परागत शैलीमा जन्तीलाई ठट्यौलो पारामा गाली गर्दै हाँसोठट्टा गरेर माहोल रमाइलो बनाए। मिथिलामा जन्तीलाई ठट्यौलो पारामा गाली गर्ने चलनले विवाहको उत्सवलाई थप विशेष बनाउने गर्छ।
समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, रामकृष्ण यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
विवाहपञ्चमी महोत्सवअन्तर्गत मैथिली परम्परा अनुसार सबै विधिहरू पूरा हुँदैछन्। पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ।
पाँचौं दिन बिहीबार मटकोर, छैठौं दिन शुक्रबार स्वयम्वर तथा शुभविवाह (विवाहपञ्चमी) र सातौं दिन शनिबार राम कलेवाको आयोजना हुनेछ।
प्रकाशित: १९ मंसिर २०८१ १९:०५ बुधबार