मंसिर पहिलो साता गुलरिया–८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्दा घाम अस्ताउँदै थियो। तर कारखानाभित्र काम गर्दै गरेकी स्थानीय पुनम चौधरीका आँखा भने पूर्णिमाको चन्द्रमाजस्तै चम्कँदै थिए। स्नातक तहमा अध्ययन गर्दै गरेकी पुनम घरनजिकै काम पाउँदा बिछट्टै खुसी थिइन्। ‘बाहिर काम गर्न जाने वातावरण थिएन। घर नजिकै उद्योग आएकाले सजिलो भयो,’ उनले भनिन्, ‘यो हाम्रो समुदायका लागि निकै महत्त्वपूर्ण कुरा हो।’
उनी मात्र होइन, खेतीपातीमा व्यस्त रहने यहाँका थारु समुदायका युवायुवतीले कारखानामा काम पाउन थालेका छन्। कारखाना उत्पादनको सुरुवाती चरणमा रहेको र अन्य धेरैले पनि काम पाउने अपेक्षा गरेका छन्।
‘मैले काम गर्न थालेको पनि तीन महिना भयो,’ पुनमसँगै रहेकी सन्तोषी चौधरीले भनिन्, ‘यसले परिवारका सदस्य पनि खुसी भएका छन्।’ शिक्षा आर्जन गरे पनि दिनभर घरमै बस्ने बाध्यता भएको यो समुदायका युवायुवतीले काम गर्न पाएकोमा खुसी व्यक्त गरे।
‘गाउँका धेरै मानिस बिदेसिएका छन्, यस्तोमा ठुलो उद्योग गाउँमै आउँदा आशा जगाएको छ,’ शम्भुजित थारुले भने, ‘यस्ता उद्योग गाउँ गाउँमा सञ्चालन हुने हो भने बिदेसिएका पनि फर्कने छन्। एउटा मात्र भए पनि यसले सिङ्गो समाजमा आशा जगाएको छ।’
उनीहरूले भनेजस्तै बर्दियाको गुलरिया नगरपालिका–८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्स लिमिटेडले टायल उत्पादन सुरु गर्दा दूरदराजको यस गाउँमा रोजगारीको आशा पलाएको छ। कामको खोजीमा भारतलगायतका विभिन्न मुलुकमा जाने गरेकालाई यसले केही आशा देखाएको छ। ‘बाहिर रहेका आफन्तले पनि उद्योगबारे जानकारी राख्न थालेका छन्,’ शम्भुजित भन्छन्, ‘काठमाडौं/पोखरा गएका त फर्केर पनि आइसके।’
बढ्दो माग ख्याल गर्दै नेपाललाई टायलमा आत्मनिर्भर बनाउने उद्देश्यले भदौदेखि उद्योगले ‘लेमिनार भेट्रिफाइड टायल्स’ ब्रान्ड नाम दिएर उत्पादन सुरु गरेको जनाएको छ।
‘नेपाललाई टायलमा आत्मनिर्भर बनाउने उद्देश्यले अत्याधुनिक प्रविधिसहितको उद्योग स्थापना गरेका हौं,’ लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले भने, ‘यसबाट स्थानीयले पनि अवसर पाएका छन्।’
१२ बिघा क्षेत्रफलमा फैलिएको उद्योग स्थापना गर्न मात्रै लुम्बिनी सेरामिक्सले चार अर्ब रूपैयाँ लगानी गरेको छ। ‘लुम्बिनी सेरामिक्स नेपालमा सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठुलो टायल उद्योग हो,’ निर्देशक चुरिवालले भने, ‘जसले अत्याधुनिक प्रविधिको सहायताले उच्च गुणस्तर र भारवहन क्षमता भएको टायल उत्पादन गर्छ।’
आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन गरिने भएकाले यसको बनावट र डिजाइन पनि उत्तिकै आकर्षक रहेको उनको भनाइ छ।
लुम्बिनी सेरामिक्सले विभिन्न आकारका टायल उत्पादन गरिरहेको छ। यी टायल पाँच सय वटाभन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध रहेको जनाइएको छ। लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङका लागि पनि उपयुक्त रहको कम्पनीले जनाएको छ। पार्किङका लागि गाडी वा मोटरसाइकलको टायर नचिप्लिने थोरै खस्रो खालको टायल पनि निर्माण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले टायल्स निर्माणको सबै प्रक्रिया पारदर्शी रहेको जनाउँदै जिज्ञासुहरूलाई उद्योग परिभ्रमण पनि गराउँदै आएको छ। उच्चस्तरीय उत्पादनको प्रक्रिया र गुणस्तरीय कच्चा पदार्थको प्रयोगको कारण लेमिनार पायल्स ९९.९२ प्रतिशत ‘वाटर प्रुफ’ छन्। निर्देशक चुरिवालले भने, ‘लेमिनारमा सेरामिकलगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमता छ।’
लेमिनार टायल उद्योगको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिट रहेको र यसमा तीन सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको कम्पनीले जनाएको छ। जसमा धेरै स्थानीय रहेका छन्। सुरुवाती चरणमा रहेका कारण हाल कच्चा पदार्थ भारतको राजस्थानबाट ल्याइए पनि छिटै स्वदेशी खानीबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने कम्पनीको योजना छ। यसका लागि उपयुक्त माटो डडेलधुरामा भेटिएको कम्पनीले जनाएको छ।
कम्पनीले लेमिनार भेट्रिफाइड टायलको मूल्य प्रतिवर्गफिट ८० देखि २०० रूपैयाँसम्म तोकेका छ। यो आयातितभन्दा २० प्रतिशत सस्तो भएको उद्योगको दाबी छ। कोभिड–१९ महामारी आउनुअघिसम्म नेपालमा खपत हुने ९९ प्रतिशत टायल्स भारतीय उत्पादकबाट आयात हुने गरेको थियो। सन् २०१९ मा नेपालले करिब १० अर्ब ५० करोड टायल्स आयात गरेको तथ्याङ्क छ। मुलुकमा हाल करिब १२ अर्ब रूपैयाँ मूल्य बराबरको टायल खपत हुने अनुमान छ।
लेमिनारसँगै बजारमा अन्य पाँच वटा टायल उद्योग पनि सञ्चालनमा छन्। नेपाली वा विदेशी जुनसुकै टाइलभन्दा लेमिनार टायल उच्च गुणस्तरको भएको र मूल्य पनि प्रतिस्पर्धी भएकाले बजारमा आफूहरू लिडर बन्ने विश्वास लुम्बिनीका सञ्चालक चुरिवालको छ।
हाल देशका मुख्य सहरमा एक सयभन्दा बढी लेमिनार टायलका डिलर सञ्चालनमा आइसकेका र देशका सबै सहरमा पुग्ने उनले सुनाए। ‘हामी ग्राहकको सही छनोटमा विश्वास गर्छौं,’ अभिनव भन्छन्, ‘त्यसका लागि हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं।’
प्रकाशित: १५ मंसिर २०८१ ०९:०९ शनिबार