नेपाल प्रहरीले दुई साताअघि पक्राउ परेका दुई व्यक्तिलाई अहिलेसम्म सार्वजनिक गरेको छैन। पर्सा प्रहरीले पक्राउ गरेका ती दुई व्यक्तिलाई अहिलेसम्म सार्वजनिक नगरिएको हो। प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोअन्तर्गतको ‘पोलिटिकल विङ’ले पनि उनीहरूको खोजी गर्दै आएको थियो।
कात्तिक २९ गते वीरगन्ज बसपार्कमा व्यापारीहरूसँग चन्दा मागिरहेका बेला शंका लागेर पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलको टोलीले एक जनालाई पक्राउ गरेको थियो। उनी भूमिगत रूपमा पार्टी गठन गरी चन्दा उठाउने र बम पड्काउने धम्की दिने व्यक्ति हुन्। आफूलाई गौरव सापकोटा बताउने ३६ वर्षीय उनले आफ्नो नेतृत्वमा केही समयअघि भूमिगत रूपमा नेकपा (माओवादी) नामक पार्टी गठन गरेका थिए। आफूलाई सो पार्टीको महासचिव बताउने उनी पार्टी सञ्चालनका लागि चन्दा संकलन गरिहरेका बेला पक्राउ परेका हुन्। तनहुँ स्थायी घर भएका उनको खास नाम भने अमृत सापकोटा हो। त्यसैगरी सोही पार्टीको सचिव भनिएका दिलीप भट्टराईलाई पनि पर्सा प्रहरीले नै पक्राउ गरेको थियो। उनीहरूलाई अघिपछि पक्राउ गरिएको हो।
झापा र कैलालीमा बम पड्काएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको एउटा युनिटले तनहँुमा केही हतियार भएको संकेतसमेत पाएको छ। सोही सूचनाका आधारमा प्रहरीले हतियारको खोजी गरिरहे पनि फेला पार्न भने सकेको छैन। पर्सा प्रहरी प्रमुख एसपी ढुंगेलले उनीहरूलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जानकारी दिए। अनुसन्धानरत विषयमा धेरै बोल्न नमिल्ने उनले बताए। ‘केही विस्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धान जारी रहेकाले थप केही बताउन मिल्दैन,’ एसपी ढुंगेलले भने, ‘पर्साका व्यापारीसँग चन्दा असुल गर्दै गर्दा सुतली बमसहित उनीहरू पक्राउ परेका हुन्।’
प्रहरीका अनुसार आपराधिक पृष्ठभूमिका दुई जनालाई विस्फोटक पदार्थ तथा विभिन्न दस्ताबेजसहित पक्राउ गरेपछि यो विषयमा प्रहरी प्रधान कार्यालयले समेत चासो राखेको थियो। उनीहरूको पक्राउपछि विशेष ब्युरोको टोली वीरगन्ज पुगेर अनुसन्धानमा संलग्न छ। ‘देशका विभिन्न भागमा चन्दा मागेको विवरण संकलन भएको छ। उनीहरूको अवस्थाबारे पनि जानकारी पाइसकिएको छ। केही मानिस अझै पक्राउ पर्ने चरणमा छन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।
गौरव नेतृत्वको नेकपा (माओवादी) अहिले भूमिगत छ। झापा र कैलालीमा बम पड्काएको आरोप सो पार्टीमाथि लागेको छ। प्रहरी स्रोतले दिएको जानकारीअनुसार २०८१ भदौ ८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा बम विस्फोट गराएको आरोप उक्त पार्टीमाथि लागेको छ। त्यस दिन सो बम विस्फोट गराउन त्यही पार्टीका दानसिंह धामी र सरस्वती चौधरी संलग्न रहेको प्रहरीको दाबी छ। त्यसैगरी पार्टी महासचिव गौरवको निर्देशनबमोजिम २०८१ भदौ २७ गते झापाको आनरमनीस्थित गिरिबन्धु चिया बगानमा बम विस्फोट गराई जग्गा कब्जाको घोषणा गरेको पनि प्रहरीको आरोप छ। प्रहरीका अनुसार उक्त पार्टीमा माओवादीका पूर्वनेताहरूका छोराछोरी पनि संलग्न छन्।
प्रहरीले सकेसम्म गौरवको टिमका सबैलाई पक्राउ गरेर सार्वजनिक गर्ने तयारी गरेको थियो तर गौरवले सबैको जानकारी नदिएका कारण सम्भव नभएके बताइएको छ । ‘गौरव नियन्त्रणमा छन्, अन्य केही व्यक्तिको पनि खोजी हुँदैछ,’ गौरव नेतृत्वको नेकपा ९माओवादी० ले केही समयअघि मात्रै जनसत्ता गठन गरेको घोषणा गरेको थियो। पार्टीको केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकले पाँच कमान्ड इन्चार्जसहित जनसत्ताको घोषणा गरेको थियो। केन्द्रीय जनसत्ता प्रमुखमा शेखरलाई चयन गरेको उक्त पार्टीले जनाएको थियो।
उक्त पार्टीले पूर्वी कमान्ड इन्चार्जमा शेखर सिंह, मध्य कमान्ड इन्चार्जमा अग्नि, मध्यपश्चिम कमान्ड इन्चार्जमा जावेल, पश्चिम कमान्ड इन्चार्जमा दीपक, सुदूरपश्चिम कमान्ड इन्चार्जमा दानसिंहलाई जिम्मेवारी तोकेको जनाइएको थियो।
जनस्वास्थ्यमा रमाकान्त, अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजकमा बाबुराम, नेपाल मुस्लिम मुक्ति मोर्चामा कलिमुद्दिन, प्रवास विभागमा समर्पण, अनेमसंघमा सरस्वती चौधरी र नेपाल आदिवासी जनजाति महासंघमा रमालाई जिम्मेवारी दिइएको छ। दुई जनाबाहेक सबै फरार छन्।
उनीहरूले माओवादीको पुरानो शैलीमा संगठनको संरचना बनाएको पाइएको छ। उनीहरूले पूर्वी कमान्ड, मध्यपश्चिम कमान्ड, सुदूरपश्चिम कमान्ड, विदेश र जनस्वास्थ्य विभाग खडा गरेर पार्टीलाई भूमिगत रूपमा सञ्चालन गरिरहेको प्रहरीको दाबी छ ।
प्रकाशित: १२ मंसिर २०८१ ०६:३७ बुधबार