कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैंसपालन पुख्र्यौली पेसा हो। उनका सातवटा भौंसी छन्, तर उनले उत्पादन गरेको दूध, दही र घिउले बजार पाउन सकेको छैन। उनकै छिमेकी वडा नम्बर– ५ रुप्साका मनवीर सहकारीका गोठमा ६ वटा भैंसी छन्। २० वर्षदेखि भैंसीपालन गरिरहेका उनका घरमा दैनिक १२ लिटर दूध उत्पादन हुन्छ, तर बजारकै समस्याका कारण उनले दूध बिक्री गर्न सकेका छैनन्।
गाउँमा प्रशस्त घाँस पाइने र चरन क्षेत्र पनि धेरै राम्रो भएकाले नरहरिनाथ गाउँपालिकाका अधिकांश स्थानीयले भैंसी पालेका छन्, तर दुग्धजन्य पदार्थ बिक्रीमा समस्या छ। बजार अभावमा स्थानीयले महँगो रूपैयाँमा किनेको भैंसीको लागतसमेत उठाउन सकेका छैनन्।
स्थानीय तुले बटालाका अनुसार दूध बिक्री नभएपछि त्यसको घिउ बनाउँदै आएको बताए। ‘घिउ बिक्री गर्न पनि तीन/चार घन्टा हिँडेर स्थानीय बजार पुग्नुपर्छ’, उनले भने, ‘बिक्रीका लागि घरघर डुल्नुपर्ने बाध्यता छ।’
अधिकांश परिवारमा दुइटा भैंसी छन्। गाउँसम्म सडक सुविधा भए पनि गाडी कमै मात्र चल्ने गरेका छन्। अहिले नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा ल्याएको घिउसमेत बिक्री हुन सकेको छैन।
सदरमुकाम मान्ममा प्रतिलिटर ६० रूपैयाँमा दूध बिक्री हुने गरेको छ, तर गाउँमा भने दूध बिक्री नभएर खेर जाने गरेको स्थानीय रामबहादुर बटालाले बताए। उनका अनुसार उत्पादित दूध केही घरमा प्रयोग गर्ने र बाँकीको घिउ बनाएर सात सय रूपैयाँमा बिक्री गर्ने गरेका छन्।
‘हामीसँग घिउ बनाउनेबाहेक अन्य कुनै सीप छैन’, उनले भने, ‘आवश्यक तालिम र उपकरणमा कसैले सहयोग गरे दुग्धजन्य उत्पादनलाई नै व्यवसाय बनाउन सकिन्थ्यो।’ उनले बजार अभावमा धेरैवटा भैंसी पाल्ने परिवारको पेसासमेत निर्वाहमुखी भएको बताए। उनले फलफूल र तरकारीसमेत बिक्री नभएपछि स्थानीयले पालिकानजिकैको बजारमा निःशुल्क दिने गरेको बताए।
स्थानीय चञ्चल बोगटीको भैंसीले दैनिक १० लिटर दूध दिने गरे पनि घरमै मात्र प्रयोग हुने गरेको बताए। ‘बजारको सुविधा भए एकदुई लिटर घरमा राखेर अरू बिक्री गर्न सकिन्थ्यो’, उनले भने, ‘आयस्रोत पनि बढ्थ्यो, भैंसीपालनमा थप जाँगर आउँथ्यो, तर बजार नहुँदा समस्या भएको छ।’
उनका अनुसार गाउँमा एउटा भैंसीको मूल्य ५० हजारदेखि ७० हजार रूपैयाँसम्म पर्छ, तर एउटा भैंसीको दूधबाट वर्षमा ३० किलोसम्म घिउ उत्पादन हुने गरेको बताए। दूध बिक्री गर्न सके एउटै भैंसीबाट महिनामा दश हजारसम्म कमाइ हुने उनको भनाइ छ। स्थानीयले नजिकका व्यापारिक केन्द्र र सदरमुकाममा लगेर घिउ बिक्री गर्दै आएका छन्।
बजार अभावका कारण भैंसीपालन व्यवसाय बन्न नसक्दा रोजगारीका लागि युवा बर्सेनि भारत जानुपर्ने बाध्यता रहेको स्थानीय जुनिता विष्टको भनाइ छ। गाउँमा करिब तीन सय ५० भन्दा बढी भैंसी छन्। ती भैंसीबाट दैनिक चार सय लिटर दूध उत्पादन हुने उनको भनाइ छ। उनका अनुसार सबै दूध गाउँमै प्रयोग गर्नुपर्ने बाध्यता छ। उनले गाउँमै संकलन केन्द्र स्थापना हुन सके गाउँको दूध दिनहुँ सदरमुकामसम्म पुग्ने बताइन्।
संकलन केन्द्र स्थापना भए किसानलाई पनि जीविकोपार्जनमा सहयोग पुग्ने स्थानीयको भनाइ छ। किसानले पटकपटक विभिन्न सरकारी तथा गैरसरकारी निकायमा बजारीकरणका लागि पहल गरिदिन माग गरे पनि बेवास्ता भएको स्थानीयको आरोप छ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले दैलेखको आठबिस नगरपालिकाको राकम कर्णालीमा संकलन केन्द्र स्थापना गर्ने गरी बजार व्यवस्थापन गर्ने जनाएका छन्। उनले कालीकोट जिल्लामा चालु आव र आगामी आवको कृषि तथा पशुपन्छी विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए। उनले आगामी आर्थिक वर्षमा यसका लागि बजेट व्यवस्थापन गर्ने बताए।
प्रकाशित: ११ मंसिर २०८१ ०९:०८ मंगलबार