झापाकी सुजता लिम्बू सेतो छडी बोकेर दैनिक डाँछीबाट चाबहिल–रत्नपार्क–डाँछी गर्छिन् । उनलाई बतासिँदै हुइँकिने गाडीहरू बस, माइक्रो, ट्रक के हुन्, छुटाउन गाह्रो पर्छ । उनले बस चढ्नलाई धेरै बेर कुर्नुपर्छ, किनभने उनलाई हात दिएर चढाउने सहचालक कमै भेटिन्छन् । त्यसो त उनी बसभित्र गरिने व्यवहारसँग वाक्क छिन्, अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षित स्थान छाडिँदैन, त्यहीमाथि चालक, सहचालक वा यात्रु; कसैको व्यवहारमा नरमता पाइँदैन ।
काठमाडौंको नख्खु बस्दै आएकी ठकुमाया मगर कान सुन्दिनन् । अरुले बोलेको नसुन्ने र आफ्नो भाषा बुझाउन कठिन हुने हुनाले धादिङ माइती आइजाइ गर्दा कैयौं पटक गाडी स्टाफसँग उनको झगडा परेको छ । ठकुमायाले अपङ्गाताको परिचयपत्र देखाउँदासमेत छुट पाउँदिनन् । सार्वजनिक सवारीका दु:ख देख्दा कहिलेकाहीँ त उनी आफैँ गाडी चलाउन तम्सिन्छिन् । हिजोआज उनलाई लाग्न थालेको छ- आफैँ गाडी चलाउँ ।
स्नातकसम्मको अध्ययन गरेका जाजरकोटका भरत बीसीले अध्ययनका क्रममा पाउनु दुःख पाए । स्पाइनल कर्ड इन्ज्यूरी भएका उनले कीर्तिपुर–लगनखेल–जावलाखेल गर्दा सार्वजनिक यातायातमा अनेकौं समस्या भोगे । ह्वीलचेयरसहित गाडीमा चढ्नु पर्दाको दुःख उनी अहिले सम्झनै चाहन्नन् । त्यसमाथि चालक र सहचालकको व्यवहार झनै पीडादायी हुने गर्छ ।
०००
यी त केही प्रतिनिधि उदाहारण मात्रै हुन् । सङ्घीय राजधानी काठमाडौंसहित मुलुकभर चल्ने सार्वजनिक सवारी साधन अपाङ्गतामैत्री छैनन् । पछिल्लो समय साझा यातायातले खरिद गरेको इलेक्ट्रिक बसबाहेक बाँकी सबै सार्वजनिक यातायातका साधन अपाङ्गता भएका व्यक्तिका लागि यात्रा गर्न लायक छैनन् । यात्राका क्रममा गरिने व्यवहारमा पनि अपेक्षाअनुसारको सुधार हुन सकेको छैन । चालक, सहचालकदेखि यात्रुको नजर नै उनीहरूप्रति सही देखिँदैन ।
राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घले ललितपुरमा हालै गरेको कार्यक्रममा अपाङ्गता भएकाहरूले सवारी चढ्ने, झर्ने, सवारीभित्र बस्न अप्ठेरो हुने गरेको बताउँदै आफूहरूले पाउने सुविधामा समेत विभेद हुने गरेको गुनासो गरे । केही सवारी साधनमा चढ्न र झर्न सजिलो हुने भए पनि बाँकी सबै गाडी अग्लो भएको उनीहरूको भनाइ छ । सार्वजनिक सवारी साधनभित्र छिरे पनि बसेर यात्रा गर्न भने सङ्घर्ष नै गर्नुपर्ने उनीहरूको गुनासो छ ।
यातायात व्यवसायी र ट्राफिक प्रहरी भने पछिल्लो समय यसमा धेरै सुधार भएको दाबी गर्छन् । पछिल्लो समय चालक र सहचालकलाई तालिमको व्यवस्था गर्ने गरेको जानकारी गराउँदै उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई गर्ने व्यवहारमा सुधार आएको बताउँछन् । गाडीभित्र पनि सचेतनास्वरूप स्टिकरहरू राखेको र त्यसमा निरन्तर अनुगमन भइरहेको उनीहरूको दाबी छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐनमा उनीहरूलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवालगायत सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका अन्य सेवा तथा सुविधाहरूमा सहज पहुँचको अधिकार हुने उल्लेख छ । यस्तै अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह आफ्नो सहायक सामग्री र आफूले रोजेको सहयोगीका साथ आवतजावत गर्ने अधिकारको पनि सुनिश्चित गरिएको छ ।
सुजाता लिम्बू (दृष्टिविहीन)
म डाँछीमा बस्छु । त्यहाँबाट चाबहिल, रत्नपार्क आइजाइ गरिरहन्छु । गाडी चढ्नका लागि बाटोमा सेतो छडी लिएर उभिरहँदा पनि धेरै चालकले गाडी रोकिदिनु हुन्न । आवाज सुनेर म चढ्ने गाडी हो होइन भन्ने कुरा पनि मैले पत्ता लगाउन सक्दिनँ । बल्लतल्ल गाडी रोकिन्छ तर,भीड छ भने चढ्न र यात्रा गर्न झनै कठिन हुन्छ । यात्रुको व्यवहार पनि त्यति राम्रो हुँदैन । एकदुई जनाबाहेक सहचालकले पनि नराम्रो बोली बोल्छन् । अपाङ्गता भएका व्यक्तिका लागि भनेर छुट्याइएको सिटमा पनि अरु नै कोही बसेका हुन्छन् । एकाधबाहेक अन्यले सिट छाड्दैनन् । उभिएर पनि यात्रा गर्नुपर्ने हुन्छ । धेरै भीड भएको समयमा त केहीको व्यवहार पनि राम्रो नहुने पाएकी छु । पछिल्लो समय बिजुलीबाट चल्ने गाडीहरूको प्रयोग बढेकाले पैदलै हिँड्न पनि समस्या भएको छ । ती गाडीको आवाज सुनिन्न । जेब्रा क्रसिङ भएको ठाउँबारे पनि थाहा हुन्न । त्यहाँ कुनै सङ्केत राखिएको हुँदैन । गाडी चढ्ने ठाउँबारे पनि थाहा नहुने भएकाले जहाँ पायो त्यहीँबाट चढ्नुपर्छ । यसले पनि समस्या दिन्छ ।
ठकुमाया मगर (बहिरा व्यक्ति)
मेरो माइती धादिङ हो । म अहिले नख्खुमा बस्छु । काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनमा हामीजस्ता अपाङ्गता भएकाहरूलाई गरिने व्यवहारमा थोरै सुधार भएको छ तर, पर्याप्त छैन । काठमाडौं बाहिरका गाडी त चढ्दै नचढौँ लाग्छ । माइती आइजाइ गर्दा धेरै पटक सहचालकसँग विवाद भएको छ । उनी मेरो कुरा बुझ्दैनन् । म उनले बोलेको सुन्दिनँ । अपाङ्गता भएर पनि मैले छुट पाउनुको साटो बढी भाडा तिरेकी छु । परिचयपत्र देखायो भने छुट दिन मान्दैनन् । हाम्रो लागि छुट्याइएको सिटमा अरु नै बसेकाले बस्न पाइँदैन । अरु सिटमा बस्न खोज्यो भने अपाङ्गता भएकाहरूलाई सिट छ त भनेर पठाइन्छ । बरु मलाई नै लाइसेन्स दिनुहोस् । म अन्य चालकले भन्दा राम्रोसँग गाडी चलाउन सक्छु ।
भरत बिसी (स्पाइनल कर्ड इन्ज्यूरी)
मेरो घर जाजरकोट हो । मैले सानै उमेरदेखि यहीँ बसेर पढेको हुँ । एसईई र प्लस टू पढ्दा मैले धेरै नै दुःख पाएँ । कीर्तिपुरबाट दैनिक लगनखेल र जावलाखेल गर्दा धेरै समस्या भोग्नुपर्यो । म अहिले यात्रा गर्छु, खेल्छु र पढ्छु । अहिलेको जस्तो चेतना पनि चालक र सहचालकमा थिएन । मेरो ह्वीलचेयरसहित गाडीमा राख्नु पर्ने र मलाई पनि बोकेर राख्नुपर्ने भएकाले हतपती गाडी रोकिन्न थियो । चढे पनि सिट दिन नमान्ने । कति पटक त चालक र सहचालको व्यवहार र बोलीले हीनताबोधसमेत भएको थियो । राम्रो बोलीले मात्र पनि मेडिटेशनको काम गर्ने रहेछ । काठमाडौं बाहिरको अवस्था त झनै विकराल छ । लामो दूरीको यात्रा गर्दा ह्वीलचेयरलाई डिकीमा राखिन्छ । बाहिर जानुपर्ने अवस्थामा पनि ह्विलचेयर बिना सम्भव हुँदैन । काठमाडौंमा सुरु भएको सुविधा देशभर फैल्याउन आवश्यक छ ।
अनु राई (स्पाइनल कर्ड इन्ज्यूरी)
म गोकणेश्वरमा बस्छु । काम विशेषले काठमाडौं आइजाइ गरिरहनु पर्छ । कम्मरमुनिको भाग नचल्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न समस्या हुने भएपछि अधिकांश समय मैले ट्याक्सी चढेँ तर, धेरै नै महङ्गो भयो मेरो यात्रा । अहिले आफैँ चार पाङ्ग्रे स्कूटर चलाउँछु । तर, पनि समस्या जस्ताको त्यस्तै छ । धेरै ठाउँमा स्कूटर चलाउन सहज हुँदैन । काठमाडौंका बाटाहरू अप्ठेरा छन् । अलि सहज ठाउँ खोजेर चलायो भने ट्राफिक नियम उल्लङ्घन गरेकामा फाइनमा परिन्छ । नियम नै उल्लङ्घन गर्नुपर्छ भन्ने हाम्रो माग हैन तर, अवस्था हेरेर हामीलाई यात्रामा सहज बनाइदिए आभारी हुने थियौँ ।
कोपिला गुरुङ (लो भिजन)
म कीर्तिपुरमा बस्छु । लोकसेवाको तयारी गरिरहेकाले त्यहाँबाट बागबजार आइजाइ गरिरहनु पर्छ । कीर्तिपुरबाट रत्नपार्क चढ्ने माइक्रोले प्रायः रोक्दैनन् । ठूला बसहरूमा चढेर यात्रा गर्नुपर्छ । बल्लबल्ल भित्र छिर्यो, सम्हालिन नपाउँदै गाडी हुइँक्याइहाल्छन् । सिट पनि पाइन्न । आँखा कम देख्ने भएकाले धेरैले ठगेको भन्छन् । सिट दिँदैनन् । बुढाबुढी, बच्चाहरू बसेका हुन्छन् उठाउनै नमिल्ने हुन्छ । यस्तोमा सहचालकको भूमिका पनि समन्वयकारी भएको पाएकी छैन ।
गोपालचन्द्र गुरुङ (यातायात व्यवसायी)
म नेपाल यातायातमा आबद्ध छु । सवारी सञ्चालनका क्रममा हामीले पूर्ण रूपमा नियमको पालना गरेका छौँ । गाडीभित्र सचेतनाका सङ्केत, स्टिकरहरू राखेका छौँ । अपाङ्गता भएका व्यक्तिहरूलाई ठाउँ ठाउँबाट चढाएर यात्रा गराएका छौँ । गाडीभित्र पनि सिटको व्यवस्था गर्ने गरेका छौँ । नराम्रो व्यवहार गर्ने चालक र सहचालकलाई कार्यालयमा बोलाएर सम्झाउने गरेका छौँ । विभिन्न ठाउँमा उभिरहेका अपाङ्गता भएका व्यक्तिहरूलाई गाडीमा चढाउँदा भने जहाँ पायो त्यहीँ रोकेको भनेर फाइन तिराइन्छ, यसको अन्त्य हुनु जरुरी छ । अपाङ्गता भएका साथीहरूलाई पनि बसस्टपमा नै गाडी कुरिदिनु आग्रह गर्छु ।
जोन तामाङ (यातायात व्यवसायी)
म आबद्ध गाडी साझा यातायात हो । साझाले पछिल्लो समय होचा बसहरू भित्र्याएको छ । यो अन्त्यन्तै प्रभावकारी छ । गाडीमा आफैँ चढ्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सहचालकले आफैँ सहयोग गर्छन् । जति समय लाग्छ चढाएर मात्र गाडी चलाउँछन् । यस्तै प्रकारका बसहरू बढी चलाउने उद्देश्यले थप केही मगाइएको पनि छ । तर, पनि हामीले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिलाई सेवा भने दिन सकिरहेका छैनौँ । सचेतना तालिम भने निरन्तर दिरहेका छौँ । दक्ष जनशक्तिको अभाव छ ।
विनिता शर्मा (प्रतिनिधि, महालक्ष्मी नगरपालिका)
हरेक वर्ष स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि भनेर बजेट विनियोजन गरेको हुन्छ । तर उपयुक्त कार्यक्रमको अभावमा पूरै खर्च हुँदैन । कार्यक्रम बनिहाले पनि राम्रा कार्यक्रम बन्दैनन् । बजेट सक्ने उद्देश्यले मात्र कार्यक्रमको आयोजना भएको पाइएको छ । कतिपय स्थानीय तहका भवनहरू नै अपाङ्गमैत्री छैनन् । हाम्रै भवन छैन । राम्रा कार्यक्रम ल्याउन सके बजेटको सही सदुपयोग हुने थियो । यसले अपाङ्गता भएकाहरूको जीवनस्तर उकास्न सजिलो हुने थियो ।
बिकुनारायण कासिछेवा (ट्राफिक प्रहरी)
म ललितपुर ट्राफिकमा गएको ८ महिना भयो । यो बीचमा अभद्र व्यवहार भयो भनेर एउटा पनि उजुरी आएको छैन । अन्य ठाउँमा पनि यस्ता उजुरी धेरै नै आउँथ्यो । अहिले कम भएको छ । हामीले सम्बन्धित व्यक्तिहरूसँग समन्वय गरेर सचेतना कार्यक्रमहरू निरन्तर गर्दै आएका छौँ । बसहरू अपाङ्गतामैत्री छैनन् । सामान्य मान्छेलाई पनि चढ्न गाह्रो हुने खालका छन् । दुर्व्यवहार गर्ने र बढी भाडा लिनेलाई जरिबाना हुन्छ र उजुरीका आधारमा गर्दै पनि आएका छौँ ।
प्रकाशित: ५ मंसिर २०८१ १५:२५ बुधबार