१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

जोखिममा मेची राजमार्गः बिकल्पविहीन कि उदासिन?

क्याप्शन

हिलिहाङ- ६ का तिबेन्द्र खतिवडा अधिकांश समय मोटरसाईकलबाटै यात्रा गर्छन्। मेची राजमार्ग पाँचथरसहित इलाम, ताप्लेजुङ र तेह्रथुमको पूर्वीभेगका नागरिकलाई लाइफलाइन नै हो। पुर्वी तराईसँगको सम्पर्क यही मार्गले जोडेको छ। खतिवडा जस्तै सयौले यो मार्गको फिदिमदेखि झापाको चारआली खण्डलाई साढे ३ घन्टामा पार गर्थे। अहिले यो समय कथा जस्तै भएको छ। 

ठाउँठाउँमा सडक  भत्किएको छ। सडक टुटेको छ। अहिले त्यहीँ बाटो कटाउन ५ घण्टा लाग्छ। चारपाङग्रे सवारी पनि पहिला जस्तो हुँइकिन पाउँदैनन्। ४ घन्टामा बिर्तामोड नै पुगेका सवारी चालक अहिले कम्तीमा ५ देखि ६ घण्टा छुट्यानु पर्ने बताउँछन्। यसले आपतकालिन स्वास्थ्य उपचारसहितको अत्यावश्यक कामका लागि तराई झर्नेहरु धेरै मारमा पर्ने गरेका छन्।  

झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ। इलामको माईखोलादेखि सुरु भएको अवरोधको क्रम पाँचथरको काबेलीसम्म करिव करिव उस्तै छ। जेनतेन सवारी त कुद्छन तर सहज यात्रा भने छैन।

कहाँ कहाँ छ त अवरोध?

झापा तर्फबाट आउने यात्रुले पहिलो अवरोध इलामको माईखोलामा भेट्छन्। त्योभन्दा पहिला पनि सडक भासिएका र खाल्डा परेका प्रसस्तै स्थानहरु छन्। माइखोलाको अवरोध अहिले भरखरैको हैन। ५ वर्षदेखि त्यो ठाउँमा समस्या जारी छ । पछिल्लो समय सोही ठाउँमा सडक नै बगाएपछि भने समस्या झनै बिकराल बनेको हो। असोजको दोस्रो साता माईखोला क्षेत्रमा करिब एकसाता सडक बिच्छेद नै भयो। जेनतेन अहिले एकतर्फी सञ्चालनमा ल्याईएको छ। माईखोला तरेका यात्रुले राँकेसम्म आईपुग्दा दर्जन ठाउँमा सानातीन अवरोध भेटिरहन्छन्।  

राँके नजिकको पाङग्रेभिरले परिवर्तन गरिदिएको मेची राजमार्गको अवस्था ३ वर्षदेखि उस्तै छ । ठुलै सास्ती झेलेर पाङग्रेभिर कटेका यात्रुलाई फिदिम-२ को रमिते अवरोध नयाँ थपिएको छ । रमितेमा असोजको दोस्रो साताको वर्षापछि आएको पहिरोले राजमार्ग ३ ठाउँमा भाँचिदियो । जेनतेन बाटो एकतर्फी खुल्यो । हालका लागि सञ्चालनमा रहे पनि पानी पर्नासाथ के हुन्छ भन्न गारो छ ।

रमिते कटेका यात्रुले होवाँ खोलामा थप सास्ती भोग्छन । हेवाँ खोलामा पुल छैन । तत्कालै बेलिब्रीज हाल्ने र त्यो संगै पक्की पुल हाल्ने चर्चा भने जारी छ । अघिल्लो वर्ष त्यसरी नै खोलाले बगाएर बनाएको बेलिब्रिज फेरि बगाएपछि थप अध्ययनको चरणमा सरोकावालाले काम गरिररहेको दाबी गरिएको छ ।

अस्थायी डाईभर्सन पार गरेर उकालो लागेका यात्रुले हिलिहाङ ७ घ्याप्पेको सामना गर्छन्। यो क्षेत्रका नागरिक त घ्याप्पेको हरेक वर्षको बैमानीले आजित नै छन्। करिव ३ सय मिटर खण्ड हरेक वर्ष बगिरहन्छ । मेची राजमार्ग खुलको करिव २० वर्षयता यो ४ पटक सरी सकेको छ । हरेक वर्ष २ देखि ३ मिटरका दरले सडक नै तल सर्छ जस्का कारण दायाँबाँयाको सडक र सरेको भाग नमिल्दा सवारी सास्तीमा पर्छन् ।  

पछिल्लो पटक पनि घ्याप्पे खण्ड करिव ५ मिटर सरेको छ । अघिल्लो वर्ष सामान्य मर्मत गरेर केही सहज बनाइएको थियो । फेरि उस्तै अवस्थामा पुगेको छ । घ्याप्पेले हरेक वर्ष यसरी नै दु:ख दिईरहन्छ । घ्याप्पे कटेपछि भने यात्रुले मेची राजमार्गमा केही सहज महसुस गर्छन् तर जोरपोखरी-गोपेटार खण्डमा सडकको अवस्था बिग्रिएको छ । यी अवरोध मुख्य हुन । तत्कालको अवस्था हेर्ने हो भने मेची राजमार्गमा सय भन्दा बढी ठाउँमा तुरुन्तै सुधारको आवश्यकता देखिन्छ ।  

के हेरिरहेको छ नियामक निकाय?

मेची राजमार्ग सडक डिभिजन इलामले हेर्छ । डिभिजनसँग सडक सुधारको आफ्नै तौरतरिका छ । पूरा भएका सडकको स्थायित्वका लागि ३ प्रकारको सुधार कार्यक्रम डिभिजनले चलाउँछ । पहिलो नियमित मर्मत । यसमा सडक सामान्य अवस्थामा भएको बेला नाली किल्यर गर्ने, सामान्य अवरोध हटाउने सहितका नियमित काम पर्छन् ।  

दोस्रोमा पर्छ टाल्ने काम । यो वर्षमा २ पटक गरिन्छ । तेस्रोमा ५ देखि ६ वर्षको बीचमा गरिने आवधिक मर्मतको काम हुन्छ जुन अघिल्ला दुई समस्याभन्दा ठुला समस्या समाधानका लागि गरिन्छ । हरेक वर्ष यी काम भएको डिभिजनको दाबी छ । तर मेची राजमार्गको अवस्था दिनानुदिन बिग्रदो छ।

 

मेची राजमार्गलाई डिभिजनका यी तयारीभन्दा अरु थप कार्यक्रम अघि सार्नु पर्ने दबाब छ । त्यसका लागि डिभिजनले आपतकालिन मर्मत भनेर कार्यक्रमको प्रस्ताव गरेको छ । मेची राजमार्गलाई मात्रै आपतकालिन मर्मतमा करिव ४० करोड रुपैयाँ जरुरी पर्ने प्राविधिक सुझाव सहित डिभिजनले उपल्लो निकायमा सुचना गरिसकेको छ । बजेट व्यवस्थापन भए पहिलेकै अवस्थामा राजमार्ग फर्काउन सकिने डिभिजन प्रमुख पवन भट्टराईको भनाई छ।  

'खासमा यो राजमार्ग पुन: निर्माण गर्नु पर्ने चरणमै पुगेको हो,' डिभिजन प्रमुख भट्राईले भने, 'तर त्यो सम्भव नहुँदा हाललाई आपतकालिन मर्मतमा जान सके राम्रो हुने हो ।'

अव के हुन्छ त?

डिभिजन सडक आयोजनाले प्रस्ताव गरेको बजेट पास भए काम हुने देखिन्छ । तर जनप्रतिनिधि भएका सडकको स्थायित्वभन्दा पनि नयाँ सडकमा केन्द्रित देखिन्छन । पाँचथर सहितका जिल्लाको मुख्य मार्गका बारेमा केन्द्रमा कुरा राख्ने दोर्याउने जनप्रतिनिधि छैनन् । अरुले नै भनिदिएका भरमा यहाँका नागरिकले सेवा लिन पाउँछन् भन्ने अवस्था छैन । विभाग र मन्त्रालयमा हुने लबिङले योजना पर्नमा ठुलो सहयोग हुने कुरा आम भईसक्यो । सोही कामका लागि डिभिजनको प्रस्ताव स्वीकृत गराउने तर्फ जनदवाबको खाँचो देखिएको छ ।

प्रकाशित: ५ मंसिर २०८१ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App