शुक्रबार राति आकाशमा पूर्णिमाको चन्द्रले उज्यालो छरेको थियो। त्यही साँझ भक्तपुरका किसान मठमन्दिरअगाडि चन्द्रमाभन्दा चम्किला अन्नका कलाकृति पस्कँदै थिए। घरी आकाश घरी धर्ती नियाल्दै किसानका मुस्कुराएका अनुहार पूर्णिमाको चन्द्रमाभन्दा चम्किला देखिए।
खेतीयोग्य जमिन मासिँदै गएको समयमा थोरै भए पनि भकारीमा धान भित्र्याएका यहाँका किसानले भुटेको अन्नद्वारा मठ, मन्दिर र भगवान्का विभिन्न आकृति कोर्दा पूर्णिमाको रात आकाश मात्र होइन, धर्ती पनि चम्किलो बन्यो। घरघरमा उसिनेको पिँडालु खाएर ‘सकिमना पुन्ही’ मनाएका उनीहरूले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्केट रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाए।
भुटेका गेडागुडी र मिठाइका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धाले थुप्रैको मन लोभ्यायो। पूर्ण चन्द्रको उज्यालोमा अन्नको आकृतिसँगै पालामा बालिएका दियाहरू आकाशमा तारा जगमगाएजस्ता देखिन्थे। आकाश र जमिन एकैजस्तो लाग्थ्यो।
संस्कृतिविद् ओम धौभडेल किसानले आफूभित्र लुकेर रहेको कलालाई अन्नमार्फत प्रस्तुत गर्ने यो दुर्लभ कलाकारिताले सबैको मन हर्ने सुनाउँछन्। अन्नले भकारी भरिएपछि किसानद्वारा सिर्जित यो कला अन्यत्र विरलै देख्न पाइने उनले बताए। ‘सामान्य किसानले पनि अन्नका दाना खेलाउँदै विभिन्न आकृति बनाउँछन्,’ उनले भने, ‘धर्तीको थालमा कला पस्केसँगै उनीहरूको अनुहार पनि चन्द्रमाजस्तै हँसिलो हुन्छ।’ यो चित्रकलाले यहाँका प्राचीन वैभव झल्काउने उनले सुनाए।
भक्तपुर टौमढीस्थित पाँचतले एवं भैरव मन्दिरअगाडि भुटेको गेडागुडीबाट बिस्केट जात्रामा उभ्याइने लिंगो र भैरव रथको आकृति निर्माण गरिएको थियो। त्यसैगरी यातु गणेशमा पनि भुटेको मकै, भटमासबाट भुइँमा देवताको आकृति बनाइएको थियो। जिल्लामा रहेका अन्य मन्दिरका आगाडि पनि अन्नबाट विभिन्न विम्ब निर्माण गरिएको थियो।
समुदायमा रहेका गुठी, दाफा भजनले आआफ्नो टोलमा रहेको देवदेवीको मन्दिरअगाडि निर्माण गरिएका आकृतिसामु भजनकीर्तनसमेत गरे। ठुलो एकादशी मानिने हरिबोधिनी एकादशीको पाँच दिनपछिको पूर्णिमा यहाँका किसानका लागि महŒवपूर्ण मानिन्छ।
सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मानिने यो पर्व मौसमसँग सम्बन्धित छ। जाडो याम सुरु भएको संकेतका रूपमा यो पर्व मनाइने गरेको मान्यता छ।
प्रकाशित: १ मंसिर २०८१ ०७:२१ शनिबार