‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी....’ लगायतका आ-आफ्ना इष्ट देवताकोको नाम जप्दै धामी झाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन्।
धनुषा र सिराहा जिल्लाको सिमाना छुट्ट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ गाउँ गाउँबाट भुतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको थियो।
कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भुतमेला लाग्ने गर्छ।धनुषासहित सिराहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठुलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्। कमला नदीमा स्नान गरेपछि धामी झाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नको लागि गाउँघरबाट शुक्रबार बिहानैदेखि कमला नदीको तटमा पुगेका थिए।कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ।
भुतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गा सागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्दछन्। मूल धामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धीका लागि यस दिन पूर्णाहुति दिने चलन छ। मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरू हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा)र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन्।
धामी झाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच यिनीहरूको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण हेर्न सकिन्छ। स्नानको समयमा मूल धामीले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ। तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहने गरेका छन्।
प्रकाशित: ३० कार्तिक २०८१ १६:३३ शुक्रबार