७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

शेखर कोइराला भन्छन् :माङ्सेबुङ क्षेत्र विकास समिति बनाउनुपर्छ

नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्। पशुपतिनाथको जस्तै माङ्सेबुङको पनि क्षेत्र विकास बनाएर प्रचार–प्रसार गर्नुपर्ने कोइरालाको भनाइ छ।

इलामको सन्दकपुर गाउँपालिका–४, माबुको हाङ्मादिनमा आयोजित राष्ट्रिय विभूति तथा किरात धर्मगुरु फाल्गुननन्दको १४०औँ जन्म जयन्ती समारोह उद्घाटन गर्दै कोइरालाले माङ्सेबुङले धार्मिक र पर्यटन विकास सघाउने बताए।

‘म पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्छु, सरकारले गर्नुपर्छ, माङ्सेबुङलाई पनि पशुपतिनाथजस्तै क्षेत्र विकासका रूपमा विकास गरियोस्,’उनले भने, ‘संस्कृति व्यक्ति र समुदायको पहिचान हो, म सधैँ तपाईँहरूको साथमा छु।’

कोइरालाले धार्मिक र आध्यात्मिक क्षेत्रको तपो भूमि नेपाल समस्त मानव जातिको आकर्षणको केन्द्रका रूपमा रहेको भन्दै यस क्रममा फाल्गुननन्दको अवतरणले ज्ञान र चेतनाको प्रकाश विस्तार गरेको बताए।

‘नेपाल इतिहासदेखि नै उत्तर र दक्षिणबाट आउने विविध जाति, धर्म र संस्कृतिको संगमस्थल समेत बनेको छ,’ उनले भने, ‘विश्वका अनेकन् धर्म, संस्कृति र सभ्यता विभिन्न कालखण्डमा उदाए र अस्ताए तर यो भूमिमा किरात धर्म–संस्कृति परापूर्व कालदेखि उदाएर नेपाल मात्र नभई विश्वमा फैलिन सफल भएकामा हामीले गौरव गर्नुपर्छ।’

हाङ्मादिनमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन समेतको उपस्थितिमा आज फाल्गुननन्द जयन्ती मनाइँदैछ। 

प्रकाशित: २५ कार्तिक २०८१ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App