२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

सुरुङ् खनेर झुम्का र सिन्धुपाल्चोकबाट भागेका कैदी पक्राउ

१२ वर्षअघि ८० फिट लामो सुरुङ् खनेर झुम्का कारागार र त्यसको तीन वर्षपछि सिन्धुपाल्चोकबाट भागेका एक जना कैदीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।  

कर्तब्य ज्यान र हातहतियार एवम् खरखजना मुद्दामा कैद सजाय भोगीरहेका सुनसरीका विनायककुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो।उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

विनायक पहिलोपल्ट २०६९ कार्तिक २३ गते राति प्रहरी–प्रशासनको आँखा छलेर झुम्का सुनसरी कारागारबाट सुरुङ् खनेर भागेका थिए। त्यतिबेला कारागारभित्र फर्निचरको सामान बनाउँन र ढाका टोपी बन्नुका लागि आवश्यक हतियार दिएको फाइदा उठाएर उनीसहित १२ जना कैदीबन्दी झन्डै ८० फिट लामो  सुरुङ् खनी डियूटीमा खटिएका प्रहरीको आखा छलेर भागेका थिए।  

सुरुङ् खनेर भागेको केही समयपछि उनलाई प्रहरीले सप्तरीले गोबरगाड़ाबाट पक्राउ गरेर सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाएको थियो। त्यहाँबाट पनि उनी २०७२ वैशाख १२ गते राति भागेका थिए।  

यादव भारतको विहार राज्य सुपोल जिल्ला शिवनगर ग्राम पञ्चायत रानीगञ्जमा वहिनीको घरमा बस्ने गरेको सूचना पाएसँगै सुनसरी प्रहरीले निगरानी बढाउँदै आएको थियो।जसमा भारतबाट नेपालमा छठमनाउन आउने क्रममा नेपाल भारत सिमा नजिक कोशी गाउँपालिका वडा नं. ८ स्थित पथरचट्टान भन्ने ठाउँबाट जिल्ला प्रहरी कार्यालयसुनसरी र प्रहरी चौकी कोशी ब्यारेज सुनसरीको संयुक्त टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए।उनलाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा घुँडामुनि  एक राउण्ड फायर गरेको र उनी आतिएर ढलेकाले गर्दा पक्राउ गर्न सहज भएको तिमल्सिनाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।  

यादव र उनका साथी श्यामकुमार यादवले सुनसरी साविक प्रकाशपुर वडा नं. ६ का  पलबहादुर कार्कीको छोरा ३९ वर्षका केशव कार्कीलाई २०६५ वैशाख १६ गते गोली प्रहार गरी घाईतेबनाएका थिए।कार्कीको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।उनलाई कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट २० वर्ष आठ महिना १४ दिन सजाय फैसला भएको छ। 

प्रकाशित: २३ कार्तिक २०८१ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App