९ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

देशकै पहिलो ‘फ्लाई ओभर’ को निर्माण अन्तिम चरणमा

ललितपुरस्थित ग्वार्काे चोकमा बनिरहेको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २०७९ मंसिर २३ शुक्रबारबाट सुरु भएको काम अन्तिम चरणतिर पुगेको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर प्रभातकुमार झाले काम सकिने क्रममा रहेको जनाए।

ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाइएको थियो। त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण सुरु गरिएको थियो। नेपालको सडक सञ्जालअन्तर्गत बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो।

आयोजनाको ठेक्का आरसी, समानान्तर र रेलिग्रेले पाएका थिए। समानान्तर जेभीका सञ्चालक अच्युत खरेलले निर्माण कार्य एकदुई महिनाभित्रै सकिने जानकारी गराए। ‘अब कोटेश्वरतिरको सकिने प्रक्रियामा छ’, उनले नागरिकसँग भने, ‘अब छिटै सकिने प्रक्रियामा छ।’

दसैं, तिहार र दुईदिने बेमौसमी वर्षाका कारण काम अलि ढिलाजस्तो भएको तर अहिले कामलाई तीव्रता दिइएको उनले बताए।

इपिसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन ०७८ टेन्डर आह्वान गरिएको थियो। त्यसपछि माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभी त्यसमा छनोट भएका थिए। त्यसलगत्तै ठेक्का सम्झौता गरी निर्माण कम्पनीहरूले फागुन ०७८ देखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए। आयोजनाको डिजाइन सडक विभागबाट स्वीकृति भएको थियो।

फ्लाई ओभरको कुल लम्बाई चार सय ९० मिटर हुनेछ। त्यसमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम बनाइने छ। बीचको सुपर स्ट्रक्चरको लम्बाई भने ३५ मिटर लामो हुनेछ। फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको हो।

चक्रपथको यो खण्ड हाल आठ लेनको छ। त्यसमा बीचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइने छ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन्।

मंगलबजार–इमाडोल–मंगलबार आवतजावत गर्ने सवारीसाधनले भने फ्लाई ओभरमुनिबाट जानुपर्ने छ। सरकारकै लगानीमा फ्लाई ओभर बन्ने छ। त्यसमा १७ करोड ६८ लाख रूपैयाँ लगानी गरिएको छ।

निर्माण कम्पनीसँग सोहीअनुसार नै ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीसँग दुई वर्षको अवधिसहित ठेक्का सम्झौता गरिएको छ। त्यसमा डिजाइन बनाउन नौ महिना समय लागेको थियो। १४ महिनाको समय तोकेर ट्राफिक कार्यालयमा पत्र पठाएको थियो।

सडक विभागले २७ माघ, २०७८ मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्धारित समयअनुसार काम भएमा २०८० फागुनभित्र ओभरपास बनिसक्नुपथ्र्याे। आशिष, रेलिगे्र, समानान्तर जेभीसँग ओभरपास निर्माणका लागि १७ करोड ६ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो भने ओभरपास निर्माणको पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत–सम्भार गर्ने गरी सम्झौता भएको थियो।

प्रकाशित: २२ कार्तिक २०८१ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App