१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

बगर बनेको जुम्लाको नेत्रज्योति मावि पुरानै अवस्थामा फर्कियो

गोल्डेन बुढा जुम्ला

२०७८ साल कार्तिक १ गते परेको अविरल वर्षाले जुम्लाको तातोपानी गाउँपालिका ४ ठाँटाचौरस्थित नेत्रज्योति माध्यामिक विद्यालय हाँकु  बगरमा परिणत भएको थियो।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालय बगर बनेपछि नामनिशान छुट्याउनै गाह्रो भयो।विद्यालयको भवन, घेराबारा, फर्निचर, खानेपानी र खेलमैदान एकैपटक बाढीले बगाएर लियो। विद्यालयमा गिट्टी बालुवा र सेता ढुंगाहरु देखिन थाले।

विद्यार्थीहरु लामो समय विद्यालय आउन सकेनन्।पठनपाठन भने प्रभावित बन्यो,तर चार वर्षपछि विद्यालयका संरचनाहरु पुरानै अवस्थामा फर्किएका छन्।अहिले विद्यार्थीहरु निर्धक्कपुर्वक विद्यालयमा पढ्न आउने वातावरण बनेको छ।विद्यालयले १४ कोठे पक्की भवन बनाएको छ ।अपाङ्गमैत्री सो भवनका हरेक कोठाहरु डेक्स बेन्चहरु समेत आकर्षक छन्।

प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले बाढीले बगर बनेको विद्यालयलाई चार वर्ष लगाएर पहिलेकै अवस्थामा फर्काउन सकिएको बताए।उनका अनुसार बाढीले विद्यालय क्षेत्र बगर बनेपछि विद्यार्थी ह्वात्तै घटे।खोलानाला नजिकैको विद्यालयमा जतिबेला पनि बाढी पस्ने सोचले विद्यार्थी संख्या न्यून देखिन्छ। सबैलाई अब फेरि विद्यालय पुरानै स्वरुपमा फर्किएला कि नफर्किएला भन्ने थियो, उनले भने, तर ढिलै भएपनि लयमा फर्काउन सफल भएका छौँ। यो खुसीको कुरा हो।

बाढी जानुपूर्व त्यो विद्यालयमा ७ सय ८० जना विद्यार्थी थिए।अहिले ५ सय ६० जना मात्र विद्यार्थी नियमित आउछन्।त्यो बेला परेको अविरल वर्षाले गिडिखोलामा भयानक बाढी आएर विद्यालय संरचनाहरु क्षतविक्षत् बनाएको स्मरण गर्छन् न्यौपाने। नेत्रज्योति विद्यालय वि।स।२०२० सालमा स्थापना भएको हो। स्थानीय जयराज डागीका अनुसार ठाउँमा सन् १९८४ सालमा पनि मिल्दोजुल्दो बाढी आएको थियो, तर त्यतिवेला यो ठाउँमा विद्यालय थिएन। त्यतिवेला पनि यो ठाउँमा क्षति गरेको थियो। 

बाढीले विद्यार्थीको भविष्य माथि खेलबाड गर्यो। अभिभावक प्रति निराशा पैदा भयो, प्रधानाध्यापक न्यौपानेले भने, ‘अहिले अत्याधुनिक भवन ठडिएका छन्।बाढीले पुरिएका संरचनाहरु मर्मतसम्भार भइसकेका छन्।अब निर्धक्कपुर्वक पढाउन मिल्ने भएको छ।’आकाशमा बादलको गुल्छा देखिने बित्तिकै,कतिबेला वर्षा हुन्छ,अनि समस्या आइलाग्छ,भनेर विद्यार्थीलाई समयमै घर फर्काउनु  बाध्यता छ।

बाढीले विद्यालयको कक्षाकोठा भित्र पुरै बालुवा र ढुंगा थुपारेको थियो भने झ्याल ढोका फुटेका थिए । डेक्स बेन्च बगाएको दृश्यले विद्यार्थी र अभिभावकहरु निरुत्साहित थिए । ६ सय  ५० वर्गमिटर क्षेत्र रहेको विद्यालयलाई त्यसबेला नमुना विद्यालय बनाउने अभियान थालिएको थियो।

एक करोड ५० लाख रुपैयाँमा पक्की भवन बनिरहेका थिए । डिजिटल प्रविधिको प्रयोग सुरु भइरहेको थियो । प्रधानाध्यापक न्यौपानेले भने, ‘बाढीले न विद्यालय नमुना बनाउन दियो, न त विद्यालय बग्न बाट बचाउन नै सकियो । बरु सुरुदेखि काम गर्नुपर्ने बाध्यता आइलाग्यो ।’विद्यालयको भवन, घेराबारा, खेलकुद मैदान, स्टक गरेर राखेका डेक्स बेन्च, नयाँ भवन बनाउन राखिएका फर्निचर जन्य सामानहरु, सरिया तीन बन्डल, भवन निर्माणका लागि राखिएको काठ, खानेपानी धारा, शौचालय र मञ्च नै बगाएको थियो।घेराबार पर्खाल बग्दा ३५ लाख खेलकुद मैदान बग्दा अनुमानित ६० लाख ,यस्तै, स्टोर गरिएको फर्निचरको आठ लाख, नयाँ निर्माणका लागि राखिएको फर्निचार चार लाख, जस्तापाताको तीन लाख, निर्माण सामग्री फलामे औजार दुई लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माण लागि राखिएका काठ पाँच लाख ५० हजार, राष्ट्रिय झण्डा राख्ने मञ्च ४०, हजार विद्यालयको शौचालय दुई लाख ५० हजार गरि कुल बाढीले एक करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरी मुचुल्कामा उल्लेख छ।

चार करोड भन्दा बढी लागत स्टमेटमा बनिरहेको भवन निर्माणमा तिन करोड १७ लाख रुपैयाँ खर्च भइसकेको छ । नमुना विद्यालय बनाउन केन्द्र सरकारले बजेट दिएको छ।संघीय सरकार शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर अर्न्तगत नमुना विद्यालय गुरुयोजना अनुसार विद्यालयको भवन बनिरहको छ।

यता सिचाइँ डिभिजन कार्यालयले अत्यधुनिक शौचालय र गिडिखोलामा तटबन्ध बनाइदिएको छ।जिल्लाका तीन विद्यालयको खेलमैदान निर्माणको लागि एक करोड १५ लाख रुपैयाँ आइपुगेको छ।जसमा नेत्रज्योति मावि पनि परेको छ।यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुनबहादुर खत्रीले विद्यालयको बाढीले बगाएका भौतिक संरचनाहरु विस्तारै पुरानै अवस्थामा फर्काइएको बताए।

प्रकाशित: २३ कार्तिक २०८१ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App