१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बलेवा–मालढुङ्गा सडक: सम्झौता सकिन एक महिना बाँकी, प्रगति भने ४८ प्रतिशत मात्रै

.

.

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ। कालोपत्रेका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ। तर सडकको प्रगति भने जम्मा ४८ प्रतिशत मात्रै रहेको छ।

निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दासमेत कामले गति लिन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ। दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि बल्ल आधा मात्रै काम भएको आयोजनाले जनाएको छ। बलेवा–मालढुङ्गा खण्डको गलुवामा गएको पहिरोले ट्र्याक बगाउदा करिडोर निर्माणलेसमेत गति लिन नसकेको हो।

म्याद सकिनै लाग्दा आधा मात्रै काम भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका सूचना अधिकारी अरुण खत्रीले जानकारी दिए। उनका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सक्नेगरी कालोपत्र भइरहदा छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकले तीव्रता पाउन नसेकेको हो।  

“सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मङ्सिरमा सम्झौता सकिन्छ, भौतिक प्रगति बल्ल ४८ प्रतिशत पुगेको छ, म्याद नथपि काम नसकिने देखियो”,  सूचना अधिकारी खत्रीले भने, “छ महिना म्याद थपेर निर्माण कम्पनीलाई ताकेता गर्ने हो। चालु आवमै काम सक्ने गरी निर्देशन दिएका छौं।”

सूचना अधिकारी खत्रीका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो। सम्झौता अनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा आधा मात्रै काम गरेपछि स्पष्टिकरणसहित म्याद थप्ने तयारी आयोजनाको छ।

असार मसान्तसम्म कालोपत्र गर्नेगरी कामले तीव्रता दिन थालिएको निर्माण कम्पनी बिडारी कन्ट्रक्सनले जनाएको छ। निर्माण व्यवसायी धुव्र बिडारीले सुरुमा निर्माणले तीव्रता पाए पनि समयमै भुक्तानी नपाउँदा समस्या भएको जानकारी दिए।

“पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। अब कामले तीव्रता पाउँछ, छ महिनाको म्याद मागेका छौं, असार मसान्तभित्र काम सक्ने लक्ष्य छ”,  उनले सुनाए।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भए पनि ४४ किमि सडक कालोपत्रको चरणमा पुग्दा १० किमि सडकमा ढिलाइ भएको हो।

करिडोरका कारण कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना छ। कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो।

कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ।

प्रकाशित: १२ कार्तिक २०८१ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App