११ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ। ‘गौरव’का योजना मानिएका करिब १२ करोडका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका थिए।

गाउँपालिका–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ। सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो। गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्माण सम्पन्न भएको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको बताए।  

१४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको पाँच करोड तथा गाउँपालिकाको  ३८ लाख ६९ हजार खर्च भएको थियो। करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले  पाँच लाख विनियोजन गरेको छ । सङ्ग्रहालय हाताभित्र करिब दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको छ। उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बगेको छ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो। नेपाल सरकारको  ६ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो।

रोशी गाउँपालिका–११, कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ। सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक करोड ६८ लाख र रोशी गाउँपालिकाको  ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको छ।बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ११ कार्तिक २०८१ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App