७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

विपन्नको पीडामा मल्हम लगाउँदै मनहरी गाउँपालिका

विपन्नको परिवारलाई नगदसहित श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्दै पालिका अध्यक्ष कालाखेती लगायत ।

मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको निधन पश्चातको काजक्रियामा आर्थिक सहयोग गर्न सुरु गरेको छ। परिवारका सदस्यको निधन पश्चात काजक्रिया गर्न आर्थिक समस्या झेल्दै आएका विपन्नहरूलाई आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो।

 गाउँपालिकाले यसै आर्थिक वर्षबाट मृतकको घरमै पुगेर काजक्रिया बापतको रकम उपलब्ध गराउन सुरु गरेको हो।यस अवधिमा मनहरी गाउँपालिकाको १६ परिवारलाई काजक्रिया बापतको रकम सहयोग गरिएको छ। प्रत्येक विपन्न परिवारलाई २० हजार रुपैयाँसहित श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने गरिएको छ। वडा कार्यालयले विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजक्रिया बापत २० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरेको हो।

 ‘मनहरी गाउँपालिकामा आर्थिक अभावकै कारण काजक्रिया रोकिने अवस्थाको परिवार पनि छन्। विपन्न परिवारको दुःखमा मल्हम लगाउने प्रयास गरेका हौँ’, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने, ‘कार्यपालिकाको बैठकले निर्णय गरेरै विपन्न परिवारको काजक्रियाका लागि २० हजार रुपैयाँ सहयोग गर्न थालेका हौँ ।

’ गाउँपालिका अध्यक्ष कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, सम्बन्धित वडा अध्यक्षसहितका जनप्रतिनिधि विपन्नको घरमै पुगेर नगद सहयोग गर्दै समवेदना व्यक्त गर्ने गरेका छन्। दुःखको अवस्थामा सहयोग गर्न आएकोप्रति विपन्न परिवारले केही खुसी व्यक्त गर्ने गरेका छन्। ‘आगामी दिनमा पनि विपन्नको काजक्रियामा सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै जानेछौँ। यसबाट विपन्नलाई केही राहत पुगेको महसुस गरेका छौँ’, गाउँपालिका उपाध्यक्ष मगरले भनिन्, ‘दुःख, अप्ठेरोमा परेका पालिकावासीको साथमा हामी सधैँ रहनेछौँ ।’ गाउँपालिकाले विपद्मा परेर ज्यान गुमाएकाको परिवारलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ।

कार्यपालिकाले निर्णय गरेरै विपद्मा ज्यान गुमाएकाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्न सुरु गरेको हो। यस आर्थिक वर्षको हालसम्मको अवधिमा ५ परिवारलाई सहयोग गरिएको मनहरी गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिए। यस वर्षको विपद्मा परेर मनहरीका ५ परिवारले ज्यान गुमाएका छन्। 

प्रकाशित: ९ कार्तिक २०८१ १७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App