२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

सिमलाको सीपले गाउँमा फस्टाउँदै स्याउ खेती

जुम्लाको गुठिचौर गाउँपालिका-४ लक्ष्मीचन्द्र न्यौपाने ६५ वर्षया डाडाबाड गाउँघरको आर्थिक अवस्था कमजोर भएपछि ५७ वर्षकै उमेरमा सीप सिक्न भारत हिमाचलको सिमला पुगे।

२०७३ सालमा सिमला पुगेका उनले झन्डै १५ दिन त्यहाँ मालिकको स्याउ फार्ममा काम गरे। स्याउ लगाउने, विरुवा हुर्काउन, नर्सरी निर्माण गर्ने, विरुवा कलमी गर्ने, ग्राफ्टिङ र काँटछाँट गर्ने सीप सिके। उनले आफ्नो नगद ५० हजार नगद रुपैयाँ खर्च गरेर स्याउ खेती गर्ने सीप भारतको सिमला पुगेको बताए।

न्यौपानेले नि: शुल्क रूपमा काम गरे। मजदुरी गरेबापतको कुनै ज्वाला लिएनन्। सीप सिक्ने अवसरका रूपमा काम गरेको गरे। साँझ र विहानको खाना बस्ने पनि आफ्नो खर्च गरेको सुनाए।

लक्ष्मीचन्द्रले त्यहाँ काम छाडेर अरू मजदुरी काम पनि गरे। तर पराइ भूमिमा जति गरे पनि उन्नति गर्न नसकेपछि घर फर्किएका उनी अहिले आफ्नै गाउँमा स्याउ खेती गरेर कमाइ गरिरहेका छन्।

२०७४ मा घर फर्किएका उनले भारत सिमलामा सिकेको स्याउ खेती गर्ने सीप अहिले गाउँमा प्रयोग गरिरहेका छन्। २०७५ मा लक्ष्मी फलफूल तथा नर्सरी उद्योग संचालन गरे। व्यावसायिक रूपमा स्याउ खेतीमा लागेको बताउँछन्।

समुन्दी सतहदेखि करिब १ हजार ९ सय मिटर उचाइमा रहेको घरदेखि करिब आधा घण्टा दुर (टाढा) पर्ने खाली भन्ने ठाउँमा आफ्नो ३ हजार ९ हेक्टर क्षेत्रफल  रोपनी जग्गामा २ सय ५० बोट स्याउ रोपेका छन्। चक्लेटी, गोल्डेन, रेड डेलिसिएस,रोयल डेलिसिएस र जगन्नाथ जातको स्याउ रोपेका छन्।

उनले लगाएका सबै बोटमा दाना (फल) लाग्न थालेका छन्। ‘पहिलो वर्ष १६, दोस्रो वर्ष ५२, तेस्रो वर्ष ९० हजार र यो वर्ष उनले १ लाख ५८ हजार नगद बुझेँ। यो स्याउ बेचेको रुपैयाँले लत्ताकपडा, नुनतेल, चामल खाने, नातिनातिना र छोराहरू पढ्नेमा लगानी गरेको छुँ,’ उनले भने।

पाखो जग्गामा १० लाख लगानी लगाएर स्याउ खेती गरेका उनले वार्षिक ३ देखि ४ लाख रुपैयाँ कमाउन थालेका छन्। सिमलामा गएर स्याउ फर्ममा काम गर्दा सिकेको सीप घर वरपरका जग्गामा प्रयोग गर्न थालेपछि जुम्लामा स्याउ खेती फस्टाउन थालेको हो।

यस्तै जुम्लाको सिंजा गाउँपालिका-६ जोडु गाउँका लालबहादुर बुढाले ०६४ मा १२ रोपनी बारीमा ३ सय बोट स्याउका रोपे। उनले थालको वर्ष ८ हजार आम्दानी गरे। अहिले उनको बगैंचामा ६ फल्ने स्याउका विरुवा छन्। स्याउबाट उनले हरेक वार्षिक २ देखि ३ लाख आम्दानी गर्न थालेका छन्। स्याउ पाक्ने सिजनमा उनको बगैंचामा फल हेर्न पुग्ने पनि धेरै हुन्छन्।

करिब उनको १ सय ५० हेक्टरमा स्याउ खेती छ। लक्ष्मीचन्द्र र लालबहादुर त उदाहरण मात्रै हुन्, जुम्लाका ८ स्थानीय तह र ६० वटै  वडाका उच्च भेगमा बसोबास गर्दै आएका किसान पछिल्लो समय स्याउ खेतीमा लागेका छन्।

कम उचाइमा पनि फल्ने नयाँ जातका स्याउ आएपछि अन्न बाली छाडेर पनि स्याउ रोप्ने गरेको गुठिचौर-४ खल्लालबाड गाउँका उमेश परियारले बताए। उनले ५ रोपनीमा २५ बोट स्याउका रोपेका छन्। हावापानी मिल्ने र उपयुक्त जग्गामा स्याउ खेती गरेको उनले बताए।

किसानले स्याउ खेती गरे पनि सिँचाइ तथा व्यवस्थापनमा केही कमी देखिएको उनले बताए। यता जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार आठ सय ६२ टन स्याउ निर्यात गरेको छ। यो तथ्यांक अनुसार स्याउबाट जुम्लाले ३८ करोड १० लाख ३० हजार स्याउबाट आम्दानी भएको छ।

जनगणना २०७८ अनुसार १ लाख १९ हजार ३ सय ७७ जुम्लाको जनसंख्या छ।  ३८ हजार ४ सय ८६ हेक्टर खेतियोग्य जमिन मध्ये दुई हजार ६ सय ६७ हेक्टर स्याउ छ। कृषिले २०६४ सालमा एक घर एक बगैचाको अवधारणा ल्याएपछि जग्गा हुने धेरैजसोकोका घरमा स्याउबाट आम्दानी हुने गरेको छ।

जुम्लामा ग्रामीण क्षेत्रका अधिकांश पुरुष भारतको सिमलामा मजदुरी गर्न जाने र स्याउ बगैंचामा काम गरी धेरै कुरा सिकेकाले खेती तर्फ उत्साहित भएका किसानहरू बताउँछन्।

प्रकाशित: २ कार्तिक २०८१ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App