भारतीय वन रक्षकले चलाएको गोली लागेर चार नेपाली घाइते भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
जिल्ला सुरक्षा समितिले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा नेपाल प्रहरीका इन्स्पेक्टर, अनुसन्धान र प्रशासनका अधिकारी रहेको जनाइएको छ।
आइतबार साँझ भारतीय मुर्तिहा जङ्गलका वन रक्षकले प्रहार गरेको गोली लागेर चार नेपाली घाइते भएका थिए। गुलरिया नगरपालिका–८ आशापुरका बलराम लोध, राजेन्द्र पासी, रामा लोध र गोलु लोध घाइते भएका थिए। चार जना मध्ये गम्भीर घाइते भएका बलराम लोधको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार साँझ नै कोहलपुर स्थित शिक्षण अस्पतालमा लगिएको थियो। दाइको पछाडि कुमलगायत भागमा १६ ठाउँमा छर्रा लागेको भाइ रामेश लोधले बताए। उपचारपछि सोमबार साँझ दाइलाई घर ल्याएको उनले जनाए। त्यसैगरी अन्य तीन जनाको शरीरको विभिन्न भागमा छर्रा लागेको छ।
गत असार १ गते भारतीय वन रक्षकले नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा गुलरिया नगरपालिका–८ का खगेन्द्र सुनार भेटिएका थिए। उनी अझै उपचारकै क्रममा छन्। त्यसैसरि २०७९ साल असार १६ गते भारतीय जंगल मुर्तिहामा निउँरो टिप्न गएको बेला वन रक्षकले चलाएको गोली लागेर गुलरिया नगरपालिका–३ बनकट्टीका ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको थियो।
घटना घटे लगत्तै फराकिलो अनुसन्धानको लागि छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
भारतीय वन रक्षकले चलाएको गोलीको विषयमा छानबिन समितिले घाइतेहरूसँग प्रारम्भिक सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ। समितिले उक्त घटनाको बुधबारसम्म टुङ्गो लगाउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित: २९ आश्विन २०८१ १७:२० मंगलबार