६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

सडकले विस्थापित खत्री परिवारको दसैँ दुई दशकदेखि घरविहीन

पाखोबारी नै भए पनि मकै, कोदो, गहुँ टन्नै फल्थ्यो, सागसब्जी र फलफुल हुने नै भयो। घरदेखि नजिकै अँधेरी खोलाको कुलो लाग्ने खेतबाट हिउँदे र बर्खे गरी ६०–७० मुरी धान फल्थ्यो। वर्षभरी परिवारले खाएर, छरछिमेकलाई ऐँचोपैँचो दिएर पनि उब्रेको अन्न बेच्दा २०–३० हजार हात पर्ने हुँदा लुगाफाटा, नुन मसलाको खाँचो थिएन, श्रीमति, छोरा–छोरी सबै खुसी थिए।

सुनेका थिए ‘विकास मात्र आउँदैन, विनाश पनि सँगै लिएर आउँछ।’ त्यस्तै भयो गाईघाट दिक्तेल सडक त्रियुगा नगरपालिका १५ खाँबु रातमाटेका खड्गबहादुर खत्रीका लागि। २०५३ सालदेखि गाईघाटलाई जिरो माईल बनाएर निर्माण सुरु भएको ‘सगरमाथा लोकमार्ग’ सडकले ०६३ सालमा खत्रीको मलिलो र उर्बर खेतबारी मात्र लगेन, घरबास नै उठिबास लगाएर परिवार नै उठिबास लगायो।

गाईघाट–फोक्सिन्टार बीचको रानीबास–अँधेरी खण्डमा पर्ने रातमाटेस्थित खत्रीको साढे ७ रोपनी जमिनसँगै घर, गोठ सबै सडकमा परेपछि उनको परिवार एकाएक सुकुम्बासीमा परिणत भयो। अरु गाउँलेको पनि धेरथोर जमिन काटिएकै हो तर, ३ घुम्ती मार्दा खत्रीको ७ रोपनी ३ आना ३ दाम जमिनको खेतबारीसँगै घर, गोठ काटेपछि खत्री परिवार विस्थापित हुनु पर्‍यो।

‘अहिले १८ वर्ष भयो, त्यो बेलादेखि अहिलेसम्म मेरो परिवारलाई दसैँ आएको छैन हजुर’ टीकाको भोलिपल्ट नागरिककर्मीको सम्पर्कमा आएका ५९ वर्षीय खत्रीले विनय गर्दै भने  ‘पत्रकारबाट न्याय पाईन्छ रे भन्ने सुनेर आएको हजुर ! अरु सबैतिर धाउँदा धाउँदा यतिका वर्ष बित्यो, केही सीप लागेन।’

सडकले घर, खेत सबै उजाडेपछि कतै सुरक्षित ठाउँमा घर जग्गा व्यवस्था गरिदिने आश्वासन भने उनले सबैबाट पाएको स्मरण गरे। त्यसबेला प्रशासन, सडक कार्यालय र गाविस जनप्रतिनिधिले दिए पनि अहिलेसम्म नपाएको खत्रीको गुनासो छ। उ बेला गाईघाट दिक्तेल सडक निर्माणकर्ता डिभिजन सडक कार्यालय लाहानका इन्जिनियर, उदयपुरका प्रमुख जिल्ला अधिकारी, खाँबु गाविसका तत्कालीन अध्यक्ष निन्द्रबहादुर मगर र वडाध्यक्ष तथा ठेकेदारहरुले गुमेको भन्दा बढी नै जमिन दिने भन्दै फिक्री नगर्न आश्वस्त पारेको स्मरण उनले सुनाए।

सिडिओ, इन्जिनियर, अध्यक्ष र ठेकेदारजस्ता आधिकारिक व्यक्तिले भनेको कुरा पत्याएर उनी घर जग्गाको सट्टा भर्ना र क्षतिपूर्तिको आसमा मख्ख हुँदै दुई छोरी र श्रीमति च्यापेर सदरमुकाम गाईघाटमा डेरा बस्न थाले। उता प्रशासन र सडक कार्यालय धाउने क्रम पनि जारी नै राखे। तर, आश्वास बमोजिम आवासका लागि न जमिन पाए न त क्षतिपूर्तिवापत रकम नै।

उसो त उनले सांसद, मन्त्री र नेतालाई पनि पटकपटक आफ्नो पीडा सुनाईसकेका छन्। यो क्षेत्रमा लगातार चुनाव जित्दै आएका, मन्त्रीसमेत भईसकेका प्रतिनिधिसभा सदस्य डा.नारायण खड्का, प्रदेश सांसदहरु हिमाल कार्की, नारायण बुर्जा, काँग्रेस, एमाले र माओबादीजस्ता राजनीतिक दलका नेताहरु सबैलाई उनले आफ्नो पीडा सुनाईसकेका छन्। तर, कसैबाट समाधान पाउन नसकेको गुनासो उनको छ।

डेरा बसाईकै सिलसिलामा खत्रीका कान्छी छोरी र चौथो सन्तान छोरा जन्मिए। परिवार फैलियो तर, आश्वासन अनुसार केही पाउन नसक्दा सुकुम्बासी भएर दसैँ तिहार मनाउन नपाएको दुई दशक बित्न लागेको दुखेसो खत्रीको छ। घरबार विहीन भएकै अवधिमा खत्रीका छोरीहरुको बिहे भईसकेको छ भने श्रीमतिले पनि सदाका लागि छाडेर स्वर्गलोक गईसकेको अवस्था छ। ‘डेरामै जन्मेकी कान्छीसमेत तीनैवटै छोरी आफुआफै बिहे गरेर गए, सबभन्दा पछि जन्मेको छोरो पनि १७ वर्ष लागिसक्यो’ खत्रीको अन्तरहृदयको गुनासो छ ‘तर, अहिलेसम्म मैले न जमिन पाएँ न क्षतिपूर्ति नै।’

०६३ सालयता सडक कार्यालयमा दर्जन बढी कार्यालय प्रमुख फेरिइसके, सिडिओ पनि कति आए कति गए। यो बीचमा डिभिजन सडक कार्यालय लाहानबाट ‘गाईघाट दिक्तेल सडक योजना कार्यालय’ गाईघाटमा खुलेको डेढ दशक बितिसक्यो। तीनवटै कार्यालयमा नयाँ हाकिम फेरिएको खवर पाउनेवित्तिकै कागजात बोकेर उनी दुःख सुनाउन पुगिहाल्छन्। तर, सबैबाट एउटै आश्वासन पाउँछन् ‘तपाँईले जमिन र क्षतिपूर्ति पाउनु पर्ने हो, के रहेछ हेरौँला, अलिबार पर्खनुस्।’

बहुदलको कुरा गणतन्त्र आएर स्थानीयतह पुनर्संरचनापछि साविक खाँबु गाविस त्रियुगा नगरपालिकामा समायोजन हुँदै १५ नं. वडा बन्यो। ०७४ को स्थानीयतह चुनावमा बलदेव चौधरी नगरप्रमुख निर्वाचित भए। स्थानीयतहलाई अधिकारसम्पन्न बनाइएको भन्दै नगरले काम गरिदिन्छ भन्ने सुनेर कागजपत्र बोकेर मेयर चौधरीकहाँ दुःख बिसाउन पुगे खत्री।

मेयर चौधरीले तत्काललाई बसोबास गरिराख्न, अरु विस्तारै मिलाउँने भन्दै १३ नं. वडा भातीखर्कमा २ कठ्ठा ऐलानी जमिन देखाईदिए। त्यहीँ छाप्रो हालेर एक हल गोरु पाल्दै बस्न थालेका खत्रीलाई अहिले जग्गाधनीले तत्काल छाप्रो उठाएर लान ताकेता गर्दै अत्यथा भत्काई दिने चेतावनी दिएपछि बृद्धाबस्थाका खत्री बिलखबन्दमा पर्दै विभिन्न कार्यालय र व्यक्तिको पाउ मोल्दै हिड्नु परेको छ।

हालका मेयर बसन्त बस्नेतले खत्री अन्यायमा परेको स्वीकार्दै नगरपालिकाले कतै जमिन खोजेर बस्ने व्यवस्था मिलाईदिने बताएका छन्। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पनि सडकले घर जमिन लगेको भए मुआब्जा दिनुपर्नेमा किन दिएन बुझेर क्षतिपूर्ति दिलाउने आश्वासन दिएका छन्। गाईघाट दिक्तेल सडक योजना प्रमुख पशुपति ज्ञवालीले आफु भर्खर सरुवा भएर आएकाले वास्तविक्ता के हो बुझेर न्याय दिलाउने बचन दिएका छन्।

प्रकाशित: २८ आश्विन २०८१ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App