२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सडकको अवरोध खुलेसँगै ताप्लेजुङको पाथीभरा मन्दिरमा आउने दर्शनार्थी बढ्दै

अवरुद्ध बाटो खुलेर यातायात सुचारु भएपछि ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शनार्थीको संख्या बढ्न थालेको छ। सोमवार मन्दिर दर्शनका लागि करिव ४ सय दर्शनार्थी मन्दिर पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

साँझसम्म नै मन्दिरको दर्शन हुने भएकाले अबेर सम्म्मा यो संख्या अझ बढ्न सक्ने महतले बताए। आइतवार करिव अढाई सय दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए। दशैं आखिरी समयमा आएको र अवरुद्ध सडक खुलेर यातायात समेत सुरु भएकाले पाथीभरा मन्दिरमा अब दर्शनार्थी बढ्ने महतको बुझाइ छ।

‘तिर्थालुहरूले माथिल्लो फेदीका होटलहरूमा सम्पर्क गरी खाने बस्ने ठाउँको खोजी गर्न थाल्नुभएको छ’ मन्दिरमा दर्शनार्थी बढ्ने संकेत गर्दै उनले भने। असोज १२ गतेदेखि परेको अविरल वर्षापछि मेची राजमार्गका विभिन्न स्थानमा सडक अबरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको थिएन।

यस्तै तमोर करिडोर खण्ड समेत केही दिन अवरुद्ध हुँदा ताप्लेजुङसम्मको सोझो यातायात सम्पक विच्छेद भएको थियो। ताप्लेजुङ–पाँचथर सडक खण्डको हेंवाखोलामाथिको बेलिबिज्र बगाएपछि ताप्लेजुङ–पाँचथर आउजाउ बन्द थियो।

उता तमोर करिडोरको नावाखोलामा पानीको सहत बढेपछि सोभन्दा यताको भागमा समत सिधा यातयात सम्पर्क हुन कठिन थियो। पाँचथरको रमिते र इलामको राजदुवाली खण्डमा समेत पहिरोले सडक नै बगाएपछि यातयात अवरुद्ध थियो।

अहिले ती सबै क्षेत्रको अवरोध अस्थायी रूपमा समाधान भएको छ। पाँचथरको हेंवाखोलामा अस्थायी डाइभर्सन बनाएर हेंवाखोला माथिबाट सवारी कुद्न सक्ने अवस्था छ। उता नावाखोलामा समेत पानीको सतह घट्दा खोलाबाटै सवारी आवतजावत सुरु भइसकेको छ।

मेची राजमार्गको बिर्तामोड–इलाम–फिदिम हुँदै ताप्लेजुङसम्म आउन कुनै समस्या छैन भने तमोर करिडोरबाट पनि यातायातमा तत्काल कुनै समस्या रहेको छैन। यो अवस्थामा अब पाथीभरा मन्दिरको दर्शनमा आउने तीर्थालु तथा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

सडक अवरुद्ध हुँदा नवरात्रको समयमा भने पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या ज्यादै न्यून थियो। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले अहिले ताप्लेजुङको पाथीभरा मन्दिर आउजाउ गर्ने सडकमा कुनै समस्या नरहेको बताउँदै तीर्थालुलाई ढुक्क भएर मन्दिरको दर्शन गरी फर्कन सक्ने वातावरण तयार भएको बताए। 

प्रकाशित: २८ आश्विन २०८१ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App