२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

राँगाले लखेटी-लखेटी लियो शिक्षकको ज्यान

मृतक धनञ्जय आचार्य

पोखरामा राँगाले हान्दा बुधवार एक जनाको ज्यान गएको छ । राँगाको आक्रमणमा परी पोखरा महानगरपालिका–३३ मा स्थायी घर भई पोखरा–१७ बिरौटा बस्दै आएका धनञ्जय आचार्यको मृत्यु भएको हो । सहोदर माइला दाजुको सुरौदीस्थित भैँसी फारममा पालो दिन गएका उनलाई राँगाले आक्रमण गरेको थियो । 

राँगाको आक्रमणबाट बच्न झाडीमा लुके पनि उनी बच्न सफल नभएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अपराह्न ४ बजेतिर आफूलाई राँगाले लखेटेको र अहिले ‘झाडीमा लुकेर बसेको छु’ भन्दै श्रीमतीलाई फोन गरेका थिए । त्यसपछि उनको खोजी भए पनि सम्पर्क हुन सकेको थिएन । दाजुभाइ तथा आफन्तले सुरौदी पुगेर रातभर खोजी गर्दा पनि उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

तर प्रहरी नपुग्दै धनञ्जयको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । उनको शव गोठ भन्दा करिब डेढ घण्टा परको दुरीमा पर्ने सुरौदी खोला किनारमा फेला परेको स्थानीयले जानकारी दिएका छन् । शव भेटिएको स्थान भन्दा माथिल्लो गरामा कोट र त्यो माथिल्लो गरामा मोबाइल फोन भेटिएको बताइएको छ ।

मृतक आचार्य पोखरा–३३ कै जनचेतना माध्यमिक विद्यालयका स्थायी शिक्षक हुन् । उनले बिहानी समयमा पोखराकै सिर्जना बोर्डिङ स्कुलमा समेत अध्यापन गर्ने गरेको बुझिएको छ ।

घटनाको मुचुल्का स्याङ्जा प्रहरीले बनाएको छ । घटनास्थल स्याङ्जा जिल्लामा पर्ने भएकाले मुचुल्का पनि सोही जिल्लाको प्रहरीले बनाएको हो । राँगाको पाइलाको डोब, शरीरमा सिङले उधिनेर बनाएको घाउलगायतको चिह्न देखिएकाले आचार्यको राँगाले नै हानेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ आश्विन २०८१ १७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App