२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पर्वतारोहीको शव ल्याउन समस्या

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ ।  

प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले शव ल्याउन बुधबार हेलिकप्टरमा धौलागिरि गएको शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गरेर मात्र फर्किएको जानकारी दिए ।  

“हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ”, उनले भने, “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरी घटनास्थलबाट ल्याउने प्रयास असफल भएको छ ।”

आधार शिविरको ‘हाइक्याम्प’मा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।  

प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मङ्गलबार भेटिएको थियो । आइ एम टे«कीङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रुसका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।  

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धौलागिरि आरोहणको अनुमति लिएका थिए । 

प्रकाशित: २३ आश्विन २०८१ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App