१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमन जारी राख्ने

प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाई हुने जानकारी गराएको हो ।

सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।

चाडपर्वहरुले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम भूमिका हुने काउन्सिलले जनाएको छ ।

चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना-अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतङ्कलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले विदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको बताए ।  

काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न-नगराउन सञ्चारकर्मी, आम पत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आग्रह समेत गरेको छ ।

प्रकाशित: २३ आश्विन २०८१ १७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App