२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पिताकै पदमार्गमा माैरिसपुत्र माथिएस

पाेखरामा मौरिस पुत्र माथिएस। तस्वीर साैजन्य: ललित गुरूङ

फ्रान्सेली नागरिक मौरिस हर्जोगले ७४ वर्षअघि पहिलो पटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए। उनले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए। आठ हजार मिटरभन्दा अग्लो हिमालको चुचुरोमा मानव पाइला परेको त्यो पहिलो दिन थियो। हर्जोगसँगै अर्का आरोही लुई लिचेनेल पनि थिए।

अन्नपूर्ण हिमालमा मानव पाइला परेको तीन वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथा आरोहण भएको थियो। अन्नपूर्णमा पहिलो पटक मानव पाइला परेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रूपमा मनाइन्छ। हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १०औं स्थान (८,०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यावसायिक सुरुवात भएको मानिन्छ। उनै हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमा थप चर्चा पाएको थियो। त्यसकै कारण अहिले पनि हिमाल आरोहणमा विदेशी आरोहीको चासो बढ्ने गरेको छ।

हिमाल आरोहणमा कीर्तिमानी राखेका हर्जोगका छोरा माथिएस यतिबेला पोखरामा छन्। केही दिनअघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्र पदयात्रामा जाने योजना छ। अन्नपूर्ण आधार शिविरबाट हरेक वर्ष सुरु हुने अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङका अनुसार हर्जाेगले अन्नपूर्ण फेरोसहित अन्नपूर्ण आधार शिविर (एबिसी) सम्मको पदयात्रा जाने योजना बनाएका छन्।

‘पिता मौरिसले अन्नपूर्णलाई विश्वभर चिनाए। त्यही पहिचानका कारण अहिले नेपालमा बर्सेनि सयौं आरोही हिमाल आरोहण गर्न आउँछन्। पिताले अन्नपूर्ण प्रथम आरोहण गरेको ७५औं वार्षिकोत्सवका अवसरमा गरिने विशेष कार्यक्रमको तयारीका लागि छोरा माथिएस नेपाल आएका हुन,’ गुरुङले भने, ‘बुबा पुगेको चुचुरोमा जान नसके पनि फेंदीसम्म जाने उनको योजना छ। उनको यो भ्रमणले पर्यटन क्षेत्रमा थप बल पुग्नेछ। अझ धेरै आरोहीलाई नेपाल आउन बल पुग्नेछ।’

पिताले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा नेपालमा हुने विशेष कार्यक्रमको तयारीका लागि यहाँ आएका माथिएस झन्डै तीन महिना नेपालमै रहने जानकारी गुरुङले दिए।

‘लम्जुङको बेंसी सहरबाट सुरु गरेर मनाङ हुँदै मुस्ताङ ओर्लेर अन्नपूर्ण फेरो घुम्ने माथिएसको योजना छ। त्यसपछि उनी एबिसी क्षेत्रको पनि पदयात्रामा जानेछन्। उनको योजना अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा गरिने कार्यक्रमलाई अझ भव्य बनाउने हो,’ गुरुङले भने, ‘उनी एक साताअघि मात्र नेपाल आएका हुन्। यतिबेला पोखरामा आराम गरिरहेका उनलाई फ्रान्स सरकारले नै पठाएको हो।’ केही दिन पोखरामा रहेर माथिएस अन्नपूर्ण राउन्डको पदयात्रामा जानेछन्।

‘अन्नपूर्ण डे’ का अवसरमा अयोजना हुने विशेष कार्यक्रमको तयारीका लागि आएका उनले पोखरामा सरोकारवालासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। ‘हामीले पनि हरेक वर्ष पहिलो पटक अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको दिनको सम्झनामा एबिसीदेखि सुरु हुनेगरी म्याराथन प्रतियोगिता गरिरहेका छाैं। त्यसैमाथि मौरिसले आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ। आगामी जुन ३ मा हुने उक्त कार्यक्रमलाई अझै भव्य बनाउने योजना हो,’ उनले भने, ‘अहिले घुमेर स्वदेश फर्किने माथिएस जुन ३ लाई केन्द्रमा पारेर फेरि आउनेछन्।’ माथिएस ३० वर्षअघि पनि नेपाल आएका थिए।

‘माथिएसको आगमन पर्यटन क्षेत्रका लागि राम्रो हो। उनकै पिता मौरिस हर्जाेगले अन्नपूर्णलाई चिनाए। अन्नपूर्ण हिमाल मात्र नभई समग्र अन्नपूर्ण क्षेत्र चिनियो,’ उनले भने, ‘आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न सकिन्छ भनेर उनले प्रमाणित गरिदिएकाले अरूका लागि बाटो खुलेको हो।’ माथिएसको भ्रमणले अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो हुने गुरुङले बताए।

माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले त्यस क्षेत्रको पहिचान अन्तर्राष्ट्रिय जगत्मा थप फराकिलो हुने विश्वास गरिएको छ। ‘अन्नपूर्ण क्षेत्रलाई विश्वमै परिचित गराउन मौरिस हर्जाेगको योगदानको सर्वत्र कदर भइरहेको छ। बुबाले बनाइदिएको त्यो पहिचानलाई छोराको भ्रमणले थप फराकिलो बनाउनेछ,’ गुरुङले भने।

प्रकाशित: २१ आश्विन २०८१ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App