२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोसीमा विपद् प्राधिकरण गठन गर्न माग

कोसी प्रदेशमा विपद् प्राधिकरण गठन गर्न एमालेले माग गरेको छ। सत्तारुढ एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईको नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई शनिबार ध्याकर्षणपत्र बुझाउँदै प्रदेशमा विपद् प्राधिकरण गठन गर्न माग गरेको हो।

पत्रमा प्रदेशमा विपद् प्राधिकरण गठन गरी उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम सुरु गर्न नेकपा एमाले कोसी प्रदेश कमिटीको तर्फबाट प्रदेश सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको उल्लेख छ।

ध्यानाकर्षण पत्रमा विपद्का बेलामा तत्काल मृतकका परिवारलाई राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरूको खोजी, विस्थापितको पुनःस्थापना गर्न माग गरेको हो। यस्तै बालिनाली नष्ट भई विस्थापित भएकाहरूलाई आवश्यक खाद्यान्न, लत्ताकपडासहित राहतको व्यवस्था गर्न माग गरेको छ। बाढीपहिरोले क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको तत्काल मर्मतसम्भार र पुनर्निर्माणमा ध्यानकेन्द्रित गर्न प्रदेश सरकारलाई एमालेले ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश मुख्यमन्त्री कार्कीले अविरल वर्षापछिको बाढीपहिरोबाट क्षति पुगेका भौतिक संरचनाहरूको तत्कालै मर्मतसम्भार गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताएका छन्।

मुख्यमन्त्री कार्कीले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयहरूले दसैंअगाडि गर्नसक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन पनि दिएको बताए।

मुख्यमन्त्री कार्कीले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्नसक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको जानकारी गराए। मुख्यमन्त्री कार्कीले उद्धार, राहत, घाइतेको उपचार र विस्थापितको पुनःस्थापनाका लागि आवश्यक व्यवस्था गर्न प्रदेशको मन्त्रिपरिषद्ले निर्णयसमेत गरिसकेको बताए।

पूर्व मुख्यमन्त्री राईसँगै ध्यानाकर्षण पत्र बुझाउन प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीलगायत पदाधिकारी पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। सो अवसरमा प्रदेशका मन्त्रीहरूकाे पनि उपस्थिति रहेकाे थियाे।

प्रकाशित: २० आश्विन २०८१ ०८:२२ आइतबार

# Koshi Prades # Bipad pradhikaran