७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

तस्बिर: एएफपी

हमास लडाकूहरूले इजरायलमाथि घातक आक्रमण गर्दा दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा लगेका थिए। तीमध्ये केही आक्रमणकै क्रममा मारिएका थिए।

एक वर्षपछि पनि दुई बालबालिकासहित ६४ जना अझै बन्धकको रूपमा छन। गाजामा शासन गर्ने हमास लडाकू समूहका लागि यी बन्धकहरू इजरायलसँग युद्धविरामको वार्ता गर्न र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइका लागि महत्त्वपूर्ण वार्ताका साधन बनेका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका २ सय ५१ जनामध्ये ५२ पुरुष, १० महिला र दुई बालबालिका थिए। तीमध्ये १ सय १७ जनालाई युद्धविरामको क्रममा रिहा गरिएको थियो। जसमा अधिकांश महिला, बालबालिका र विदेशी कामदारहरू थिए।

नोभेम्बरको अन्त्यतिरको एक साताको युद्धविरामको समयमा इजरायली जेलमा रहेका दुई सय ४० प्यालेस्टिनी कैदीहरूको सट्टामा यी बन्धकलाई रिहा गरिएको थियो।

गाजामा रहेका ६४ जनामा ५७ जना इजरायली छन्। उनीहरु अझै जीवित रहेको इजरायलले विश्वास गरेको छ। जसमा केहीले दुई वा बढी राष्ट्रियता पनि लिएका छन्।

बाँकी छ जना थाई नागरिक र एक जना नेपाली छन्। यी ६४ जनामध्ये ५२ पुरुष, १० महिला, ११ सैन्य कर्मचारी र दुई बालबालिका छन्। सबैभन्दा कम उमेरका बन्धक कफिर अपहरण हुँदा आठ महिना १५ दिनका थिए भने उनका दाजु एरियल मात्र चार वर्षका थिए। हमासले यी दुई बालबालिकाको मृत्यु भएको बताएको भए पनि इजरायलले यसलाई पुष्टि गरेको छैन।

जीवित रहेको कुनै ठोस प्रमाण छैन

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीको क्रममा मात्र सात जना बन्धकलाई जीवितै मुक्त गरिएको छ। जीवित रहेको कुनै ठोस प्रमाण नभएपछि बाँकी ६४ जनाको अवस्था अझै अनिश्चित छ। हमासले बन्धकहरूको मृत्यु भएको बारम्बार घोषणा गरे पनि इजरायलले यो पुष्टि नगरेको हुँदा बन्धकका परिवारहरू अत्यन्तै पीडामा छन्।

मृत्यु भएका बन्धकका शव गाजामा

अक्टोबर ७ मा हमासले इजरायली सैनिकहरूको १० वटा शवसहित अन्य मृतकको शव गाजामा लगेका थिए। युद्ध सुरु भएयता २८ अन्य बन्धकको गाजामा मृत्यु भएको छ। सन् २०२३ डिसेम्बर १५ मा इजरायली सेनाले गल्तीले ३ जना बन्धकलाई मारेको थियो। अन्य ६ जनाको पनि हमासले हत्या गरेको इजरायली सेनाले आरोप लगाएको छ। उनीहरूलाई दक्षिणी गाजाको रफाहमा एउटा सुरुङमा भेटिएको थियो।

किबुत्ज र महोत्सवका बन्धकहरू

अधिकांश बन्धकहरू निर ओज किबुत्ज र नोभा सङ्गीत महोत्सवबाट अपहरणमा परेका थिए। निर ओज किबुत्जबाट अपहरण गरिएका ७६ जनामध्ये ४० जनालाई जीवितै रिहा गरिएको छ भने बाँकी २० जना अझै गाजामा छन्। बाँकी १६ जनाको मृत्यु भइसकेको छ। नोभा महोत्सवबाट अपहरण गरिएका ४३ बन्धकमध्ये ९ जना मात्र रिहा भएका छन् भने १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

अक्टोबर ७ मा गाजामा सम्पूर्ण परिवारलाई अपहरण गरिएपछि केही परिवारका सदस्यहरू युद्धविराममा रिहा भए पनि कतिपय अझै बन्धक छन्। फ्रान्सेली–इजरायली बालबालिकाहरू इतान, इरेज र सहरलाई मुक्त गरिए पनि उनका बुबाहरू ओहाद याहालोमी र ओफेर काल्डेरोन अझै बन्धकको रूपमा छन्।

प्रकाशित: १८ आश्विन २०८१ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App