१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखराको अस्तामिस्थत अन्नपूर्ण इको भिलेजमा योगा गर्दै विदेशी पाहुना। तस्बिरः नागरिक

पोखरामा असोज अन्तिममा योगा महोत्सव हुने भएको छ । असोज ३० देखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने आयोजकले बताएको छ।  

होटल संघ नेपाल र पोखरास्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो। पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हालै आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवद्र्धन गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजकले बताएको छ। महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा आयोजकको छ।

महोत्सवमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त योग विज्ञको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछ। महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ता गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञबाट योग र ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन्।  

कार्यक्रममा सहभागिताका प्याकेज बनाइएको छ। होटल संघ नेपालका महासचिव साजन शाक्यले नेपालमा योगाकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेकोले महोत्सव आयोजना गरेको बताए। नेपाल चिनाउन र योगा प्रेमी विदेशीलाई नेपालमा आकर्षित गर्न कार्यक्रम सहयोगी हुने उनले बताए।  

पूर्ण योगाकी संस्थापक लता तुलाचनले सामाजमा सकारात्मक भावको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। मानिसको शारीरिक र मानशिक स्वास्थको लागि योगको भूमिका हुने बताउँदै उनले स्वास्थमा गरिने लगानी सबै भन्दा ठूलो हुने बताइन्। हरियो र सफा नेपाल नारामा समेत कार्यक्रमले जोड दिएको बताउँदै उनले कूल १६ जना प्रशिक्षक कार्यक्रममा भाग लिन आइपुग्ने जानकारी दिईन् ।

संस्थाका अर्का संस्थापक मनोहर श्रेष्ठले नेपालमा योगा सम्बन्धि नीति र कानूनको आबश्यकता औंल्याए। पोखरा र समग्र नेपाललाई योगाको गन्तव्य बनाउने उद्देश्य कार्यक्रमले लिएको उनले बताए। होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, संघका गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी क्षेत्रमा योगा पर्यटकको महत्व रहेको बताए। पोखरा आसपासका क्षेत्रमा पछिल्लो समय शान्त वातावरणमा बसेर योगा गर्ने भनेर विदेशी पाहुना आउने गरेको उनीहरुको भनाई छ।

प्रकाशित: १८ आश्विन २०८१ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App