१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षाले लिमचुङबुङमा ३६ घर विस्थापित, सय घरमा आंशिक क्षति

लिमचुङबुङ- ४ बलम्तास्थित पहिरोले भत्काएको राजेश राईको घर । तस्बिर: महेश्वर

असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ । वर्षाले ३ विद्यालयमा क्षति गरेको छ भने ५ वटा पुल तथा सडक बगाएको छ ।  

गाउँपालिकाका ५ वटै वडामा बाढी पहिरोले धनमालको व्यापक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताएका छन् । उनका अनुसार वडा नं. १ बाँसबोटे, २ तामलिछा, ३ बाराहा, ४ बलम्ता र ५ नं. वडा जाँतेका सडक, विद्यालय, घर, गोठ, चौपाया मरेर क्षति पुगेको छ ।  

सबैभन्दा बढी वडा नं. ४ बलम्तामा १२ घरधुरी पूर्णरुपमा क्षति पुगेर ७५ जना विस्थापित भएका छन् । जसमध्ये राजेश राईको एउटा घर र मतान भत्काउनुका साथै ४ वटा खसी बाख्रा बगाएको छ । अन्य १० घरमा आंशिक क्षति भएको वडाध्यक्ष छत्रबहादुर राईले बताए ।  

त्यसैगरी वर्षाले वडा नं. १ बाँसबोटेमा ३६ घरमा क्षति गरेकोमध्ये ५ घर पूर्णरुपमा ध्वस्त भएका छन् । ३१ घरमा सामान्य क्षति पुगेको वडाध्यक्ष जनदिप थापा मगरले बताए । उनका अनुसार ४ दिनसम्म लगातार परेको वर्षाले बाटोघाटो सबै बिगारेका कारण स्कुल जान आउन तथा वडा कार्यालय र गाउँपालिका केन्द्र बाराहासम्म पुग्न स्थानीयलाई हम्मे भएको छ । खेतबारीमा पनि व्यापक क्षति गरेको वडाध्यक्ष मगरले बताए ।  

उता वडा नं. २ ताम्लिछामा वर्षा २० घरमा क्षति गरेको छ भने ४ घर पूर्णरुपमा भत्किएर घरपरिवार विस्थापित भएका छन् । १६ घरमा आंशिक क्षति पुगेर ४० जना प्रभावित भएको वडाध्यक्ष जितेन्द्र राईले बताएका छन् ।  

गाउँपालिका केन्द्र वडा नं. ३ बाराहामा १० घर प्रभावित हुँदा ५ घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ती घर परिवार विस्थापित हुन पुगेका छन् । बाढी पहिरोले ३२ जना प्रभावित भएको वडाध्यक्ष गुरुमणि कुमाईले बताए । उनका अनुसार सडक बाटो सबै भत्के पुरेका कारण विद्यालय र वडा कार्यालय आउजाउ गर्नसमेत अप्ठेरो भईरहेको छ ।  

५ नं. जाँतेका वडाध्यक्ष कविचन्द्र राईका अनुसार सो वडामा ५ घर ध्वस्त हुदा १५ घरमा आंशिक क्षति भएको छ । जाँतेमा अविरल वर्षाले ३० जनालाई प्रभाव पारेको छ । त्यहाँका पनि सडक बाटोहरु बिग्रे भत्केका कारण वडा कार्यालय आउजाउ गर्न समस्या भएको छ । खासगरी चौलाने–चनौटे, टोड्के–धुकुरथुम, बुईखा–हिम्मा, बुईखा–मतर्ला गर्ने आन्तरिक सडकहरु सबै भत्केका कारण वल्लो गाउँदेखि पल्लो बस्तीसम्म हिड्डुल गर्नसमेत अप्ठेरो भईरहेको वडाध्यक्ष राईले बताए ।  

वर्षाले गाउँपालिकाभरी ३ वटा विद्यालयमा पनि पूर्ण क्षति पुगेको छ भने बाँकी ३ टामा विद्यालयमा आंशिक क्षति भएको छ । बाढी पहिरोले ८ सय रोपनीमा लगाइएको बालीनाली नष्ट गर्दा किसान मारमा परेका छन् । १ हजार २ सय रोपनी जमिनमा बाढी पहिरो पसेर क्षति हुँदा किसानका ५० वटा सुँगुर, भैँसी, गाई, बाख्रा, खसीजस्ता पशु चौपाया मरेको तथ्यांक सङ्कलन भएको हाकिम गुरुङले बताए ।  

वर्षाले गरेको क्षतिको यकिन विवरणसहित आवश्यक राहत, क्षतिपूर्ति र मर्मत संभारका लागि जिल्ला विपत व्यवस्थापन समिति (जिल्ला प्रशासन कार्यालय)मा पठाइएको अध्यक्ष मेजर राईले बताएका छन् । उनका अनुसार वर्षाले बिग्रे भत्केका सडक, पुललगायत अन्य भौतिक संरचना तत्काल मर्मत र पुनःनिर्माण गर्न गाउँपालिका आफै पनि लागिरहेको छ भने सम्बन्धित कार्यालयलाई पनि आग्रह गर्दै पत्राचार गरिएको छ ।  

प्रकाशित: १८ आश्विन २०८१ १४:१८ शुक्रबार

#उदयपुरको लिमचुङबुङ गाउँपालिका