१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सुनकोसी र गोलञ्जोरलाई मरिण र दुधौलीको सहयोग

 सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै मरिण गाउँपालिका र दुधौली नगरपालिकाले सहयोग गरेका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनकोसी र गोलञ्जोरमा व्यापक क्षति भएपछि अन्य पालिका सहयोग रकम सहित पुग्न थालेका हुन् । 

सिन्धुलीको दुधौली नगरपालिकाले सुनकोसी र गोलञ्जोर दुवै पालिकालाई आर्थिक सहयोग सहित डिजेल उपलब्ध गराएको छ । दुधौली नगरपालिकाको नगर कार्यपालिका विपद् व्यवस्थापन समितिको निर्णय अनुसार  सुनकोसी गाउँपालिकालाई पाँच लाख नगद र चार सय लिटर तेल सहयोग गरिएको दुधौली नगरपालिकाले जनाएको छ । 

दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीका अनुसार दुधौली नगरपालिकाको तर्फबाट सुनकोसी गाउँपालिकालाई पाँच लाखको चेक, ४०० लिटर डिजेल, ३५ कार्टुन पानी र दमकल सहित जनशक्ति सहयोग दिइएको छ । हामीले सुनकोसी गाउँपालिकामै पुगेर दुधौली नगरपालिकाको तर्फबाट घरहरू सफा गर्नका लागि दमकल समेत सहयोग गरेका छौ मेयर अधिकारीले भने । 

यस्तै दुधौली नगरपालिकाले सिन्धुलीको गोलञ्जोर गाउँपालिकालाई दुई लाख नगद र दुई सय लिटर डिजेल सहयोग गरिएको छ । बिपी राजमार्ग पूर्ण रुपमा क्षति भएको छ राजमार्ग खुलाउन निरन्तर ठुला उपकरण प्रयोग भइरहेको छ, त्यसैले हामीले डिजेल सहयोग गरेका छौ, यस्तै सुनकोसीको मुलकोटका घरहरूमा माटो पसेर प्रभावित भएकाले घर सफा गर्न दमकल पठाएका हौ, मेयर अधिकारीले भने । एउटा पालिकालाई विपद् पर्दा अर्को पालिकाले सहयोग गर्ने संस्कार राख्नुपर्छ र विपद् प्रभावितलाई पुनर्स्थापना गर्न सहयोग गर्नुपर्छ भनेर हामीले  पालिकामै पुगेर सहयोग हस्तान्तरण गरेका हौ, उनले भने ।  

बाढी प्रभावितलाई राहत उद्धार र पुनर्स्थापनाका लागि भन्दै सुनकोसी गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सहयोग मागेपछि सिन्धुलीको मरिण गाउँपालिकाले पनि सुनकोसी र गोलञ्जोर दुवै पालिकालाई सहयोग रकम दिएको छ । गत शुक्रवार देखि आइतबारसम्म परेको अविरल वर्षाका कारण सिन्धुलीको सुनकोसी गाउँपालिकाको नेपाल थोक मुलकोट लगायतका क्षेत्रमा ठुलो क्षति बाढीले गरेको छ भने गोलञ्जोरको खुर्कोटस्थित तल्लो बसपार्क पूर्ण रुपमा क्षति गरेपछि विपद्मा परेका पालिकालाई सहयोग अन्य पालिकाले गरेका हुन् । 

मरिण गाउँपालिकाले सुनकोसी गाउँपालिका सिन्धुलीलाई तीन लाख रुपैया चेक मार्फत सहयोग गरेको छ भने गोलञ्जोर गाउँपालिकालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको मरिण गाउँपालिका सिन्धुलीका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिए । उनका अनुसार  विपद्मा परेको पालिकालाई सहयोग गरेर एउटा स्थानीय सरकारलाई सङ्कट पर्दा अर्को स्थानीय सरकारले सहयोग गर्ने संस्कार राख्नुपर्छ भन्ने सन्देश दिन र प्रभावित ठाउँमा आवश्यक भएकाले पालिकाको तर्फबाट गर्न सक्ने सहयोग गरिएको हो ।  अध्यक्ष मोक्तानले विपद् जुनसुकै बेला जसलाई पनि पर्न सक्ने भएकाले सहयोग गरिएको बताए । काठमाण्डौमा हाम्रा पालिकाका नागरिकहरू पनि प्रशस्तै छन्, दसैँमा घर आउन बिपी राजमार्ग खुलाउनुपर्नेछ उनले भने राजमार्ग खुलाउन दर्जनौँ डोजर प्रयोग भएका छन्, तिनीहरूलाई तेलको व्यवस्थापन गर्न सुनकोसीले मात्रै सक्दैन त्यसैले सहयोग पु¥याएका छौ । झन्डै एक साता अगाडी परेको वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुलीको सुनकोसी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ भने  गोलञ्जोर गाउँपालिका पनि प्रभावित भएको छ । सुनकोसीको तटीय क्षेत्र बढी प्रभावित भएपछि स्थानीय तहले सहयोग गर्न थालेका हुन् । 

प्रकाशित: १७ आश्विन २०८१ १९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App