६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

दक्षिण ललितपुरवासी भन्छन्-भूकम्पभन्दा बाढीपहिरो भयावह

स्थलगत रिपाेर्ट

बाढीपहिरोले क्षति पुर्‍याएको दक्षिण ललितपुरको भारदेउस्थित एक घरबाट बुधबार सामान बटुल्दै घरका सदस्य र स्थानीय।

वर्षाको भेलले विमला लामाको घरमा भ्वाङ बनाएको छ। भकारीको अन्न माटोमा पुरिएको छ। बारी बगर बनेको छ। त्यही बगरमा उनले कोसासहितको भटमासको बोट फेला पारिन्। ‘न गास छ न बास,’ कोन्ज्योसोम गाउँपालिका भारदेउकी लामाले भटमासको कोसा देखाउँदै भनिन्, ‘बगरमा अन्नको शिला खोजेर साँझको जोहो गर्दै छौं।’

अघिल्लो साताको अन्त्यमा आएको बाढीपहिरोले घर भत्काइदिएपछि उनी आफन्तको शरणमा छिन्। सँगै रहेका तीन आफन्तको घर पनि बाढीपहिरोले भत्काइदिएका कारण डाँडामा रहेका आफन्तको शरणमा पुगेको उनले बताइन्।

‘अन्नसँगै नौवटा बाख्रा पनि पुरिएका छन्,’ उनले भनिन्, ‘शुक्रबार रातिबाट सुरु भएको दुःख झनै बढ्दो छ।’ उनले यसो भन्दै गर्दा साना नानीहरू भने कापीकिताब पुरिएकोमा चिन्तित देखिन्थे। उनीहरूलाई अन्नभन्दा पनि किताबको चिन्ता बढी थियो।

‘साथीको स्कुल बग्यो, हाम्रो त बगेको छैन तर कापीकिताबचाहिँ सबै बाढीले बगायो,’ स्माइली अंकित टिसर्टमा अँध्यारो अनुहार लगाएकी कक्षा ५ मा अध्ययनरत सुमनिमा लामाले भनिन्, ‘अब के लेख्ने, के पढ्ने थाहा छैन।’

साना नानीहरूले यसो भन्दै गर्दा नजिकै उभिएका बहादुर लामा निरीहजस्तै देखिए। गास, बास र कपास सबै एकै पटक गुमेपछि उनी पनि अलमलमा परेका छन्। ‘न बजारबाट अन्न आउने बाटो छ न यहाँ घरमा अन्न छ,’ उनले भने, ‘समस्या दिनहुँ बढ्दै छ।’ 

घर नजिकका पसलमा किन्ने कुरा पनि नभएको उनले बताए। उनका अनुसार बाढीपहिरोले भत्काएको सडक चाँडै नखुले झनै ठुलो समस्या हुने छ।

पहिरोले भत्काएको घरअगाडि भटमास हातमा लिएर उभिएकी विमला लामा। 

वर्षासँगैको बाढीपहिरोले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चारविहीन भएका छन्। यसले गर्दा उद्धार र राहतमा कठिनाइ भएको छ। तीन पालिकाको जनजीवन अस्तव्यस्त छ। महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा ठुलो क्षति देखियो। विपद्मा केन्द्र सरकारबाट सहयोगको अपेक्षा गरेको तर अहिलेसम्म केही नपाएको यस क्षेत्रका पालिका प्रमुखको गुनासो छ।

आवागमनमा समस्या भएपछि स्थानीय चन्दा उठाएर सडक खोल्ने अभियानमा जुटेका छन्।। बत्ती र बाटोको समस्या हुँदा थप जोखिम बढेको उनीहरू सुनाउँछन्। ‘राज्यको भर गरेर बस्दा केही भएन, हामी आफैंले चन्दा उठाएर बाटो खोल्दै छौं,’ कोन्ज्योसोम–५ का अध्यक्ष विजयकुमार सिङतानले भने, ‘हेरौं कसैगरी बाटो त खुलाउनै पर्‍यो।’

उनका अनुसार भारदेउमा मात्र चार पक्की घर, १३ कच्ची घर पहिरोको चपेटामा परेका छन्। यसै गाउँकी एक महिलाको पनि पहिरोमा पुरिएर मृत्यु भएको उनले सुनाए।

पाइप बगाएका कारण खानेपानीको समस्या भएको उनले बताए। उनका अनुसार फोहोर पानीका कारण पानीजन्य रोगव्याधि बढ्न थालेको छ।

‘सर्वसाधारण बिरामी पर्न थालेका छन्’, उनले भने, ‘त्यसैले तत्काल पानीको व्यवस्थापन हुनुपर्‍यो।’

सर्वसाधारणलाई उपचारको पनि समस्या भएको छ। ‘मेरो पुरानो घर भत्किएको छ, नयाँ घर पहिरोको जोखिममा छ,’ ६ वर्षीय छोरा आदित्य लोप्चनलाई लिएर उपचार गराउन हिँडेकी अनु भन्छिन्, ‘मर्नु न बाँच्नु भएका छौं हामी त।’

 आनन्दवनस्थित अस्पतालमा शल्यक्रियाका लागि समय लिएकी उनले उक्त अस्पताल नै पहिरोमा परेपछि काठमाडौंतिर हिँडेको सुनाइन्। ‘बिरामी छोरालाई हिँडाउँदै र बोक्दै जाँदैछु,’ उनले भनिन्, ‘अब हेरौं अगाडि के हुन्छ।’

  बिरामी छोरालाई बोकेर उपचारका लागि काठमाडौंतर्फ हिँडेकी अनु लोप्चन। तस्बिर: विजय राई/नागरिक

झट्ट सुन्दा ललितपुरलाई धेरैले सुगम जिल्ला ठान्छन्। तर यहाँको दक्षिणी भेगका बासिन्दाको पीडा बेग्लै छ। ‘सुगम जिल्लामा बसेर दुर्गम जीवन बिताउने हाम्रो पीडा बेग्लै छ,’ कर्म लोप्चनले भने, ‘राज्यले हाम्रो समस्या न देख्न सकेको छ न सुन्न सकेको छ।’

कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण एक सय ५० परिवार विस्थापित भएको जानकारी दिए। त्यस्तै नल्लु, भारदेउ र गोटी खोलाको बाढीले यस क्षेत्रको अधिकांश जमिन बगरमा परिणत गरेको उनले बताए। ‘अहिलेको समस्याभन्दा पनि भोलिको समस्या झनै भयावह देखिन्छ,’ उनले भने, ‘केन्द्र सरकारले यसतर्फ पनि ध्यान देओस् भन्ने चाहन्छाैं।’

यस्तो विपत्तिमा पनि केन्द्र सरकारको साथ नपाउनु झनै दुःखको कुरा भएको उनले सुनाए। ‘केन्द्रले साथ दिने भनेको यस्तै विपत्तिमा हो,’ उनले भने, ‘त्यो साथ अहिलेसम्म हामीले पाउन सकेका छैनौं।’

उनले भनेजस्तै भारदेउका सोम गोलेको १५ रोपनी बारी बगरमा परिणत भएको छ। मकैबाली भित्राएका उनले भटमास भने उखेल्न नपाएको सुनाए। ‘त्यही मकै पिस्ने घट्ट पनि बाढीले बगाएको छ,’ यस क्षेत्रमा भएको खाद्यान्नको समस्याबारे उनले भने, ‘हामीलाई सबैतिरबाट विपत्तिले घेरेको छ।’

त्यस्तै महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले तत्कालको क्षतिसँगै दीर्घकालीन क्षति बढी भएको सुनाए। ‘तत्काललाई राहतसँगै दीर्घकालीन सोचका साथ सहयोग आवश्यक छ,’ उनले भने, ‘नत्र सुगम जिल्लाको दुर्गम यो भाग झनै दुर्गम रहने छ।’

लेले–चन्दनपुर सडक, मध्यमार्गी लोक मार्ग बन्द रहेकाले आवागमनमा समस्या परेको उनले ‘सर्वसाधारण बिरामी पर्न थालेका छन्’, उनले भने, ‘त्यसैले तत्काल पानीको व्यवस्थापन हुनुपर्‍यो।’

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर राईले कान्ति लोकपथ अवरुद्ध हुँदा राहत तथा उद्धारमा थप समस्या भएको सुनाए। खानेपानीको पाइपसमेत नष्ट हुँदा सर्वसाधारण मर्कामा परेका छन्। ‘अझै नोक्सानीको पूर्ण विवरण आएको छैन,’ टेलिफोनमा देखिएको समस्याका कारण सर्वसाधारणको सबै अवस्था जानकारीमा आउन सकेको छैन।’ तत्काल विद्युत्, बाटो र सञ्चारलाई प्राथमिकतामा राखेर केन्द्र सरकार अगाडि बढ्नुपर्ने उनको सुझाव छ। ‘यसो भयो भने समस्या समाधानका बाटा खुल्ने छन्,’ उनले भने, ‘अहिले त हामी घेराबन्दीमा परेजस्तै भएका छौं।’

बाढीका कारण टीकाभैरव क्षेत्र पनि निकै प्रभावित बनेको छ। यस क्षेत्रका बनमा गएको पहिरोका कारण राजमार्ग चार दिनसम्म अवरुद्ध बन्यो। गोदावरी नगरपालिका–६ का अध्यक्ष विष्णुमान महर्जनले खोलाहरू उर्लंदा स्कुल, प्रहरी चौकी र मठमन्दिरमा पनि क्षति भएको बताए। ‘यहाँका सडक सबै बन्द छन्,’ महर्जनले भने, ‘चापागाउँबाट टीकाभैरव जाने बाटो तहसनहस भएको छ।’ बाटो बुधबार खुलेपछि केही सहज भएको उनले बताए।

यस भेगमा दर्जनौँ परिवार पहिरोका कारण विस्थापित भएको जानकारी दिँदै महर्जनले तत्काल उनीहरूका लागि अस्थायी वासस्थानको व्यवस्था हुनुपर्ने बताए। ‘हामी आफैं पनि सकेको सहयोग गर्दै छौं,’ उनले भने, ‘केन्द्र सरकारले पनि हामीलाई सघाउनु जरुरी छ।’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बाढीपहिरोका कारण ललितपुरमा ४४ जनाको मृत्यु भएको छ। त्यसैगरी एक हजार पाँच सय ६३ घर बाढी पहिरोमा परेको र एक सय ६६ चौपायाको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। अहिले सुरक्षकर्मी परिचालित भइसकेको र उद्धार पनि रहेकाले क्षतिको थप विवरण आउन बाँकी रहेको उनले बताए।

‘भूकम्पभन्दा पनि डरलाग्दो अवस्था छ’

ललितपुरका दक्षिणी भेगका जनता पहिरोबाट पीडित मात्र होइन, आत्तिएका पनि छन्। सडक, बिजुली र सञ्चारबाट विच्छेद भएका उनीहरू कति बेला फेरि पहिरो खसेर ज्यान जाने हो भन्ने चिन्तामा पनि छन्।

‘२०७२ सालको भूकम्पमा यति डर लागेको थिएन,’ भारदेउका विशाल तामाङले भने, ‘अहिले त कतिबेला पहिरोले पुर्ने हो भन्ने डर मात्र लागेको छ।’

बिजुली नहुँदा सञ्चार सम्पर्कबाट टाढा रहनुपरेको उनले सुनाए। ‘सबैभन्दा ठुलो कुरा बाटो खुल्नुपर्‍यो,’ उनले भने, ‘बाटो खुले बिजुलीका पोल ठड्याउन मान्छे पनि आउँछन्। बिजुली आउँछ, मोबाइल चल्छ, खानेकुरा पनि आउँछ।’

ललितपुरको भारदेउमा बाढीपहिरोले भत्काएका घर । तस्बिरः बिजय राई/नागरिक

विशालको कुरासँग सहमत छन् बुद्धिलाल सिङतान पनि। कोन्ज्योसोम–५ का बुद्धिलालले अहिलेको बाढीले निकै अत्याएको सुनाए। ‘हामी त दुर्गम टापुमा थुनिएका जस्तै भयौं,’ उनले भने, ‘यस्तो समस्या त उतिबेलाको भूकम्पमा पनि भोगेका थिएनौं।’ आकाशमा बादल लागिरहेका कारण कुन बेला थप पहिरो जाने हो भन्ने चिन्ता लागेको उनले बताए। ‘अझै पनि धेरै घर जोखिममा छन्,’ उनले भने, ‘सर्वसाधारण विकल्प नहुँदा त्यसैमा बस्न बाध्य छन्।’

किसानको तरकारी बजारमा पुर्‍याएर जीविका चलाउँदै आएका रामबहादुर लामा पनि निराश छन्। उनले ऋण लिएर १४ लाख रूपैयाँमा किनेको बोलेरोलाई बाढीले पुरेको छ। उनी निकाल्न सक्ने अवस्थामा छैनन्। ‘घर मात्र हैन, गुड्ने गाडी पनि पुरिएको छ,’ उनले भने, ‘यहाँ बस्दा दिक्क लाग्छ, निस्केर जाने बाटो पनि छैन।’

 घरमा खाने अन्न नभएपछि केही मानिस बचेको तरकारी पोको पारेर चापागाउँतर्फ जाँदै गरेको अवस्थामा पनि भेटिए। तीन घण्टा पैदल हिँडेका उनीहरूमा अत्यास बढी देखिन्थ्यो। ‘हामी तरकारी बेचेर चामल किन्न हिँडेका हौं’, बाटोमा भेटिएका किसान जीवन सिङतानले भने, ‘सरकार गाउँमा नआएपछि हामी नै सहरतिर हिँडेका हौं।’

प्रकाशित: १७ आश्विन २०८१ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App