१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बिहीबारदेखि दसैँ सुरु, भक्तपुरका यी ठाउँंहरुमा लाग्दैछन् मेला

दसैँको पहिला दिन मेला लाग्ने ब्रम्हायणी शक्ति पीठमा बुधबार सरसफाइ गर्दै स्थानीय। तस्बिर: नागरिक

दसैँको सुरुवातसँगै भक्तपुरमा हुने नवरात (नौ राते) मेला भोलि बिहीबारदेखि सुरु हुँंदैछ। प्रत्येक वर्ष दसैँको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरुमा दैनिक फरक फरक दिनहरूमा लाग्ने गर्दछ।

रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरू यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्ने गर्दछन्। तर बिहान पनि मेला नलाग्ने होइन। बिहानको तुलनामा साँझको समयमा मेला भर्न सयौँ बाजागाजाका साथ टोल टोलबाट हजारौँ भक्तालुहरू सहभागी हुने गर्दछन्। त्यस कारण यसलाई नवरात भनेर धेरै स्थानीयहरू बुझ्ने गर्दछन्।

नवरातको नौ दिन नौ छुटाछुटै शक्ति पीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्दछ। यस अनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ। अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्ने गर्दछ।

परम्परा अनुसार पहिलो दिन ब्रम्हायणी, दोश्रो दिन द्धिदीयामा महेश्वरी, तृतीयामा अर्थात् तेस्रो दिन कुमारी, चतुर्थी अर्थात चौथो दिन भद्रकाली, पञ्चमी पाचौं दिन बाराही, षष्ठी छैटौ दिन इन्द्रायणी, सप्तमी सातौँ दिन महाकाली, महाअष्टमी आठौँ दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरा सुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरी ब्रम्हायणीमा मेला लाग्ने गर्छ।

अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ। यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर र भक्तपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरूबाट दसौँ हजार जात्रालु मेला भर्न ब्रम्यहाणी जाने गर्दछन्। दशैको यी दिनहरूमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर विशेष मेला लाग्ने परम्परा छ। यी मेलाहरूमा नगरभरिका दसौँ हजार भक्तजनहरु बजागाजाकासाथ उल्लासमय रुपमा सहभागी हुने गर्दछन्।

नवरातको क्रममा बालबालिकादेखि बृद्धबृद्धासम्म सहभागी हुने गर्दछन्। तर पनि युवा उमेरका युवायुवती बढी रमाउने गर्दछन्। यो बेला तन्नेरी उमेरका युवायुवती एक आपसमा जिस्किएर रमाउने परम्परा अझै छ।  

यसबाहेक भक्तपुरको दसैँका विभिन्न विशेष आकर्षणहरू रहेका छन्। नम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरू यहाँको दशैका आकर्षणहरू हुन्। यीबाहेक पनि दसैँको दस दिन भक्तपुर नगरका ठाउँंठाउँंमा विभिन्न मेला जात्रा हुने गर्दछन्।

इतिहास एवं संस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायष्ठ मुल दसैँ देशभरि मनाउने गरे पनि भक्तपुरको दसै विशेष आकर्षण रहने सुनाउँछन्। उनका अनुसार दसैको दस दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्दछन्। प्रत्येक दिन एकएक शक्ति पीठमा जात्रा हुने गर्दछ। उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ। यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ। यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरूले भागेर विवाह गर्ने गरिन्छ।

यसरी यो दिनको विवाहलाई कानुनी मान्यता दिइन्छ। यस दिन भागी विवाह बाहेक मागी विवाह, व्रतबन्ध आदि शुभ कार्यहरू गर्ने चलन छ। यो दिनलाई शुभ साइतको रुपमा लिने गरिन्छ। यस दिन साइत नजुरेका जोडीहरूको विवाह गरिदिने चलन छ।

दसैँमा मेला लाग्ने भक्तपुरका शक्तिपीठहरु

-पहिलो दिन घटस्थापनामा ब्रम्हायणी

-दोश्रो दिन द्धिदीयामा महेश्वरी

-तृतीया अर्थात् तेस्रो दिन कुमारी

-चतुर्थी अर्थात चौथो दिन भद्रकाली

-पञ्चमी पाचौं दिन बाराही

-षष्ठी छैटौ दिन इन्द्रायणी

-सप्तमी सातौँ दिन महाकाली

-महाअष्टमी आठौँ दिन महालक्ष्मी

-महानवमी नवौं दिन त्रिपुरा सुन्दरी र

-अन्तिम दिन विजया दशमीको दिन पुनः ब्रम्हायणी

प्रकाशित: १६ आश्विन २०८१ १६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App