१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दसैं लक्षित जुम्लामा बजार अनुगमन, ७ हजार बढीको सामान नष्ट

बजार अनुगमन गरिँदै। तस्बिर: गोल्डेन/नागरिक

दसैं नजिकिँदै गर्दा जुम्लामा बजार अनुगमनलाई तीव्रता दिइएको छ। बुधबारदेखि दसैं र तिहारलाई ध्यानमा राखेर अनुगमन सुरु गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न सरकारी निकायहरूको संयुक्त टोलीले जुम्लाको मुख्य बजारहरूमा अनुगमन गरेको हो।

जुम्ला सदरमुकाम खलंगाका ३८ वटा पसलमा अनुगमन गरिँदा, म्याद सकिएका तथा अखाद्य वस्तुहरू बिक्री भइरहेको पाइएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालयका प्रमुख पंकज दाहालका अनुसार, चाडपर्वको समयमा अखाद्य सामग्रीको बिक्री बढ्न सक्ने सम्भावनाका कारण अनुगमनलाई विशेष प्राथमिकता दिइएको हो।

अनुगमन टोलीले खाद्यान्न, दैनिक उपभोग्य वस्तुहरू, र व्यवसाय दर्ता सम्बन्धी अन्य कानुनी मापदण्डहरूको पनि निरीक्षण गरेको थियो। साथै, मूल्य सूची, नापतौल मापदण्ड, र व्यापारमा मिसावट सम्बन्धी नियमको पनि अनुगमन गरियो।

अनुगमनका क्रममा करिब ७ हजार ४५० रुपैयाँ बराबरको म्याद सकिएका अखाद्य सामग्री नष्ट गरिएको प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीले जानकारी दिए।

चाडपर्वको समयमा अन्यको तुलनामा खरिद–बिक्री बढी हुने र त्यही क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीहरू खरिद–बिक्री हुने सम्भावना भएकाले त्यसको निगरानीको लागि अनुगमन सुरु गरिएको उनले जनाए।

खलंगा बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्री गरिएका वस्तु, जम्मफुड, सुर्तीजन्य प्रर्दाथ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाका नायब सुब्बा कमल सुवेदीले बताए।

अनुगमन टोलीले व्यवसायीहरूलाई करको दायरामा आउन र व्यवसाय दर्ता गर्न आग्रह गर्दै, उपभोक्ताको हितमा सहकार्य गर्न सुझाव दिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजारको अनुगमन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको भए पनि फितलो अनुगमनका कारण केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेको स्थानीय प्रशासनको भनाइ छ।

प्रकाशित: १६ आश्विन २०८१ २०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App