१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दसैं-तिहार भर जुम्लामा चामल अभाव नहुने

चामल लिँदै गरेका उपभोक्ताहरू। तस्बिर: गोल्डेन/नागरिक।

जुम्लामा दसैं-तिहारलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।

आइतबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखाबाट चामल वितरण थालिएको हो। शाखा प्रमुख सन्तोष तिवारीका अनुसार, दसैं-तिहारको तयारीस्वरूप सुपथ मूल्य पसल सुरु गरिएको हो।

सुपथ मूल्य पसल सञ्चालनमा आएपछि चामल लिन उपभोक्ताहरूको भीड बढिरहेको छ। यस समाचार तयार पार्दासम्म १७० भन्दा बढी उपभोक्ताले चामल प्राप्त गरिसकेका छन्।

प्रतिव्यक्ति ५० किलो (दुई बोरा) चामल दिने व्यवस्था गरिएको छ। जसका लागि उपभोक्ताको नेपाली नागरिकता प्रमाणपत्र आवश्यक पर्छ। प्रति केजी ५ रुपैयाँ छुट र प्रति बोरामा १२५ रुपैयाँ छुट दिइएको हुँदा उपभोक्ताहरूको लाइन लामो देखिएको छ।

सुपथ मूल्य पसलका लागि पाँच हजार क्विन्टल चामल छुट्याइएको छ। जसमा जुम्लाको तिला गाउँपालिकाको जुम्लाकोट डिपो, सिंजा गाउँपालिकाको धाँपा डिपो, तातोपानीको पाथरखोला बिक्री केन्द्र, पातारासीको लुम र हिमाको बाजागाड वितरण केन्द्र रहेका छन्।

यद्यपि, अन्य डिपोमा स्थायी कर्मचारी नभएका कारण सदरमुकाम शाखाबाट चामल वितरण गरिँदैछ। खाद्य व्यवस्था कार्यालयले भनेको छ, "सस्तो मूल्यमा चामल वितरण गरिएकाले उपभोक्ताको भीड हुनु स्वाभाविक हो।"

लेखा अधिकृत लक्ष्मण शर्माका अनुसार, माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछ, जसका कारण चामलको अभाव भने हुने छैन। अभाव भएमा थप कोटा माग गरिनेछ।

उनका अनुसार आइतबार एकैदिनमा २६४ क्विन्टल चामल वितरण गरिएको छ। हाल, सुपथ मूल्य पसलमा स्ट्रिम जिरा मसिनो, अरुवा मोटा, र सोना मन सुली चामल बिक्री भइरहेको छ।

छुटपछि, स्ट्रिम जिरा मसिनो प्रति बोराको मूल्य २,२७५ रुपैयाँ, अरुवा मोटाको १,५५० रुपैयाँ, र सोना मन्सुलीको १,६२५ रुपैयाँ तोकिएको छ।

तातोपानी गाउँपालिका लितकोटको रामकृष्ण न्यौपाने भन्छन्, "सुपथ मूल्य पसल दसैं-तिहारमा मात्रै नभई निरन्तर चल्नुपर्छ।"

चामल वितरण बिहान १० देखि दिउँसो २ बजेसम्म हुने व्यवस्था गरिएको छ।

प्रकाशित: १५ आश्विन २०८१ २१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App