२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंको तीव्र सहरीकरण: भविष्यका चुनौती र समाधानबारे छलफल

काठमाडौं उपत्यकामा तीव्र रूपमा बढिरहेको सहरीकरणका कारण भविष्यमा देखिन सक्ने चुनौतीहरूको विश्लेषण गर्दै त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले "काठमाडौं उपत्यकामा सहरीकरण, भौगोलिकता र सामाजिक संवेदनशीलता: दिगो सहरी विकासका लागि नीतिगत सुझावहरू" शीर्षकको अनुसन्धान परियोजनाको अन्तिम प्रसार कार्यक्रम सम्पन्न गरेको छ।

ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा आयोजना भएको यस कार्यक्रम त्रिवि अनुसन्धान निर्देशनालयको सहयोगमा भएको थियो। परियोजना ‘राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान कार्यक्रम’ अन्तर्गत २०७७/७८ मा उत्कृष्ट अनुसन्धान अनुदानमा छनोट भएको थियो।

अनुसन्धान परियोजनाको नेतृत्व भूगोल केन्द्रीय विभागका सह-प्राध्यापक डा. शोभा श्रेष्ठले गरेकी थिइन भने प्राध्यापक डा. प्रेम सागर चापागाईं, डा. केदार दाहाल र डा. नरेन्द्र राज पौड्याल सह-आवश्यककर्ता रहेका थिए।

कार्यक्रमको सभापतित्व भूगोल केन्द्रीय विभागका प्रमुख प्रा. डा. उमेश कुमार मण्डलले गरेका थिए। विशिष्ट अतिथिको रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश प्रसाद सिंह, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा. डा. बिन्दु ढकाल, त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रिन्सिपल प्रा. डा. ध्यानेन्द्र बहादुर राई, त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा. डा. ईश्वर कोइराला, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, भूगोलविद् प्रा. डा. भीम प्रसाद सुवेदी, प्रा. डा. पदमचन्द्र पौड्याल र प्रा. डा. नरेन्द्र खनाल लगायतका प्रतिष्ठित प्राध्यापक र अनुसन्धानकर्ता तथा उपत्यकाका १८ नगरपालिका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्राध्यापक डा. केदार दाहालले गरेका थिए भने स्वागत मन्तव्य प्राध्यापक डा. प्रेम सागर चापागाईंले दिएका थिए।

अनुसन्धानले काठमाडौं उपत्यकामा सहरी क्षेत्रको तीव्र वृद्धि र यसको प्रभावलाई उजागर गरेको छ। २००१ मा उपत्यकामा कुल निर्माण क्षेत्र ९५ वर्ग किलोमिटर रहेकोमा, २०२१ सम्ममा यो ३४.६५ वर्ग किलोमिटर पुगेको देखिएको छ। नगरस्तरमा गोदावरीले सबैभन्दा बढी ९१५.१ हेक्टर वृद्धि देखाएको छ भने भक्तपुरले सबैभन्दा कम ९१.६ हेक्टरको वृद्धि गरेको छ।

विशेष गरी गोकर्णेश्वर, सूर्यविनायक, तारकेश्वर, चाँगुनारायण, कागेश्वरी-मनहरा, र महालक्ष्मी नगरपालिकामा भवन निर्माण तीव्र गतिमा भइरहेको पाइएको छ।

२०११ देखि २०२१ सम्मको जनसंख्या वृद्धि र स्थानान्तरणबीचको सम्बन्धमा सहसम्बन्ध गुणाङ्क ०.६०३ रहेको अनुसन्धानले देखाएको छ।

अध्ययनले काठमाडौं उपत्यकाको सहरी क्षेत्र २०३१ सम्म ४०५ वर्ग किलोमिटर र २०५१ सम्म ६७५ वर्ग किलोमिटरमा फैलिने अनुमान गरेको छ। जसले कृषि भूमिमा गम्भीर असर पर्ने देखिएको छ।

चाँगुनारायण र गोदावरी नगरपालिकामा विशेष गरी कृषि भूमिको निर्माण क्षेत्रमा रूपान्तरणको उच्च दर देखिएको छ। विभिन्न नगरपालिकाहरूको संवेदनशीलताको विश्लेषण गर्दा, काठमाडौंले सबैभन्दा कम संवेदनशीलता देखाएको छ भने शङ्खरापुर सबैभन्दा बढी संवेदनशील रहेको छ।

जनसङ्ख्यिक संवेदनशीलतामा कीर्तिपुर न्यून देखिएको छ भने गोकर्णेश्वर उच्च रहेको छ। आवास र निर्मित वातावरणका दृष्टिले भक्तपुर सबैभन्दा संवेदनशील रहेको देखिएको छ भने काठमाडौं र ललितपुर आर्थिक तथा क्षमता सूचकहरूमा कम संवेदनशील देखिएका छन्।

बसाइसराइका कारणहरूमा, ४९ प्रतिशतले शिक्षा र स्वास्थ्य सेवाको अभाव, ४० प्रतिशतले जीविकोपार्जनका सीमित अवसर, र २५ प्रतिशतले आफन्तको प्रभावमा उपत्यकामा सरेको बताएका छन्।

अनुसन्धानले काठमाडौं उपत्यकामा सहरीकरणको तीव्र वृद्धि, नदी प्रदूषण, अनियमित बस्ती विस्तार, अपर्याप्त पूर्वाधार, र ट्राफिक जामजस्ता समस्याहरूको समाधानका लागि प्रभावकारी नीति तथा समन्वयको आवश्यकता औंल्याएको छ। यस अध्ययनले दिगो सहरी विकासका लागि समुदायको सहभागिता, नदी संरक्षण, र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश प्रसाद सिंह, भूगोलविद् प्रा. डा. भीम प्रसाद सुवेदी, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, र त्रिवि अनुसन्धान निर्देशनालयका निर्देशक प्रा. डा. ईश्वर कोइरालाले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: १५ आश्विन २०८१ २१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App