१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

झ्याप्ले खोला घटनाः यात्रु पाएपछि ‘नियमित सेड्युल’ बाहिर हिँडेको थियो माइक्रो

शुक्रबार पानी परिरहेको थियो।  बा ३ ख १३४५ नम्बरको माइक्रो बसका चालक आनन्द राजवंशीको काठमाडौँ साँझ पुग्ने गरी दिउँसो साढे १ बजेतिर १७ यात्रु बोकेर नारायणगढको पुलचोकबाट निस्के। तर, उनी काठमाडौँ पुग्न सकेनन्। धादिङको धुनिबेँसी नगरपालिका– ९ स्थित झ्याप्ले खोला नै उनको अन्तिम गन्तव्य बन्यो। शनिबार बिहान चार बजेतिर आएको पहिरोले उनको ज्यान लियो। उनी माइक्रो बसका साहु पनि हुन्।

‘आनन्दको शुक्रबार नियमित रुट थिएन। प्यासेन्जर पाएपछि आफूले नै चलानी काटेर शुक्रबार दिउँसो साढे एक बजेतिर निस्कनु भएको थियो’, मनकामना माई यातायात प्रा.लि.का कर्मचारी विशाल खड्काले भने ‘पहिरोमा परेर उहाँको मृत्यु हुन पुग्यो।’ पासा नामले परिचित आन्नद शुक्रबार दिउँसो ठाउँ ठाउँमा गएको पहिरोलाई छिचोल्दै राती १२ बजे मलेखु पुगेका थिए। त्यहाँको हामी तिन भाइ होटलमा खाना खाएर निस्केका उनको शव दुई दिन पछि आइतबार झ्याप्ले खोलामा भेटिएको उनले बताए।

उनी सहित अन्य यात्रु पनि सोही पहिरोमा पुरिए। हालसम्म माइक्रो बसका १६ यात्रुको शव फेला परेको छ। अन्य यात्रुको पहिचान हुन सकेको छैन। काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर हिँडेका कारण यात्रुको पहिचान हुन नसकेको मनकामना माई यातायात प्रा.लि. मार्फत सञ्चालित प्रालिका अध्यक्ष नर बहादुर रानाले बताए। ‘काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर हिँडेको पाएका छौँ’, उनले भने ‘प्रत्यक्षदर्शीहरूका अनुसार माइक्रो बसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको छ।’

शनिबार बिहान घटना घटे पनि माइक्रो बस दुर्घटनामा परेको आइतबार मात्र व्यवसायीले थाहा पाएका थिए। ‘कतै शनिबार कतै सवारी दुर्घटना घटेको भएको सुनिएको थिएन। बेलुका बुटवलबाट आएको बसका १४ जना यात्रुको शव झ्याप्ले खोलाबाट निकालेपछि दुर्घटना भएको ठानेका थियौँ’, उनले भने ‘आइतबार बिहान फोन गर्दा नलागेपछि दुर्घटना भएको आशंका गरेका थियौँ।’

चलानी नभएका कारण यात्रुको ठेगाना र पहिचान खुलेको छैन। चितवनमा केही परिवार सम्पर्कमा आएपनि एकिन गर्न नसकिएको उनले बताए। अहिले माइक्रो बसका यात्रुको शव काठमाडाैँकाे  टिचिङ हस्पिटलमा राखिएको छ। त्यहाँ गएर शव पहिचान गर्न प्रहरीले आह्वान गरेको छ।

झ्याप्ले खोलाको पहिरोमा चार वटा बसबाट ३५ वटा शव निकालिएको छ। सशस्त्र प्रहरी बलका सह प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपबाट १४, गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा ५ जना पहिरोमा पुरिएका थिए। पहिरोमा यात्रुको खोजी कार्य जारी रहेको छ । आइतबार साँझसम्म राजमार्गमा रोकिएका सवारी साधनलाई सुरूङमार्गबाट पनि केही यात्रुहरूलाई काठमाडौं पठाइएको प्रहरीले बताएको छ।

ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउँदै अधिकांश सवारीसाधन गन्तव्य तर्फ हिँडिरहेका थिए। झ्याप्ले खोलामा खसेको पहिरोका कारण सवारीसाधन त्यहाँबाट पार हुन सकेनन्। लामो जामका कारण सवारीसाधन न फर्कन सक्ने अवस्था थिएनन्।  शनिबार बिहान हुँदै थियो। वर्षा रोकिने सङ्केत थिएन।

शनिबार बिहान ४ बजेतिर एकाएक बस तथा माइक्रो रोकिएको ठाउँमा माथिबाट ठुलो पहिरो आएर ती बस र माइक्रो हलचल हुन नपाउँदै पुरिएको प्रत्यक्षदर्शी बताउँछन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीबाट पहिरो पन्छाउने र शव खोज्ने कार्य जारी छ। 

प्रकाशित: १४ आश्विन २०८१ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App