गत शुक्रबार नियमित झै कृष्ण सिलवाल ४५, स्वीफ्ट होलिडेज ट्राभल कम्पनिको बा १ प १३८८ नम्बरको बस लिएर पोखराबाट काठमाडौंका लागि छुटे। २५ सिट क्षमताको उक्त बसमा पोखराबाट ११ जना विदेशी र ९ जना स्वदेशी गरि २० जना यात्रु सवार थिए।
बिहान ८ बजे पोखराबाट हिडेका सिलवाल पृथ्वी राजमार्गको गल्छी पुग्दा दिउँसो ३ बजेको थियो। खासमा त्यो समयमा उनी काठमाडौं पुगिसक्नुपर्ने हो। तर, भीषण वर्षासँगै ठाउँठाउँमा रोकिनुपर्दा यात्रा केही ढिला भएको थियो। राजमार्गकै गल्छीमा पहिरोका कारण उनी थप लामो समय रोकिए। दिउँसो ३ बजे रोकिएको गल्छीको अवरोध खुलेर पहिरो पार गरिसक्दा रातको ९ बजेको थियो। भीषण वर्षाका बाबजुत पनि गाडी र यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउने गरि उनी अघि बढिरहेका थिए।
गल्छीको पहिरो खुलेर अघि बढिरहेका सिलवाल धादिङको झ्याप्लेखोला पुग्दा राती साढे १० बजेको थियो। झ्याप्लेखोलामा पुग्दा भने आफुभन्दा अघिल्तिरको पहिरोले बाटो अवरोध गरिसकेको थियो। पहिरोले सडक अवरोध गरेपछि गाडि रोकिन थालेका थिए। उनले आफु भन्दा अगाडि चितवनबाट गएको विङगर र गोरखाबाट गएको बस पनि देखेका थिए। पहिरो झरेपछि विङगर र बस पनि त्यही रोकिएका थिए।
‘भीषण वर्षा भयो। पहिरोले बाटो रोकिएपछि हामी पनि रोकियौ। म भन्दा अगाडि चितवनको विङगर र गोरखाबाट गएका बस रोकिइसकेका थिए,’ सिलवालले भने, ‘बाटो अवरुद्ध भएपछि एकैसाइडमा अरु गाडी पनि थपिँदै थिए। मेरै साइडमा बुटवलबाट गएको अर्काे बस पनि थपियो। अनि हामी बाटो खुल्ने पर्खाइमा बसेका थियौं।’
आफुहरु रोकिएको ठाउँ आसपासमा केही घर र धेरै गाडी एकैठाउँ थुप्रिएपछि के नै पो होला भन्ने उनले सोचेका थिए। अनि बाटो खुल्ने पर्खाइमा बसिरहेका थिए।
बाहिर भीषण वर्षा, त्यसैमाथि यात्रुको पिरलो, पहिरोको पनि उत्तिकै डर त्यहाँ रोकिने जति सबैलाई थियो। उनका अनुसार राती चार बजेतिर सानो पहिरो त्यही ठाउँमा खसेको थियो। ‘बिहान साढे ४ बजेको हुँदो हो। त्यो बेला सानो पहिरो पनि खस्यो। तर, त्यसले खासै केही असर गरेको थिएन। त्यहाँबाट पछि हट्ने अवस्था पनि थिएन । किनकी गाडीको लाम लागिसकेको थियो,’ उनले भने, ‘अगाडि बढ्ने र पछि हट्ने ठाउँ पनि थिएन। रोकिनुको विकल्प थिएन।’
सुरुमा झरेको सानो पहिरोले खासै असर नगरेपछि भने अब केही हुँदैन होला भनेर उनी ढुक्कले बसेका थिए। ‘पहिलो पहिरो झरेपछि म मेरो सिट छाडेर पडाछिको गएर बसे। पछाडि सिटमा बसेको त्यहीबेला झपक्क निदाएछु,’ घटना सम्झँदै उनले भने, ‘एकाएक माथिबाट बढेमानको पहिरो रुख ढलाउँदै आफैमाथि बजारिएछ। मैले त केही सोच्न पनि पाइन। होस हवासै उढ्यो। कहाँ के भयो भन्ने नै चेत पाइन। म होसमा आउँदा त अघिल्तिरका दुइवटा गाडी पहिरोमा पुरिइसकेका थिए।’
बसका सहयोगी मनोज मगर भने त्यो बेला पनि भित्रबाहिर गरिरहेका रहेछन। एकाएक पहिरो झरेर गाडिभित्र लेदो पसिसकेको र मुल ढोका पनि बन्द भएपछि सहयोगी मनोजले मर्जेन्सी ढोका खोलेर यात्रुलाई बाहिर निकालेको उनले बताए। ‘इमर्जेन्सी ढोका खोलेर सहयोगी भाइले यात्रुलाई बाहिर निकालेछन,’ उनले भने, ‘बसका सबै यात्रु बाहिर आइसकेपछि पनि मलाई नदेखेपछि भित्र खोज्दै जाने क्रममा मलाई माटोले लपेटेको अवस्थामा फेला पारेर बाहिर निकालेका हुन।’
‘बाटो खुल्ने भनेर पर्खिरहेको बेला एकाएक माथिबाट पहिरो झर्यो। म भन्दा अगाडि रोकिएका गोरखा र चिवतनबाट गएका सवारी त्यही पहिरोमा पुरिएका रहेछन। म भने जसोतसो जोगिएछु,’ उनले भने, ‘म त अचेत जस्तै बनेको रहेछु। धन्न मैले बेलैमा उद्धार पाएकोले ज्यान जोगियो।’
आफैसँगै अघिपछि गर्दै गुडेका चितवन र गोरखाबाट गएका बस पहिरोमा पुरिएर मानवीय क्षति हुँदा आफ्नो होस हवासै उडेको उनले बताए। ‘मेरै अगाडीका दुइवटा सवारी पहिरोमा पुरिए । म भाग्यले बाँचे,’ उनले भने।
बसको मुल ढोका लेदोले पुरेर खुल्ने अवस्था नभएपछि विपरित दिशामा रहेको इमर्जेन्सी ढोका खोलेर यात्रुलाई बाहिर निकाल्न सकेको उनले बताए। उनका अनुसार पहिरोले बसलाई समेत धकेल्दा छेउतिर पुगिसकेको थियो। ‘थप दुइ हात जति धकेर्लिको भए बस पनि खस्ने रहेछ। धन्न जोगियो। इमर्जेन्सी ढोका भएकोले यात्रु पनि भागेर बचे। म पनि ठुलो घटनाबाट जोगिए,’ उनले भने, ‘इमर्जेन्सी ढोका खुल्ने मेसो नपाएका कतिपय यात्रु त पहिरो आउने बित्तिकै झ्यालबाट हाम फालेछन्।’ उनका अनुसार यात्रुहरु बसबाट निस्केर हिडेर गन्तव्य पुगेका थिए।
उनले चलाएको बसभित्रै लेदो छिरेको छ। ढुंगा पनि पसेका छन। चालक सिलवालको टाउकोमा चोट लागेको छ। उनको हातमा पनि चोट लागेको छ। उनलाई कम्पनिले शनिबार नै उद्धार गरेर सुरुङमार्ग हुँदै काठमाडौं लगेर उपचार गराईरहेको छ। कम्पनिका संचालक भीम खड्काले ठुलो जोखिमबाट बस र यात्रु जोगिएको बताए। खड्काका अनुसार यात्रुको झोला भने अहिले पनि गाडीमै रहेका छन्।
प्रकाशित: १३ आश्विन २०८१ १४:१० आइतबार