१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा पहिरोमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

बाढीले दुई पुल बगायो

सिन्धुपाल्चोकमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। चार बेपत्ता भएका छन्।

लिसंखुपाखर गाउँपालिका–३ मा शनिबार दिउँसो पहिरोले स्थानीयको घर बगाउँदा थप तीन जनाको ज्यान गएपछि मृतक बढेका हुन्। तृष्णा तामाङको घर पहिरोले बगाउँदा मोक्तानसहित उनको एक छोरा र एक छोरीसमेत तीनको ज्यान गएको प्रहरीले जनाएको छ। 

यसअघि विभिन्न तीन घटनामा ६ को ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धुबिच रिसोर्ट पुर्दा दुई जनाको मृत्यु भएको छ।

त्यहाँ पुरिएर अरु दुई पुरुष बेपत्ता रहेको सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए। मृतक दुवै पुरुष हुन्। पुरिएको अवस्थामा मृत भेटिएका उनीहरुको पहिचान खुल्न सकेको छैन। पहिरोले जोखिममा परेको रिसोर्ट र आसपासका घरबाट १५ लाई प्रहरीले सकुशल उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको छ।

त्यस्तै, लिसंखुपाखर गाउँपालिका–३ बाफलस्थित काजीबहादुर तामाङको घर पुर्दा उनीसहित दुई जनाले ज्यान गुमाएका छन्। ७३ वर्षीय काजीबहादुर र उनकी श्रीमती सुन्तली तामाङ पुरिएको अवस्थामा मृत भेटिएका हुन्। काजीबहादुर पूर्व वडाध्यक्ष हुन्। सोही वडाकी तृष्णा तामाङको घर पहिरोले बगाउँदा मोक्तानसहित उनको एक छोरा र एक छोरीसमेत तीनको ज्यान गएको प्रहरीले जनाएको छ।

उता हिमाली जुगल गाउँपालिका–१ मा व्यक्तिको घर पहिरोले पुर्दा पाहुनासहित दुई जनाको मृत्यु भएको छ। बालकसहित दुई पहिरोले पुरेर भत्किएको घरमा बेपत्ता छन्।

स्थानीय चित्रबहादुर मिजारको घर पुर्दा उनीसहित उनका ज्वाइँ अविनाश नेपालीको मृत्यु भएको डिएसपी भट्टराईले जानकारी दिए। उनकाअनुसार त्यहाँ चित्रबहादुरकी श्रीमती र उनका पाँच वर्षीय भाञ्जा पुरिएर बेपत्ता छन्। बेपत्ता सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ।  

दुई पुल बग्दा लिपिङ र तातोपानी नाकाबन्दीमा

बाढीले सीमा नाका तातोपानी जोड्ने अरनिको राजमार्गको दुई मोटरेबल पुल बगाएको छ।

भोटेकोसी नदीमा आएको बाढीले लार्चा बेलिब्रिज बगाएको छ। यो पुल बगेपछि तातोपानीसँगको सडक सम्पर्क टुटेको छ। केही वर्षअघि चट्टाने पहिरो खस्दा लार्चाको पक्की मोटरेवल क्षतिग्रस्त बनेको थियो। सोही स्थानमा बेलिब्रिज राखिएको थियो।

लार्चाबाट चार किलोमिटर दुरीमा रहेको लिपिङस्थित पक्की पुल पनि बाढीले क्षतिग्रस्त बनाएको छ। लिपिङ खोलाको बाढीले तानेर पुल क्षतिग्रस्त बनाएको हो।

दुई पुल बगेपछि चीनसँग सीमा जोडिएका लिपिङ र तातोपानी बजार एक्लिएका छन्। स्थानीय नाकाबन्दीमा परेका छन्। तातोपानीस्थित १० किलोको पलामे पुलसमेत भोटेकोसी बाढीले बजाएको प्रहरीले जनाएको छ।

जिल्लामा बिहीबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ। बाढी र पहिरोले धेरै भौतिक क्षति पुर्‍याएको डिएसपी भट्टराईले जानकारी दिए। शनिबार बिहानदेखि टेलिफोन र मोबाइल नेटवर्क राम्रो नहुँदा क्षतिको विवरण संकलन र राहत उद्धारमा समस्या परिरहेको उनले जानकारी दिए।

पहिरो र नदी कटानले अरनिको राजमार्गसहित मुख्य, सहायक राजमार्ग र अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

प्रकाशित: १२ आश्विन २०८१ १९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App