१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सरकारी कार्यालयमा चन्दा आतंक!

दशैंतिहारजस्ता चाडपर्व नजिकिएसँगै सरकारी कार्यालयमा चन्दा आतंक बढ्न थालेको छ। खासगरी नागरिकको प्रत्यक्ष सरोकार राख्ने कार्यालय मालपोत, नापी, सडक डिभिजन, भवन विभाग, यातायात व्यवस्था कार्यालयजस्ता कार्यालयमा चन्दा माग्नेहरूको भिड बढ्न थालेको हो।

चन्दा माग्नेहरूको भिड बढ्न थाले पछि केही कार्यालयका प्रमुख कार्यालय समयमा कार्यालयमा बस्ने गर्दैनन्। विभिन्न बहाना देखाएर अथवा मन्त्रालयमा बैठक परेको छ भन्दै कार्यालयबाट निस्कने गर्छन् र कार्यालय समयपछि मात्र कार्यालयमा गई हाजिरी गर्ने गर्छन्।

‘विभिन्न बहानामा पैसा माग्न आउँछन्, अशक्त, असहाय, दीर्घ रोगी, मिर्गौला रोगी, छाला रोगी, खेलकुदको विकास गर्छौं, लोकबाजा, संस्कृतिको संरक्षण गर्छौं, मन्दिर बनाउँछौं भन्नेहरू सहयोग लिन आउने गर्छन्,’ मालपोत कार्यालय कलंकीका एक उच्च कर्मचारी भन्छन्, ‘यस्तो सहयोग लिन आउनेहरूले त्यति दुःख दिन्नन् तर माओवादी, विप्लब माओवादी, माओवादी समूह, वैद्य माओवादीजस्ता नामधारी चन्दा माग्न आउनेहरूले अलि जबरजस्ती नै गर्न खोज्छन्। नलिई नजाने स्वाभाव हुन्छ। उनीहरूको भाषा अलि धम्कीपूर्ण हुन्छ।’  

उनका अनुसार चन्द माग्न आउनेमध्ये केहीले ‘जनयुद्ध जारी छ। सहयोग गर्नुहोस्’ सम्म भन्ने व्यहोरा लेखेर पहिले नै चिठी पठाउने गरेका हुन्छन्। केहीले आफैं चिठी बोकेर कार्यालय आउने गरेका छन् भने केहीले मौखिक रूपमा सहयोग माग्ने गरेका छन्।

दसैं आउनुभन्दा खासगरी १५ दिन अगाडिदेखि सरकारी कार्यालयमा चन्दा, सहयोग माग्नेहरूको भिड लाग्ने गरेको भुक्तभोगी कर्मचारी बताउँछन्। ललितपुर नापी कार्यालयमा कार्यरत एक कर्मचारीका अनुसार विभिन्न विद्यार्थी संगठनको नाम देखाएर पनि चन्द माग्न आउनेहरू उत्तिकै हुन्छन्।

‘ठुलाठुला विद्यार्थी संगठनहरूको नामबाट चन्दा माग्न आएको देखिन्न। खासगरी नाम नै नसुनिएका विद्याथी संगठनको नामबाट चन्दा माग्नेहरू देखिन्छन्। उनीहरूको चन्दा माग्ने शैली पनि अलि चर्को हुने गर्छ,’ उनले भने, ‘जिल्लामा प्रहरीसँगको बैठकमा प्रहरी अधिकारीले चन्दा माग्न को को आउँछन् ? चन्दा माग्न आएको थाहा पाउनेबित्तिकै हामीलाई खवर गर्नुहोला, हामी कारबाही गर्छौं’ भन्ने गरेका हुन्छन् तर हामीले प्रहरीलाई खबर गरेका हुदैनौं। किनभने प्रहरीलाई खबर गरेको थाहा पाएपछि वर्षभरी नै हामीलाई झनै ठुलो दुःख दिने गर्छन्।’

ती कर्मचारीका अनुसार चन्दा माग्न आउनेहरू सोझै कार्यालय प्रमुखलाई भेट्ने गर्छन्। कार्यालय प्रमुखलाई भेट्न पाएनन् भने अन्य कर्मचारीलाई भेटेर दुःख दिने गरेका छन्। 

प्रकाशित: १२ आश्विन २०८१ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App