२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

टीकापुर र जानकीको नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन अत्याधिक वर्षाको सम्भावना रहेको सूचना गरेपछि पालिकाहरूले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको हो।

जानकी गाउँपालिकाले नौ वटै वडालाई सबै गाउँ टोलमा चिराकी मार्फत सूचना प्रवाह गर्न निर्देशन दिएको छ। उसले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत वडा कार्यालयलाई यस्तो निर्देशन दिएको हो।

पथरैया नदीले प्रभाव पार्ने वडा नम्बर ४ र ७ का सबै गाउँ टोलमा चिराकीले सूचना प्रवाह गरिसकेको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख नेत्रप्रसाद जैशीले जानकारी दिए। उनले अन्य वडामा समेत चिराकी परिचालनको तयारी भइरहेको बताए। 

‘अहिले पानी परेको अवस्था छैन। तत्काल सबै ठाउँमा आवश्यकता पनि छैन’ उनले भने–‘हामी तयारी अवस्थामा छौँ।’

उनले पालिकाका सबै गाउँ टोलका बडघर, चिराकी र केही सामाजिक अगुवाहरूलाई एसएमएस मार्फत सूचना प्रवाह गरिसकेको बताए।

सो गाउँपालिकाका ६ वडाका दर्जन बढी गाउँ टोल बाढीको चपेटामा पर्ने गरेका छन्। कर्णाली नदीले वडा नम्बर ३, ६, ९ र पथरैया नदीले वडा नम्बर २, ४, ७ का बस्तीमा हरेक वर्ष डुबान पार्ने गरेको छ।

त्यस्तै टीकापुर नगरपालिकाले समेत सम्भावित बाढीको क्षतिलाई कम गर्न नदी तटीय क्षेत्रमा ध्यान केन्द्रित गरेको छ। उसले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत बाढी प्रभावित क्षेत्रमा एसएमएस पठाइसकेको छ।

‘अहिले नै चिराकी परिचालन गर्दा त्रास फैलिन सक्छ भनेर एसएमएस मात्र पठाएका छौँ’ स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख निर्मला चौधरीले भनिन्–‘बाढीको अवस्था हेरेर सबै संयन्त्र परिचालन गर्छौ।’

नगरपालिकाका नौ मध्ये छ वडामा बाढीको प्रभाव बढी हुने गरेको छ। हरेक वर्ष वडा नम्बर २, ५, ६, ७, ८ र ९ मा कर्णाली, मोहना र पथरैया नदीले डुबान पार्ने गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १० देखी १३ गतेसम्म अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेपछि बाढी प्रभावित क्षेत्रका पालिकाहरू चनाखो बनेका हुन।

महाशाखाले देशभरका ४९ जिल्लालाई उच्च जोखिममा राखेको छ। जसमध्ये सुदूरपश्चिमका कैलाली, अछाम, डोटी र कर्णाली प्रदेशका ५ जिल्ला समेत छन्। यी ८ वटै जिल्लाको वर्षाको पानी कर्णाली नदीमा मिसिन्छ। आठै जिल्लामा उच्च वर्षा भयो भने कर्णाली नदीमा पानीको बहाव उच्च हुने सम्भावना रहेको छ।

प्रकाशित: १० आश्विन २०८१ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App