९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गण्डकीमा डेंगीका झन्डै १० हजार संक्रमित

डेंगीको परीक्षण शुल्क ६ सय रुपैयाँ मात्र

डेंगीले यो वर्ष गण्डकी प्रदेशलाई हायलकायल बनाएको छ। प्रदेशमा अहिलेसम्म झन्डै १० हजार जनामा संक्रमण पुष्टि भईसकेको छ। यो वर्ष गण्डकी प्रदेशमा डेंगीले ६ जनाको ज्यान पनि गइसकेको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ३ जना महिला र ३ जना पुरुष छन्। मन्त्रालयका अनुसार कास्कीका ३ जना, तनहुँ, म्याग्दी र स्याङजाका १–१ गरि ६ जनाको ज्यान गएको छ।

पछिल्लोपटक असोज २ मा स्याङजाकी ७० वर्षिया महिलाको डेंगीबाट मृत्यु भएको थियो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। प्रदेशमा सबैगरि ९ हजार ७ सय १२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बताएको छ। ती मध्येपनि सबैभन्दा बढी कास्कीमा संक्रमित छन्।  

कास्कीमा मात्र यो वर्ष ४ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता सुरज गुरौले जानकारी दिए। ‘अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भने। कास्कीपछि तनहुँमा २४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशका १० जिल्ला (मनाङ बाहेक) मा अहिले संक्रमित छन्।  

कास्कीमा संक्रमण ह्वात्तै बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर डेंगी फैलाउने लामखुटटेको खोज र नष्ट अभियान चलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। उनका अनुसार डेंगी फैलाउने लामखुट्टेको लार्भा खोज र नष्ट गर्नका लागि स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, क्लव, टोल, नागरिक समाज, पर्यटन क्षेत्र र सुरक्षा निकाय सहितको टोलीले सक्रियतापूर्वक खोज र नष्ट गर्ने अभियान चलाउने निर्णय गरेको बताए।  

डेंगी फैलाउने सम्भावित जोखिम स्थलको रुपमा रहेका विद्यालय, सरकारी तथा सार्वजनिक कार्यालय, संघ संस्था, मोटर ग्यारेज, कवाडी व्यावसाय, निर्माणाधिन भवन, औद्योगिक क्षेत्रभित्रका प्रतिष्ठान, सुकुम्बासी बस्ती लगायतमा लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान चलाउने निर्णय भएको प्रजिअ पाण्डेले बताए।  

त्यस्तै स्वास्थ्य निकायमार्फत कक्षा ८ देखि १२ सम्म अध्ययन हुने विद्यालयमा डेंगीबाट सचेत हुने उपयाबारे जानकारी दिनेगरि पर्चा पम्प्लेट वितरण गर्ने निर्णय पनि भएको छ। त्यस्तै डेंगी रोग रोकथाम तथा नियन्त्रण निर्देशक समितिमार्फत  प्रदेशले तोकेको ६ सय रुपैयाँमा डेंगी परीक्षण गराउनुपर्ने गरि निर्णय भएको पनि उनले बताए। राजनीतिक दललाई पनि आफ्ना भातृ संगठनलाई संक्रमण नियन्त्रणका लागि परिचालन गर्न पनि निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिए।  

मन्त्रालयका प्रवक्ता गुरौका अनुसार गत जुलाई महिनामा प्रदेशमा जम्मा ७ सय २८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो आकार अगष्टमा ४ हजार ४५ पुगेको थियो। सेप्टेम्बरको अहिलेसम्म संक्रमितको संख्या ४७ सय पुगिसकेको छ। ‘वृद्धिदर हेर्दा घटेको भन्न सकिन्न। किनकी हरेक दिन संक्रमित थपिएका छन। साप्ताहिक वृद्धिदरको अनुपातले पनि त्यही देखाउँछ,’ गुरौले भने।  

पछिल्लो समय पर्यटनको राजधानी पोखरा अहिले डेंगी संक्रमणले ग्रसित छ । स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, ८, ९ र १७ नम्बरमा अहिले संक्रमण ह्वात्तै बढेको छ । समुदाय सचेत नहुँदा संक्रमण कम हुन नसकेको स्वास्थ्य कार्यालय कास्कीको भनाई छ । गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन् । कास्कीमा पनि पोखरा महागरका चारवटा वडा बढी प्रभावित छन् ।  

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको पोखरामा मात्र ४८ सय बढीमा संक्रमण पुष्टि भएको छ। ‘डेंगी संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगी सार्ने लामखुट्टे सफा पानीमा मात्र फैलिन्छ। त्यसैले भाडाँकुँडामा जथाभावि पानी जम्मा नगरौ भन्दा पनि समुदायले अटेर गर्दा यो अवस्था आएको हो,’ गुरौले भने, ‘घरभित्र भन्दा बाहिरतिर भाडाँकुँडामा संकलन भएको सफा पानीमार्फत यो लामुख्टटे फैलिन्छ। त्यसैले जथाभावि पानी जम्मा नगरौ।’ समूदायमा सचेतनाका कार्यक्रम संचालन गरेको भएपनि नागरिक आफै सचेत नहुँदा हरेक वर्ष संक्रमण बढ्ने गरेको उनले बताए।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ८ आश्विन २०८१ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App